एकअर्काप्रति समर्पण भावना हुनु राम्रो कुरा हो । उक्त भावना परिवारका प्रत्येक सदस्यबीच हुनुपर्छ । महिला भएकै कारण महिलाले नै पुरुषका लागि कष्टकर व्रत बस्नुपर्छ भन्ने होइन । अन्धविश्वासमा आधारित समर्पणले महिलालाई अस्वस्थ बनाउँछ, जुन परिवारकै पनि लागि घाटाको विषय हो ।
What you should know
बसाइँसराइ, अन्तरजातीय विवाह, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पनि समुदायको अन्तरघुलन हुन थालेकाले हामीले मनाउने चाडपर्व पनि कुनै एक ठाउँ वा समुदायबीच सीमित नभई सबै जाति, उमेर, लैंगिक समूहबीच मनाउन लागिएका छन् । यस अर्थमा हरितालिका तीज पनि हिन्दु महिलाको मात्र नभएर सबैको सामाजिक पर्व भएको छ ।
२०८२ सालको तीज अहिले घर–आँगनमै आइसकेको छ । विशेषतः सामाजिक सञ्जालमार्फत देशभित्र र बाहिर तीजको तामझाम मनग्य देख्न पाइन्छ । हिन्दु धर्मअनुसार तीज महिलाको चाड हो । तर यतिबेला आएर तीज सामाजिक पर्वका रूपमा महिला, पुरुष, केटाकेटी, ज्येष्ठ नागरिक सबै सरिक भएर मनाइरहेको देखिन्छ ।
परम्परागत रूपमा तीज महिलाका लागि विशेष थियो । विवाहित महिलाले तीजमा आफ्ना टाढाका माइती लिन आउने दिन कुर्नु पर्दथ्यो । न कुनै सञ्चारमाध्यम, न त आजको जस्तो यातायातको सुविधा । माइती गएर बालसखीहरू भेट्न पनि चाडबाड नै कुर्नुपर्ने । पारिवारिक जिम्मेवारी धेरै र माइतीघर टाढा हुने हुँदा महिलाका लागि तीज कृष्णाष्टमीदेखि घर–आँगन, पिँढीमा जम्मा भएर साथी–संगिनीबीच भलाकुसारी गर्ने, नाचगान गर्ने र दुःखसुख साट्ने अवसर थियो ।
यतिबेला फरक परिवेश, सञ्चारमाध्यम र विशेषगरी मोबाइल फोनजस्ता उपकरण उपलब्ध हुँदा मनका भावना व्यक्त गर्न तीज नै कुर्नुपर्ने बाध्यता छैन । तसर्थ, साना–ठूला समूहमा जम्मा हुने महिलाको समूहले हालको परिस्थितिअनुसार आफ्नै लोक संस्कृतिमा आधारित रहेर सामाजिक परिवर्तनका लागि महिलाले निर्वाह गर्न सक्ने भूमिका बारेमा विचार साटासाट गरेर पनि तीज मनाउन सकिन्छ । लैंगिक समानता, महिला जागरण, महिला शिक्षा र अवसर, सामाजिक न्याय, महिला–पुरुष सहकार्य आदि विषयमा छलफल गर्न सकिन्छ ।
परम्परागत तीजका गीत सिर्जनात्मक हुन्थे । महिलाले तीजमा गाउने गीतमा आफ्ना दुःखसुखका अतिरिक्त समाजका विभिन्न समस्या, बाढीपहिरो, समाजमा घटेका घटना आदि झल्कन्थे । आफ्नै लोकभाकामा त्यस्ता गीत रचिएका हुन्थे । त्यही सिर्जनात्मकतालाई हामीले नयाँ रूपमा ढालेर तीज मनाउने अभ्यास गर्न सकिन्छ ।
आजको तीज अति नै तडकभडकयुक्त र अस्वस्थ प्रतिस्पर्धायुक्त हुँदै गइरहेको छ । यसबारेमा महिला आफैं सजग हुनुपर्ने बेला आइसकेको छ । नारीवादी अनुसन्धाता एन ओयक्लीले भनेअनुसार सामाजिकीकरणको प्रक्रियामा केटाकेटीले ठूलाहरूले गर्ने सम्पूर्ण क्रियाकलाप अनुसरण गर्छन् । त्यसकारण पनि हामीले जिम्मेवारीबोध गर्नुपर्दछ । रातो रंगलाई विजय र साहसको प्रतीक मानिन्छ । तर व्यक्तिको इच्छाअनुसार जुनसुकै रंगको पनि लुगा लगाएर तीज मनाउनका लागि हामी खुला हुँदै जान सक्नुपर्छ ।
आजको समयमा गरगहना लगाउँदा आफैं पनि जोखिममा पर्ने डर हुने हुनाले गरगहनाबिनै पनि तीज मनाउन सकिन्छ । बारीमा आफैंले फलाएका मौसमी तरकारी, घिरौंला, बोडी, रामतोरिया, आलु अनि आयात नगरेको चामल र घिउ राखेर बनाइएको चाम्रे खाने बेलाको त्यो तीज अर्कै थियो । तर अहिले खर्चिलो पार्टी प्यालेसको तीजको प्रचलन छ । यस्ता प्रचलनलाई दुरुत्साहन गरेर स्वस्थकर खाना खाँदै तीज मनाउने अभ्यासतिर लाग्न अत्यन्त जरुरी छ ।
एकअर्काप्रति समर्पण भावना हुनु राम्रो कुरा हो । उक्त भावना परिवारका प्रत्येक सदस्यबीच हुनुपर्छ । महिला भएकै कारण महिलाले नै पुरुषका लागि कष्टकर व्रत बस्नुपर्छ भन्ने होइन । अन्धविश्वासमा आधारित समर्पणले महिलालाई अस्वस्थ बनाउँछ, जुन परिवारकै पनि लागि घाटाको विषय हो । घरभित्रका काम समान तरिकाले बाँडफाँट गरी सबैको सम्मानजनक अवस्था हुनु नै असली समर्पण र व्रत हो । तर, व्रतका नाममा पानी पनि नखाई बस्ने, शरीरलाई कष्ट दिने काममा सुधार गरेर हामीले वैज्ञानिक तरिकाले तीज मनाउन पनि सिक्दै जानुपर्नेछ ।
ऋषिपञ्चमी हामी सबैलाई थाहा भएको विषय हो । नुहाउने र दाँत माझ्ने काम वर्षको एकै पटक ३६५ पटक गरेर हुँदैन, बरु प्रत्येक दिन सरसफाइमा ध्यान पुर्याउनुपर्दछ भनेर सिक्न जरुरी छ । ऋषिको पूजा गर्नु भनेको ज्ञानको पूजा गर्नु पनि हो । तसर्थ समयसापेक्ष नयाँ ज्ञान आर्जन गर्ने रूपमा यसलाई लिन सकिन्छ ।
तीज सामाजिक पर्व हुँदै गएको हुँदा यसलाई समयसापेक्ष परिमार्जन गर्न पनि आवश्यक छ । यसमा पुरुषको सहकार्य पनि उत्तिकै आवश्यक छ । नारीवादी लेखक आरडब्लू कनेलले भने अनुसार सामूहिक पहिचान र प्रक्रिया मानवनिर्मित भएको हुँदा आवश्यकता अनुसार यसलाई परिवर्तन गर्न सकिन्छ । जुन परिवर्तनले सबै लैंगिक समूहलाई फाइदा पुर्याउँछ र संसारलाई अझ राम्रो बनाउँछ । यो परिवर्तन महिला–पुरुष दुवैको प्रयासबाट सम्भव छ । समाज रूपान्तरणका लागि तीजलाई पनि नयाँ परिभाषासहित रूपान्तरण गर्दै जानु आवश्यक छ ।
