रेशम चौधरीले गाए पहिलो पटक तीज गीत

राजनीतिक जीवन र जेलपछि रेशम चौधरीले पहिलो पटक तीज गीत 'छैन नि चोलिया' रेकर्ड गरेका छन् ।

भाद्र ८, २०८२

समर्पण श्री

Resham Chaudhary sang Teej song for the first time

What you should know

काठमाडौँ — गर्माइरहेको राजनीतिक माहोलले रेशम चौधरीलाई धपेडी थपिरहेको छ । नागरिक उन्मुक्ति पार्टीको खाँबो गाडेका रेशमलाई नै पार्टीभित्रकै कलह र परिवारसम्म सल्किएको राजनीतिक आगोले पोल्न छाडेको छैन ।

राजनीतिक बाटोमा हिँडेदेखि यी दौडधूप र उतारचढावले त उनलाई छाडेका छैनन् । त्यसको बाबजुत पनि रेशमभित्रको संगीत शान्त नदीझैं निरन्तर बगिरहेको छ । तीजको रमझमले छपक्कै छोपिरहेको बेला यसपटक रेशमले पनि गाउन छाडेनन् । सामाजिक सञ्जाल टिकटक रिल्समा उनी गाउँदै नाचिरहेको पनि भेटिए–

शनिबारे हटियामा चोलिया किनेको

त्यै चोलिया पहिरी माइत जानु है ।

मञ्जु पौडेलको आवाजमा स्वर मिसाउँदै, शब्द र संगीत भर्दै रेशमले केही हप्ताअघिमात्र तीजलाई कोसेलीस्वरुप ‘छैन नि चोलिया’ पस्किए । टिकटक र रिल्सभित्र उनका गीतका अंशहरूमा महिलाहरू रमाउँदै नाचिरहेका भेटिन्छन् । मञ्जु पौडेलको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतलाई चार लाखभन्दा बढी पटक हेरिएको छ ।

तीज मात्र हैन, कहिले थारु भाषा र संस्कृतिका गीतहरूमा रेशम शब्द भर्छन् र संगीतले प्राण  थपिदिन्छन् । ‘राजनीतिक व्यस्तता र उतारचढावको समयमा पनि तपाईंबाट संगीत कसरी छुट्दैन ?’ यो जिज्ञासा सुनेर रेशम हाँस्छन् । अनि भन्छन्, ‘सबै कुराहरू अभिव्यक्त गर्न सकिन्नन् । जुन कुरा अभिव्यक्त गर्न सकिन्नन्, तिनले साहित्य र संगीतको रुप लिन्छन् ।’

७ वर्षकै उमेरदेखि गीत गाउन थालेका रेशमले जीवनमा पहिलो पटक स्टेज चढेकै गीत गाउन थियो । त्यसकारण उनी सबै कुराबाट पर बसे पनि संगीत सिर्जनाबाट टाढिन सक्दैनन् । 

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनको क्रममा भदौ ७ गते टीकापुरमा हिंसात्मक घटना भयो । त्यो घटनामा ८ प्रहरी र एक बाललकको ज्यान गयो । घटनाको मुख्य योजनकाकारको रुपमा उनीमाथि मुद्दा हालियो र सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनायो । ०७४ सालदेखि सजाय भोगेका रेशमले ०८० मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाए ।

Resham Chaudhary sang Teej song for the first time

जेलभित्र हुँदा होस् वा बाहिर रेशमले लेख्न र सिर्जना गर्न छाडेनन् । चार दिवारमा थुनिएको अनुभूतिमा शब्द र संगीत भरे–

पैसा र पावर भए अपराधी पनि पुरस्कृत हुन्छन्

लाचार विवश भए निर्दोषी पनि तिरस्कृत हुन्छन् ।  

चार दिवारमा थुनिएर आज भोलि मन्द छु

धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु

नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचारप्रसारमा पनि रेशमको संगीत बज्यो र प्रचारप्रसारमा अहम् भूमिका खेल्यो । रेशमको शब्द, गला र संगीतमा बनेको पुराना स्मृतिमा गुन्जिरहने एउटा गीत त पार्टीका कारण दाम्पत्य जीवनमा आएका कलहको बेला फेरि ब्यूँतियो–सासूज्यू सासू, खायो मेरो मासु हजुरकै नक्कली छोरीले ।

रोचक कुरा त गीतमा रेशम नै मोडल थिए भने भिडियोलाई रञ्जिताले नै निर्देशन गरेकी थिइन् ।

सिन्धु राणाको शब्द तथा सपना श्रीको स्वरमा रेशमले संगीत भरेको एउटा लोकप्रिय गीत छ– 

सागर बरु सुकेर गैजाला

जान्न माया कैले नि सुकेर

संगीतलाई लिएर रेशमको मान्यता पनि यस्तै छ, ‘सागर बरु सुकेर गइजाला, जान्न संगीत मबाट सुकेर ।’

रेशमले सांगीतिक जीवनमा थुप्रै फरक फरक स्वादका गीतमा संगीत भरे । शब्द लेखे । स्वर दिए । तर तीज गीत यसपालि पहिलो पटक मात्र रेकर्ड गरे । किन त ? भन्छन्, ‘अहिले तीज गीतलाई नियालेर हेर्छु । गीतमा हाम्रो संस्कार हरायो । शब्द हरायो । हिजो मैले बजाएका मादलहरू पनि सम्झें । धुन हरायो । तीज हरायो । अनि तीजलाई तीजजस्तो बनाउन गाएँ ।’ 

उसो त ०४४ सालतिर पनि गाउँघरमा तीज गीत गाउँदै मादल बजाएको सम्झना गर्छन् रेशम । ‘हाम्रो समुदायमा तीज खासै मानिन्न थ्यो । तर पहाडी समुदायका महिला दिदीबहिनीहरूसँग हाम्रो पारिवारिक घनिष्ठता थियो । त्यतिबेला म मादल बजाएर गीत गाउँथेँ, उहाँहरू नाच्नुहुन्थ्यो,’ उनी भन्छन् । 

०६८ तिर मञ्जु पौडेलले तीज गीत लेखिदिन आग्रह गरेकी थिइन् रेशमलाई । पछि लेख्न त लेखे अर्कैका लागि । जसका लागि लेखे उनले त्यतिबेला गाएका ‘उत्शृङ्खल’ गीत सुनेपछि  रेशमलाई दिनै मन लागेनछ । ०७२ पछि टीकापुर घटना भयो । गीत आफैंभित्र रहिरह्यो । जेलमा हुँदा मञ्जु रेशमलाई बेलाबखत भेट्न आउँथिन् । पछिसम्म पनि उनले तीज गीत सम्झाइरहन्थिन् । यसपालि त्यो अवसर जुर्‍यो । 

तीज भन्नेबित्तिकै रेशमको मनमा खेल्ने शब्द हो ‘बरी लै’ । उनका हिसाबमा बरी लै भनेको त बेदना हो । ‘गीतमा त्यो नमिसी कसरी तीज आउँछ,’ उनलाई लाग्दो रहेछ । आफ्नो गीत आएर होला, रेशमलाई आजकल धेरैपछि तीज आएजस्तो भएको छ । ‘मलाई त तीज गीत पनि धेरैपछि आएझैं भएको छ,’ रेशम सुनाउँछन् । 

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully