इलामका बाढीपीडितका लागि तत्काल अस्थायी आवास र स्थायी पुनर्निर्माणमा तीनै सरकार जुट्ने

राजदुवाली क्षेत्रमा क्षति धेरै भएकाले त्यहाँ विकल्प मार्ग खोज्ने र माई खोलामा नयाँ पक्की पुल निर्माण गर्ने योजना बढाइएको मन्त्री घिसिङले बताएका छन् ।

आश्विन २५, २०८२

पर्वत पोर्तेल

The three governments will join forces for immediate temporary housing and permanent reconstruction for the flood victims of Ilam

इलाम — इलाममा हालैको भीषण बाढी र पहिरोबाट विस्थापित परिवारका लागि सरकारले तत्काल अस्थायी आवास निर्माणको तयारी थाल्ने जनाएको छ। 

गृह सचिव रामेश्वर दंगालले प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास बनाइने र त्यसपछि तीनै तहका सरकार मिलेर स्थायी आवास निर्माण गरिने जानकारी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मेची राजमार्गमा बाढीले अवरुद्ध बनाएका खण्ड भोलिसम्म सञ्चालनमा ल्याइने बताउँदै अवरोध हटाउन मधुसुधन आचार्यको नेतृत्वमा प्राविधिक टोली खटाइएको जानकारी दिए ।

भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलाम–१० को राजदुवाली क्षेत्रमा क्षति धेरै भएकाले त्यहाँ विकल्प मार्ग खोज्ने र माई खोलामा नयाँ पक्की पुल निर्माण गर्ने योजना अघि बढाइएको बताए । उनले भने, 'यो क्षेत्र पुनर्निर्माणमा विशेष प्राथमिकताका साथ अघि बढ्छौं । सडक, खानेपानी र विद्युत् सबै संरचना पुनःनिर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्छौं ।'

सरकारले बाढीपीडित क्षेत्रहरूमा राहत वितरणसँगै पुनःस्थापनाको दीर्घकालीन योजना बनाउँदै लगिएको जनाएको छ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully