मेची राजमार्ग र वैकल्पिक सडक अवरुद्ध, बजारमा खाद्यान्न, ग्यास र अत्यावश्यक सामग्रीको अभाव सुरु भएको स्थानीय व्यवसायीको दाबी, स्थानीय, प्रदेश र संघीय सरकार– कोही पनि मानेभन्ज्याङ पुग्न सकेका छैनन्, यहाँका पहिरोपीडित सरकारको पर्खाइमा छन्।
What you should know
इलाम — सूर्योदय नगरपालिका–१ मानेभन्ज्याङका राजु क्षेत्रीले दसैंको टीका लगाएर सन्दकपुर घुम्न आएका पर्यटकसँग ट्रेकिङमा जाने योजना बनाए । घरमा दसैंको उल्लास थियो । पाहुनाको आगमनले घर उज्यालिएको थियो । तर, केही घण्टामै त्यो रौनक पहिरोसँगै विलिन भयो । तर जब राजु शनिबार बिहान सन्दकपुरतिर उक्लिए, त्यही रात घरतिर विनाशको पहिरो ओर्लियो ।
शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले घर मात्रै होइन, उनको संसारै बगायो । आमा मनमाया र १० वर्षीया छोरी रस्मिका पनि माटोसँगै बिलाए । अब न राजुको घर बाँकी छ, न आमा र छोरीको मुस्कान ।
दोलखाबाट दसैं मनाउन आएका उनका आफन्त दीप बस्नेत, उनकी श्रीमती भवानी बस्नेत, छोरी दीपासँगै ५५ वर्षीया आमा मनमाया र छोरी रस्मिका एकैछिनमा पहिरोमा हराए । श्रीमती मीरा र ५ वर्षकी कान्छी छोरी रेसिका त्यो रात अर्को कोठामा सुतेका थिए, त्यही संयोगले उनीहरू ज्यान जोगाउन सफल भए । पाँचै जनाको अन्त्येष्टि एकै ठाउँमा गरियो । पहिरोले पुरिएको घरमा बस्न सक्ने स्थिति छैन । त्यसैले राजु अहिले इलाका प्रहरी कार्यालय नजिकैको सामुदायिक हलमा आमा र छोरीको काजकिरिया गरिरहेका छन् । उनका आँसु अझै सुकेका छैनन् ।
भारतको दार्जिलिङसँग जोडिएको सीमावर्ती यो बस्ती अहिले टापुजस्तै छ । आउजाउ गर्ने बाटो पहिरोले बगाएको छ । ‘अब त्यहाँ पुग्ने एक मात्र बाटो भारतको सुकेपोखरीको बाटो हो,’ सशस्त्र प्रहरी बल मानेभन्ज्याङ बीओपीका नायब निरीक्षक सुरेन्द्र डोटेलले भने, ‘यहाँसम्म पुग्ने सडक सबै कटेका छन्, नेपालतर्फको पहुँच अहिले अवरुद्ध छ ।’
स्थानीय, प्रदेश र संघीय सरकार कोही पनि अझैसम्म त्यहाँ पुग्न सकेका छैनन् । मानेभन्ज्याङका पहिरोपीडित सरकारको पर्खाइमा छन् । इलाम नगरपालिका–६ घोसका डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको थियो । जसमा दसैंको टीका थाप्न झापाबाट माइती आएकी अनु तामाङ र उनका ३ वर्षीय छोरा आभास दनुवार पनि पहिरोमै पुरिए । उनीहरूसँगै प्रविन तामाङ, समीर राई र विराज तामाङको अन्त्येष्टि भइसक्यो ।
तामाङ परिवारले घरनजिकै आफन्तकामा बसेर तीनदिने कर्म सके । धार्मिक परम्पराअनुसार बाँकी कर्मचाहिँ पुरिएको घरमै गर्ने आफन्त प्रकाश तामाङले बताए । जसका लागि पुरिएको घरको पहिरो हटाउने र सफा गर्ने काम भइरहेको उनले जनाए । काठमाडौंको इन्द्रेणी समूहले मंगलबार पाँचै मृतक परिवारलाई नगद १०/१० हजार राहत उपलब्ध गराएको थियो । तर सरकारी तहबाटै कुनै राहत नपाएको उनीहरूको गुनासो छ ।
बाढी र पहिरोले घर, जग्गा र सडक मात्रै बगाएको छैन, इलामको जनजीवनसमेत थला पारेको छ । पहिरोका कारण मेची राजमार्ग र वैकल्पिक सडकहरू अवरुद्ध भएपछि इलाम अहिले अर्धनाकाबन्दीको अवस्थामा छ । बजारमा खाद्यान्न, ग्यास र अत्यावश्यक सामग्रीको अभाव खड्किन सुरु भएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
मेची राजमार्गका धेरै खण्ड पहिरोले भासिएपछि इलाम र तराईसँगको यातायात सम्पर्कविच्छेद भएको छ । क्षतिग्रस्त वैकल्पिक सडक कञ्चनजंघा–केचना र नेपालटार–बिब्ल्याटे खण्डमा पनि ‘पाँच दिनदेखि गाडी आइपुगेको छैन । चामल, नुन, तेल, पेट्रोल, ग्यासजस्ता अत्यावश्यक वस्तुको अभाव सुरु भएको छ,’ इलाम बजारका एक व्यापारीले भने ।
सडक नहुँदा पहिरो प्रभावित दुर्गम बस्तीमा खाद्यान्नलगायत राहत पुर्याउन कठिन भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जनाइन् । ‘कतिपय गाउँमा हेलिकोप्टरमार्फत राहत पठाइरहेका छौं तर सबै ठाउँ पुग्न गाह्रो छ,’ उनले भनिन् । बजारमा खाद्यान्नलगायतका वस्तु भए पनि ग्यासको अभाव हुन लागेको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् ।
‘ग्यास डिपोमा सिलिन्डर छैनन् । पेट्रोल र डिजेलसमेतको अभावले जनजीवन झनै कठिन बनेको छ । निजी सवारीसाधन ठप्प छन्, एम्बुलेन्स सेवा पनि प्रभावित भएको छ,’ उनले भनिन्, ‘बाटो चाँडो सञ्चालनमा ल्याएर आपूर्ति सहज गर्ने योजना छ ।’
रोजगारी र बास दुवै गुम्यो
बाढीपहिरोको सबैभन्दा ठूलो मार इलामका गरिखाने वर्गले बेहोरेका छन् । विपत्तिले उनीहरूको घर मात्र होइन, जीविकाको भरपर्दो आधारसमेत खोसेको छ । माई खोला किनारमा गिट्टी कुटेर परिवार धान्दै आएका लाक्पा शेर्पाको घर बाढीले बगायो । ‘बाढीले घरसँगै रोजगारी पनि खोस्यो । अब के गरेर गुजारा चलाउने हो, थाहा छैन,’ उनले भने ।
खेतीपाती गरेर जीविका चलाउँदै आएका गर्जमान मगरको घर र खेत दुवै बग्यो । उनी दुःख कहन्छन्, ‘अहिले त गरिखाने बाटो नै बन्द भयो, अब कसरी बाँच्ने ?’ मुख्य रूपमा गिट्टी कुट्ने, मजदुरी गर्ने र दैनिक ज्यालादारीमा आश्रित श्रमिक अहिले घर र रोजगारीविहीन बनेका छन् । राजदुवाली, माङसेबुङ, सन्दकपुर, माईजोगमाइलगायत क्षेत्रमा दिनहुँको परिश्रमबाट गुजारा गर्नेहरूको जीवन पूर्ण रूपमा संकटमा परेको छ । विपद्पछि उनीहरूको साझा चिन्ता छ, ‘पेट कसरी पाल्ने ? रात कहाँ काट्ने ?’
२ सय ७६ परिवार विस्थापित, ३९ जनाको मृत्यु
बाढीपहिरोबाट इलाम जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको जिल्ला प्रशासन इलामले जनाएको छ । २ सय ७६ परिवार विस्थापित भएको प्रारम्भिक विवरण छ । १ सय ३२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४ सय १ घरमा आंशिक क्षति पुगेको छ । विपत्तिमा परेर ३९ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ । ३७ जनाको पहिरोमा पुरिएर र २ जनाको बाढीले बगाएर मृत्यु भएको हो ।
जिल्लाका सबै पालिकाले क्षतिको विवरण संकलन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको भनाइ छ । विस्तृत विवरण आउन अझै केही दिन लाग्ने उनले बताए । ‘यो फोनबाट टिपाइएको अपूर्ण विवरण हो,’ गुरागाईंले भने, ‘विस्तृत विवरण चाँडै आउँछ ।’ बाढीपहिरोका कारण घरखेत मात्रै होइन, सडक, पुल, विद्यालय र खानेपानीका संरचनासमेत क्षतिग्रस्त बनेका छन् । प्रशासनले करोडौंको क्षति अनुमान गरेको छ ।’
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार तथा राहत कार्य जारी राखेका छन् । प्रभावित क्षेत्रका विस्थापितहरू छिमेक, आफन्त तथा विद्यालय र सार्वजनिक भवनमा आश्रित छन् । स्थानीय पालिकाले त्रिपाल र खाद्यान्न वितरण गरिरहेको छ ।
प्रदेश सरकारद्वारा राहत वितरण तीव्र
कोशी प्रदेश सरकारले हालैको बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई तीव्र गतिमा राहत सामग्री पठाउने कार्य जारी राखेको छ । मंगलबार हेलिकोप्टरमार्फत राहत पठाएको प्रदेशले बुधबार तीन ट्रकभन्दा बढी सामग्री माईजोगमाई, माई र इलाम नगरपालिका पठाएको छ । प्रदेशसँग
भएका सबै राहत सामग्री तुरुन्तै प्रभावित क्षेत्रमा पठाइएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जनाए । सरकारी संयन्त्रमार्फत लगातार बैठक गरी राहत र उद्धार कार्य अघि बढाइएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । मृतकका परिवारलाई प्रतिपरिवार १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उनको भनाइ छ ।
बाढीपहिरोमा भत्किएका र बगाएका इलाम, झापा र मोरङका सबै घर पुनर्निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले इलामका सात पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने पनि निर्णय गरेको छ ।
पुनर्निर्माण र राहत कार्यको समन्वयका लागि मन्त्रीहरूको टोली फिल्डमा खटिनेछ । योजनाहरूमा आवश्यक कटौती गरी पुनर्निर्माणमा बजेट खर्च गर्ने र भौतिक पूर्वाधार मन्त्रालयलाई तत्कालै सबै बाटो खुलाउन निर्देशन दिइएको छ । मुख्यमन्त्री कार्कीले राहत र पुनर्निर्माणमा कुनै कसर नराख्न र सबै तहबाट सहयोग जुटाउन गरेका छन् ।
