इलामका बाढीपीडितलाई मन्त्री घिसिङले गरे राहत वितरण, भोलिसम्म सडक खुलाउन निर्देशन

इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् ।

आश्विन २५, २०८२

पर्वत पोर्तेल

Minister Ghising distributed relief to the flood victims of Elam, instructed to open the roads by tomorrow

इलाम — भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलामका बाढीपीडितहरूको अवस्था बुझ्दै भोलिसम्म सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अहिलेसम्म अवरुद्ध छ। मिल गोलाइ भने सञ्चालन भइसकेको छ ।

शनिबार इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् ।

बाढीले विस्थापित ३४ घरपरिवारलाई उनले राहत वितरण समेत गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले प्रभावितहरूलाई चाँडो उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

इलाममा हालैको भीषण वर्षासँगै आएको बाढी र पहिरोले सडक, विद्युत् लाइन र दर्जनौं घरमा ठूलो क्षति पुर्‍याएको थियो । विपद्‌मा परी इलाममा ३९ जनाको मृत्यु भएको छ । सयौं परिवार विस्थापित भएका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully