जात्रामा झुम्यो खाँदबारी

सिमसिमे झरीको प्रवाह नगरी दर्शकस्रोता कार्यक्रम नसकिन्जेल बसेका थिए ।

श्रावण २७, २०८२

दीपेन्द्र शाक्य

Khandbari fell in Jatra

What you should know

सङ्खुवासभा — संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी गाईजात्रा तथा हिलेजात्रा महोत्सवको दोस्रो दिन साेमबार राति सांगीतिक र हास्यकलात्मक प्रस्तुतिले खाँदबारीलाई  झनै रंगिन बनाएको छ । सिमसिमे झरीको प्रवाह नगरी दर्शकस्रोता कार्यक्रम नसकिन्जेल बसेका थिए ।

महोत्सव आयोजना गरेको खाँदबारी युथ क्लबले दोस्रो दिन रक हेड ब्यान्ड र आस्था एन्ड द ब्रदर्स् ब्यान्डलाई स्टेजमा उतारे। रक हेड्सले हजार जन्म, रंग, सहारा, धुन लगायतका चलेका लोकप्रिय रक गीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई नाच्न बाध्य पारे । युवादेखि वृद्धसम्मको भीड ती गीतको तालमा हल्लिँदै रमाएको दृश्यले महोत्सव स्थलमा उत्साहको लहर ल्यायो।

संगीतको लयसँगै, हाँसोको खुराक पनि महोत्सवको विशेष आकर्षण बन्यो । चर्चित कमेडियन सन्दीप क्षेत्री र उनको टिमले हल्का-फुल्का जोक्स, व्यङ्ग्य र परिस्थितिजन्य हास्य प्रस्तुत गर्दै भीडलाई पेट दुख्ने गरी हँसाए। उनका व्यङ्ग्यहरूमा दैनिक जीवनका अनुभव, ग्रामीण–सहरी फरक, राजनीति र सांस्कृतिक प्रसङ्ग मिसिएका थिए, जसले सम्पूर्ण दर्शकलाई हाँसो र ताली दुवै दिलायो।

कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै खाँदबारी युथ क्लबले संखुवासभाको ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले गाईजात्रा पर्वको अवसरमा यो महोत्सव आयोजना गरेको हो।

महोत्सवमा नेवारी समुदायको गाईजात्रा सांस्कृतिक झाँकी, स्थानीय उत्पादन र हस्तकला प्रदर्शनी, मौलिक परिकारहरूको स्वाद चखाउने स्टल, लोकसंस्कृति र नृत्य, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति समावेश गरिएको थियो। विदेशी पर्यटकदेखि देशका विभिन्न भागबाट आएका आगन्तुकहरूका लागि यस महोत्सवले संखुवासभाको सांस्कृतिक विविधता र पर्यटन सम्भावना देखाएको आयोजकको भनाइ छ।

क्लबका अध्यक्ष सुरेन शाक्यका अनुसार जातीय तथा मौलिक परिकारहरूको स्टल र खाद्य प्रदर्शनीले पर्यटक र स्थानीय दुवैको आकर्षण पाएको छ। उनले यो महोत्सवलाई हरेक वर्ष अझ भव्य रूपमा आयोजना गर्ने योजना पनि बताएका छन्।

दीपेन्द्र

Link copied successfully