कस्ता फिल्म हेरिरहेको छ जेन जी ?

असार ३०, २०८२

कान्तिपुर संवाददाता

What kind of movie is Jane G watching?

काठमाडौँ — धेरैलाई लाग्न सक्छ, इन्टरनेटको गतिसँगै हुर्किरहेको जेन जी पुस्ताले के नेपाली फिल्म पनि हेरिरहेको होला ? यति धेरै शंका पनि गरिनहालौं । कोरियन ड्रामादेखि इङ्ग्लिस सिरिजसम्म र रियल लाइफ डकुमेन्ट्रीदेखि काल्पनिक फिल्मसम्म रुचाउने जेन जी बदलिँदो नेपाली फिल्मको स्वादबारे बेखबर भने छैन ।

१८ वर्षीय रक्षित रिसालको रोजाइमा एक समय नेपाली फिल्म थिएन । काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडिज पढ्दै गरेका उनलाई दक्षिण भारतीय फिल्म खुबै मन पर्थ्यो ।

पछिल्ला समय उनले ‘फोक हरर’ विधाका फिल्म हेरे । भिभिच, हेरेडिट्री, द लाइटहाउस र द रिचुअल जस्ता हरर फिल्म हेरेका उनले भने, 'फिल्ममा हुने डरलाग्दा सिनले डराउन र हल्लाउन सक्षम हुनु नै ठूलो उपलब्धि हो ।’

त्यसो त पछिल्लो समय बनेका नेपाली फिल्मबारे पनि उनलाई चासो र रुचि छ । प्रकाश, शाम्बाला, भूठान र बोक्सीको घरजस्ता केही फिल्मबारे त उनी सटिक टिप्पणी पनि गर्न सक्छन् । यी  नेपाली फिल्मको कथा भन्ने शैली पहिलेभन्दा धेरै सुधारिएको उनको बुझाइ छ । भन्छन्, ‘पहिले त बलिउडको नक्कल मात्र थियो, अहिले नेपाली फिल्ममा पनि नयाँ शैलीका कथा भेटिन्छन् ।’ रक्षितको बुझाइमा मौलिक कथामै पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने देखिन थालेको छ । 

सेन्ट जेभियर्स कलेजबाट ए लेभल सकेर बसेकी १६ वर्षीया अनुष्का रेग्मी थ्रिलर र हरर फिल्मका अलावा मानव इतिहासका कथा जोडिएका फिल्म हेर्न रुचाउँछिन् । यस्ता फिल्मले संसारमा धेरै गहिराइ छ भनेर देखाउने र अब के हुन्छ भनेर पर्खिइरहदा छुट्टै रमाइलो हुने उनको अनुभव छ ।

सन् २००५ मा सार्वजनिक हरर फिल्म काल र सन् २०२० मा नेटफ्लिक्समार्फत सार्वजनिक भारतीय हरर फिल्म काली कुही हेरेकी उनमा फिल्मबारे पहिलेभन्दा धेरै बुझाइ पनि बढेको छ ।

दयाहाङ राई अभिनित धेरैजसो फिल्म हेरेकी छन् । हिजोआज नेपाली समाज र राजनीतिका कथा भएका फिल्म हेरिरहेको उनले सुनाइन् । नांगो गाउँ, जारी, घरज्वाइँ, केटी हराएको सूचना, बोक्सीको घर जस्ता फिल्म हेरेपछि उनलाई लागेको छ- नेपाली फिल्मको स्वाद पनि बदलिँदै छ । अनुष्काको बुझाइमा नेपाली फिल्ममा अरु धेरै कथा समेटिन भने अझै बाँकी छ । उनले प्रेमकथा र राजनीतिबाहिरका विषयमा पनि फिल्म बन्नुपर्ने बताइन् । 'अन्तर्जातीय विवाह, यसकै कारण मारिनुपर्ने अवस्था र किशोरावस्थामा हुने मानसिक स्वास्थ्यसम्बन्धी विषयमा नेपाली फिल्म बने हुन्थ्यो,' केटी हराएको सूचनाजस्ता नयाँ विषयमा धेरै फिल्म बन्नुपर्ने बताउँदै उनले थपिन्, 'महिनावारी, वातावरण, अपांगता भएका व्यक्ति, बेरोजगारीजस्ता विषयमा पनि नेपाली फिल्म बन्नुपर्छ ।’ 

कोरियन, चाइनिजजस्ता एसियन ड्रामा हेर्न मन पराउने २० वर्षीय सुवृष्टि कार्कीले धेरैपहिले हलमै गएर नेपाली फिल्म लुट हेरेकी थिइन् । सर्ट नेपाली फिल्म, डकुमेन्ट्रीदेखि फिल्म फेस्टिभलमा पुगेर पनि उनले फरक-फरक स्वादका फिल्म र नाटक हेर्ने गरेकी छन् । ‘नेपालमा फिल्म हेर्ने ट्रेन्ड परिवर्तन भइरहेको जस्तो लाग्छ ।  फिल्मको कन्टेन्ट मात्रै नभएर पात्रको चरित्र विकासमा पनि नयाँपन देख्न सकिन्छ,' नेपाली फिल्मबारे उनको यस्तो बुझाइ छ ।

जापानी फिल्म निर्देशक अकिरा कुरोसावाका फिल्मदेखि अमेरिकन हरर फिल्म फाइनल डेस्टिनेसनसम्म हेरेकी सुवृष्टिलाई कुरोसावा निर्देशित ड्रिम्स र माडादायोदेखि आमिर खान निर्देशित तारे जमिन परले धेरै प्रभाव पारेको छ । व्यावसायिक फिल्म मात्र नभई उनी मिलेसम्म फिल्म फेस्टिभल भइरहेको ठाउँमा गएर स्क्रिङ चहार्छिन् । उनलाई  विषयवस्तुमा आधारित फिल्म मन पर्छ तर फिल्म हेर्दा उनका कुनै लिमिटेसन हुँदैनन्, जसकारण उनले हेर्ने जनरा थरीथरीका छन् ।

समयसँगै सुवृष्टिलाई आफूले छान्ने फिल्मका विषय पनि बदलिँदै गएजस्तो लाग्छ । जस्तो कि उनी पहिले हिन्दी र इङ्ग्लिस फिल्म हर्ने गर्थिन् भने हिजोआज नयाँ दृष्टिकोण निर्माण गर्ने जुनसुकै भाषाका फिल्म पनि हेर्छिन् । 

पाटन संयुक्त  क्याम्पसमा बीएस्सी सीएसआईटी गरिरहेका २१ वर्षीय चन्द्रमणि मिश्रले भने खासै नेपाली फिल्म हेर्दैनन् । साथीहरुले जबरजस्ती हेर्न लगाए वा धेरै चर्चामा आए भने मात्रै उनी नेपाली फिल्म हेर्छन् । 'बोल्ड ड्रामाटिक सिक्वेन्स' भएका फिल्म हेर्न मन पराउने उनी 'मास्टर अफ सस्पेन्स' भनेर चिनिने ब्रिटिस फिल्म निर्देशक अल्फ्रेड हिचककका फिल्म हेर्न रुचाउँछन् । हिचकका फिल्म उनलाई उच्च कलाले भरिएझैं लाग्छन् । उनलाई नेपाली फिल्ममा भने मीन भाम निर्देशित शाम्बाला र कोलो पोथीले प्रभाव पारे । शाम्बाला राष्ट्रिय चलचित्र पुरस्कारतर्फ उत्कृष्ट फिल्मका रूपमा घोषित भएको छ ।

पछिल्लोपटक अकिरा कुरोसावाको सिनर भन्ने फिल्म हेरेका चन्द्रमणिले उमेर र समयअनुसार फिल्मका विषयमा आफ्नो रुचि परिवर्तन भइरहेको बताए । 

काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडिज अध्ययन गर्दै गरेकी २२ वर्षीय चक्क्षिता कहिले त्यसै आनन्द लिन फिल्म हेर्छिन् त कहिले फिल्मका प्राविधिक पाटाबारे बुझ्दै त्यसमा निहित दर्शन बुझ्न । फिल्मबारे कस्ता समीक्षा आउँछन् भन्ने कुराको ख्याल नगरी फिल्म हेर्न रुचाउने उनले फिल्ममा तत्कालीन समाज कस्तो देखिएको छ र समाज कता जाँदै छ भनेर फिल्ममार्फत बुझ्न चाहने बताइन् ।

नेपाली फिल्म, अन्तर्राष्ट्रिय निर्देशक, लेखकहरूलाई प्रेरित गर्ने खालका फिल्म पनि उनको रोजाइमा पर्छन् । उनी फिल्म हेर्दा त्यसको कथा मात्रै नहेरेर ध्वनि डिजाइन, क्यामराको काम, रङ ग्रेडिङ र सम्पादनमा जस्ता कुराबारे पनि ख्याल राख्छिन् ।

इरानी फिल्म मेकर मजिद मजिदीदेखि अब्बास किआरोस्तामी, टर्किस फिल्ममेकर नुरी बिल्गे सेइलानसम्मका फिल्म हेरेकी चक्क्षिताले हिजोआज थिएटरमा रिलिज भएका नेपाली फिल्म हेर्न थालेकी छन् । फिल्मले सरल भाषामा व्यक्तिको मुडलाई हल्का बनाउन मद्दत गर्ने बताउँदै उनले भनिन्, 'फिल्मको विश्लेषण र अध्ययनले आफूलाई विद्यार्थीको रूपमा मात्र नभई समाजमा बस्ने एक रचनात्मक व्यक्तिका रूपमा पनि विकास गर्न मद्दत गर्छ ।’ 

- आरजु सत्याल (प्रशिक्षार्थी)

कान्तिपुर

Link copied successfully