जेन–जीले प्रयोग गर्ने रेड फ्ल्याग र ग्रीन फ्ल्यागको अर्थ के हो ?

श्रावण ७, २०८२

आरती पौडेल

What is the meaning of Red Flag and Green Flag used by Gen-G?

What you should know

काठमाडौँ — इन्टरनेटसँगै हुर्किएका जेन–जी नयाँ तरिकाले त सोच्छन् नै, उनीहरू रिलेसनसिपलाई पनि विभिन्न सिम्बोल र सिग्नलमार्फत बुझ्छन्, बुझाउँछन् । जेन–जी पुस्तामाझ हिजोआज 'रेड फ्ल्याग' र 'ग्रीन फ्ल्याग' शब्द चर्चित छ । कुन कलरको फ्ल्यागमार्फत उनीहरू के भन्न खोजिरहेका छन् भनेर बुझौँ है त ।

पोखरा मूल घर भइ हाल बेलायतमा बसेर पढिरहेकी २३ वर्षीया सविता (नाम परिवर्तन) नेपालमै बस्ने एक जनासँग सम्बन्धमा थिइन् । कान्तिपुरसँगको अनलाइन कुराकानीमा उनले भनिन्, ‘हि इज फूल अफ ग्रीन फ्ल्याग बट आई स्टिल ब्रेकअप बिथ हिम ।’ ग्रीन फ्ल्याग देखाएको केटासँग उनको रिलेसनसिप किन अघि बढेन त  ? उनले सुनाइन्, ‘मलाई मन परेको केटा मैले नै खोजे जस्तै थियो । मैले जे भन्यो त्यही मान्ने, माया गर्ने, मेरो साना साना कुराहरूलाई पनि ख्याल राख्ने, स्पेसल फिल गराउने । तर परिवारले फरक देशकोसँग प्रेम नगर्न भनेपछि सम्बन्ध छुट्यो ।'

सविताले आफ्नो जेनेरेसनमा ग्रीन फ्ल्याग र रेड फ्ल्यागको अर्थ यसरी बुझाइन् । उनका अनुसार ग्रीन फ्ल्याग भनेको पार्टनर हो, जो तारिफ गर्छ । सोच्दै नसोचेको ‘सर्प्राइज’ दिन्छ अनि ‘लाइफस्टाइल’ पनि राम्रो छ भनौँ म्याच हुने खालको छ । आफूले ग्रीन फ्ल्याग देखाएको पार्टनरलाई परिवारले रेड फ्ल्याग देखाएपछि सात महिना लामो रिलेसन टुटेको उनले बताइन् । उनले भनिन्, ‘मलाई राम्रो लागेको कुरा मेरो ममी बाबालाई लागेन । धेरै पटक ‘कन्भिन्स’ गराउने कोसिस गर्दा पनि नमानेपछि मैले उसलाई छोडेँ ‘बट हि इज अ गुड गाइ ।’ 

रिलेसन टुटेको एक महिनापछि नै पुरानो पार्टनरले नयाँ अफेयर सुरु गरेको सविताले थाह पाइन् । उनले भनिन्, 'यति छिटो को ‘मूभ अन’ हुन्छ त ? खासमा उसले रिलेसनमा बस्दा नै मलाई ‘रेड सिग्नल’ दिएको रहेछ । मैले थाहा नपाएको मात्रै रै'छु । सम्झिँदा पनि रिग्रेट हुन्छ ।’

झापा बस्ने २० वर्षीया प्रमिला पौडेलले आफूलाई कुनै शंका नगरी माया गर्ने, आफूले भनेको कुरा बुझ्ने र अरूको अगाडि कहिल्यै नराम्रो नभन्ने केटा ‘ग्रीन फ्ल्याग’ भएको बताइन् । भनिन्,  ‘कोही केटासँग बोल्ने बित्तिकै को हो त्यो तेरो भन्ने शंका गर्ने गाली गर्ने, कतै जान नदिने, चुरोट खाने, रक्सी खाएर आफू कूल बन्न खोज्ने यस्तो पार्टनर मेरो लागि ‘रेड फ्ल्याग’ हो ।’ बिना कारण झगडा गर्ने, कन्ट्रोल गर्न खोज्ने र हरेक कुरामा आफू नै सही पार्टनर भन्ने नै रेड फ्ल्याग भएको बताउँदै उनले भनिन्, ‘एकअर्कामा मायाभन्दा झगडा र आफ्नो मुड अनुसारको व्यवहार गर्छन् भने त्यो त मेरो लागि एकदमै धेरै ‘रेड फ्ल्याग’ नै हो । त्यस्तो केटा मैले मेरो लागि रोज्दिनँ ।'

पोखरा घर भएका १७ वर्षीय सुजोय गुरुङ हालै एसइई पास गरेर ११ कक्षाको तयारीमा जुटेका छन् । उनले आफू निकै व्यस्त भएपनि आफ्नो पार्टनरका लागि समय छुट्याउने र अरूको अगाडि पार्टनरको सम्मान गर्ने व्यक्ति आफ्ना लागि ग्रीन फ्ल्याग भएको बताए । उनले थपे, ‘जसले आफ्नो पार्टनर जस्तो छ त्यसलाई स्वीकार्न सक्छ । उसका नराम्रा बानी व्यवहारलाई सुधार्न मदत गर्छ, त्यो नै ‘ग्रीन फ्ल्याग’ हो । तर अरूको अगाडि आफ्नो पार्टनरको कमजोरीलाई आफू कूल बन्न मजाक बनाउने, पार्टनरसँग कुराहरू लुकाउने, बाहाना बनाउने, पार्टनरलाई मन पर्ने किताब, फिल्म, कपडालाई पनि जज गर्छ भने त्यो ‘रेड फ्ल्याग’ हो ।’

जेन–जीमाझ रेड फ्ल्याग र ग्रीन फ्ल्यागका आ–आफ्नै बुझाइहरु छन् । तर आफू अनुकूल हुने पार्टनरलाई उनीहरू ग्रीन फ्ल्याग र आफूसँग म्याच नहुनेलाई उनीहरू रेड फ्ल्यागको ट्याग दिने बताउँछन् ।

जेन–जीले प्रयोगमा ल्याएको रेड फ्ल्याग र ग्रीन फ्ल्याग शब्द नयाँ स्वरूपमा प्रयोग भएपनि फरक सन्दर्भमा यसको प्रयोग वर्षौँदेखि भइआएको देखिन्छ । सुरक्षा र खतरा जनाउने संकेतको रूपमा प्रयोग गरिने अवधारणा ऐतिहासिक समुद्री संकेत प्रणाली ‘म्यारिटाइम सिग्नलिङ’, ‘रेल स्टेसन’ युद्ध, ‘रेस’ प्रतियोगितासहित विविध विषयमा प्रयोग गरिन्छ ।

खतराको संकेतको रूपमा रातो झन्डा र सकारात्मक संकेतको रूपमा हरियोको प्रयोग गरिन्छ भने यस्ता अन्य रंगका झन्डाको प्रयोग पनि विभिन्न संकेत प्रवाह गर्नका लागि पनि प्रयोग गरिन्छ । जेन–जी पुस्ताले भने प्रेम सम्बन्धदेखि मित्रता, आफूले काम गर्ने क्षेत्र, र सामाजिक व्यवहारको मूल्यांकन गर्न रेड फ्ल्याग र ग्रीन फ्ल्यागको प्रयोग गरेको विज्ञहरू बताउँछन् । 

युवा ग्यालरी

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully