संखुवासभा — खाँदबारी-नुम सडक खण्ड अन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्याएको छ ।
यो खण्डमा कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताए । उनकाअनुसार कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा क्षति पुगेको हो ।
यो कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्छ । पानीले ठूलो ढुंगा-पाङ्मा अरुण थानमा सबैभन्दा बढी क्षति पारेको स्थानीयबासी तथा पूर्वसांसद टंकप्रसाद राईले जनाकारी दिए । त्यस्तै पानीले मकालु गाउँपालिकाको नुममा पनि पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
त्यहाँ अवरुद्ध सडक खुवाउने प्रयास भइरहेको उनले बताए । पानीले सडकमा करिब १ करोडको क्षति पारेको उनले बताए । क्षतिको विवरण संकलन भइरहेको छ ।
