मन्त्रिपरिषद् बैठक : विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड रुपैयाँ निकासा

कार्तिक २, २०८१

कान्तिपुर संवाददाता

Council of Ministers meeting: Disbursement of 43 million rupees for disaster-affected local levels

काठमाडौँ — सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ४३ करोड रुपैयाँ तत्काल निकासा गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद् संकटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन यतिका रकम निकासा गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार बैठकले विपद् न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को निर्णयबमोजिम गत असोज ११ र १२ गतेको भारी वर्षा, बाढीपहिरो र डुबानबाट क्षतिग्रस्त भएका मध्ये सबैभन्दा धरै प्रभावित ९ स्थानीय तहलाई १-१ करोड, बढी प्रभावित १२ स्थानीय तहलाई प्रति स्थानीय तह ७५ लाख रुपैयाँ र विपद् प्रभावित ५० स्थानीय तहलाई ५० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । 

यसबारे बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले अनुदानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने शुक्रबार बसेको राष्ट्रिय परिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको थियो । 

परिषद्को निर्णय बमोजिम मन्त्रिपरिषद् बैठकले अनुदान रकम निकासा गर्ने निर्णय गरेको हो । 

यो पनि : 

विपद् प्रभावित नागरिकका लागि कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माण गरिने

बाढी पहिरो

कान्तिपुर

Link copied successfully