भोट माग्दै महेश, देखिएनन् मीनेन्द्र

प्रतिनिधिसभा निर्वाचनका मुख्य आकांक्षीका रुपमा हेरिएका कांग्रेस नेताद्वयले पार्टीको आन्तरिक खिचातानीका कारण टिकट नै पाएनन् 

मंसिर १, २०७९

विनोद भण्डारी

विराटनगर — अन्तिम समयमसम्म टिकटको आकांक्षी रहेका कांग्रेस नेता महेश आचार्य अन्ततः मोरङ–४ मा गठबन्धनका अर्का उम्मेदवारलाई भोट माग्ने अवस्थामा पुगे । २०५६ देखि ०७४ सम्म प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा आफ्नै लागि भोट मागेका उनी यस पटक सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीका लागि भोट मागिरहेका छन् ।

उनै मोदीसँग पछिल्लो निर्वाचनमा आचार्य ७ हजार बढी मतले हारेका थिए । यतिबेला मोदीका मुख्य प्रतिस्पर्धी एमालेका विनोद ढकाल छन् । करिब अढाई दशकसम्म एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका आचार्य ०५६ र ०७० को निर्वाचनमा विजयी हुँदा ०६४ र ०७४ मा हारे । यस अवधिमा उनी पाँच पटक मन्त्री र एक पटक राष्ट्रिय सभाको सदस्य भए ।

आचार्यको प्रतिक्रिया छ, ‘यस पटक पार्टीले मलाई गठबन्धनमा भोट माग्न लगायो, यसलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा लिएको छु ।’ आचार्यजस्तै टिकटका लागि अन्तिम समयसम्म रस्साकसी गरेका अर्का नेता मीनेन्द्र रिजाल भने आफ्नो पूर्वनिर्वाचन क्षेत्र मोरङ–२ मा शनिबारसम्म पनि पुगेका छैनन् । उनी अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित थिए । 

तर पार्टीले यसपालि उनलाई रोक्दै सुजाता कोइरालालाई टिकट दिएपछि रिजाल रुष्ट छन् । रिजाल विराटनगर आएर जिल्लाका अन्य क्षेत्रको चुनावी प्रचारप्रसारमा सक्रिय देखिए तर मोरङ–२ मा पुगेनन् । 

त्यसैले त कांग्रेसीहरू नै भन्दै छन्, ‘महेश गठबन्धनलाई भोट माग्दै छन्, मीनेन्द्रचाहिँ कता छन् ?’ रिजालका सहयोगीका अनुसार सुजाताले नबोलाएकाले उनी नगएका हुन् । सुजाताले चाहेमा प्रचारप्रसारमा सहयोग गर्ने उनको योजना छ । तर नबोलाई जाँदा हराउन आयो भन्ने दोष लाग्ने भन्दै रिजाल नगएका हुन् । सुजातालाई पनि सहयोगीहरूले रिजाललाई बोलाउन आग्रह गरेका छन् । उनी निकटका अनुसार सुजाताले बोलाउन भने चाहेकी छैनन् । यो क्षेत्रमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल सुजाताका प्रतिस्पर्धी छन् । 

पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा रिजाल र आचार्य सभापति शेरबहादुर देउवा र इतरपक्षका शेखर कोइरालाको गुटमा नपरेपछि रिजाल महामन्त्री र आचार्य उपसभापतिमा स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । लज्जास्पद रूपमा पराजित भएसँगै दुवैको राजनीतिक यात्रा ओरालो लाग्न थालेको हो । मोरङ क्षेत्र नं ४ लाई कांग्रेसले आफ्नो आधार क्षेत्र मान्दै आए पनि केन्द्र, जिल्ला, क्षेत्र र वडा तहका नेतैपिच्छेका गुट तथा उपगुटले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा अघिल्लो निर्वाचनमा कांग्रेसीले नै आचार्यलाई हराएर माओवादी केन्द्रका मोदीको जितको आधार बनाइदिएको आरोप छ । 

गठबन्धनमा कांग्रेसको भोट अन्यत्र नगए आफू विजयी हुनेमा मोदी ढुक्क देखिन्छन् । उता कांग्रेसको ‘पकड’ क्षेत्रमा पार्टीको उम्मेदवार नहुँदा असन्तुष्ट कांग्रेसीको भोट आफूलाई आउने र गत स्थानीय निर्वाचन क्षेत्रका कुल २३ मध्ये १८ वडामा एमालेका उम्मेदवार विजयी भएको आँकडाले ढकाल पनि विजयी हुनेमा उत्तिकै विश्वस्त देखिन्छन् । १ लाख १० हजार ९३ मतदाता रहेको यो क्षेत्रमा विराटनगर महानगरको वडा १, २, ३, १० र १९, बेलबारी नगरपालिकाको वडा ५, ६ र ७ सहित कटहरी र ग्रामथान गाउँपालिका पर्छ । यो क्षेत्रमा थारू, धिमाल र चौधरीको वर्चस्व छ ।

यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा दलगत वडा अध्यक्षका उम्मेदवारले पाएको मतको आँकडामा एमाले पहिलो छ । एमालेका उम्मेदवारले २५ हजार ७ सय ३० मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २१ हजार ८ सय ९४ मत पाएका थिए । माओवादी केन्द्रका उम्मेदवारले ९ हजार ९ सय ९९ मत ल्याउँदा राप्रपाले ४ हजार ६ सय ७४, जसपाले ३ हार १ सय १२ र नेकपा समाजवादीका उम्मेदवारले १ हजार २ सय ५५ मत पाएको तथ्यांक छ ।

आमनिर्वाचन २०७९

विनोद

Link copied successfully