पाँचथरको हिलिहाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

वैशाख २९, २०७९

लक्ष्मी गौतम

पाँचथर — मौन अवधिको उल्लंघन गर्दै रातको समयमा घरदैलो र मतदाता भेटघाट गरेका दलहरुबीच पाँचथरको हिलिहाङ गाउँपालिकामा झडप भएको छ ।

बुधबार राति मध्यरातमा नेपाल कम्युनिस्ट पार्टी एमाले र राप्रपाको गठबन्धन र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबीच झडप भएको हो ।

चुनावी प्रचारमा एमाले जिल्ला सचिव तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटासहितको टोली गाउँ छिरेपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले पिछा गर्ने क्रममा झडप भएको थियो ।

कांग्रेस माओवादी गठबन्धनका कार्यकर्ताले जिल्ला समन्वय प्रमुख सापकोटासहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एमालेले गोपेटार र पञ्चमीबाट शिक्षक र व्यवसायीलाई झिकाएर मौन अवधिमा पैसा बाँडेको नभएर रातको समयमा कार्यकर्ता मात्रै भेटेको जनाएको छ ।

बिहान ३ बजे प्रहरीले झडपलाई साम्य गराएको बताएको छ । झडपका क्रममा केही मोटरसाइकलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

स्थानीय तह निर्वाचन २०७९

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully