बिर्तामोड — उम्मेदवारका विषयमा विवाद हुँदा झापाको बुद्धशान्ति गाउँपालिकास्थित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड भएको छ । आफू पक्षीय नेताले टिकट पाउनुपर्ने भन्दै दुवै पार्टीका कार्यकर्ताबीच विवाद भएको हो ।
कांग्रेसको तर्फबाट वडा नं. ४ को वडाध्यक्षको उम्मेदवारका विषयमा विवाद हुँदा कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड गरेका छन् । वडा नं. ४ मा कांग्रेसबाट चेतन ढुंगेल र शेरबहादुर रायको नाम चर्चामा छ । उनीहरुमध्ये चेतन ढुंगेलले टिकट पाउनुपर्ने भन्दै कार्यालयमा तोडफोड भएको हो ।
त्यस्तै बुद्धशान्तिमा सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको प्रयास जारी छ । तालमेल भए माओवादीले उपाध्यक्ष पाउने छ । उपाध्यक्षका लागि माओवादीबाट खड्ग तिम्सिना र प्रेम नेम्वाङको नाम चर्चामा छ । प्रेम नेम्वाङले टिकट पाउनुपर्ने भन्दै वाईसिएलका कार्यकर्ताले माओवादीको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
