बरु गठबन्धन टुटोस्, यथास्थितिमा एमसीसी पास गर्दैनौं : मन्त्री राई

माघ २९, २०७८

डम्बरसिं राई

खोटाङ — प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले एमसीसी पारित गरिए त्यसले दुर्भाग्य निम्त्याउने चेतावनी दिएका छन् । दिक्तेलको शुभम फाउन्डेसनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले सत्ता गठबन्धन टुटे पनि एमसीसी अहिलेकै अस्थामा कुनै हालतमा पारित नहुने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य समेत रहेका राईले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने बताए । सत्ता गठबन्धनमध्ये कांग्रेस एमसीसी पारित गर्ने पक्षमा र अन्य दल चाहिँ यथास्थितिमा पारित गर्ने पक्षमा नरहेको उनको भनाइ थियो ।

एमसीसीकै कारण गठबन्धन भत्कियो भने सत्ता छाड्ने पक्षमा आफूहरू रहेको राईले बताए । ‘हाम्रो पार्टी यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा छैन’ राईले भने, ‘एमसीसीकै कारण गठबन्धन भत्कियो भने बरु सत्ता छाड्न तयार छौं ।’

राईले प्रदेश १ को नाम छिट्टै टुङ्गो लाग्ने पनि बताएका थिए । प्रदेशको नामाकरण अहिलेसम्म गर्न नसक्नु लज्जास्पद भएको उनको भनाइ थियो । पहिचान र भूगोलको आधारमा प्रदेशको नाम अब छिट्टै टुङ्गो लाग्ने पनि उनले बताए ।

‘पाँच वटा प्रदेश भूगोलको आधारमा र मधेस प्रदेश पहिचानका आधारमा नामाकरण भएको छ, प्रदेश १ को नाम चाहिँ पहिचान र भूगोलको आधारमा हुने छ’ राईले भने ‘प्रदशको नामाकरणमा लाज लाग्ने गरी ढिलो भएकाले अब चाहिँ छिट्टै टुङ्गो लाग्ने छ ।’

एमसीसी

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully