२५२ शय्याको कोभिड उपचार केन्द्र तयार गरिँदै

पुस १७, २०७८

देवनारायण साह

मोरङ — कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फैलिँदै जाँदा त्यसलाई लक्षित गरी प्रदेश १ सरकारले कोसी कोभिड–१९ उपचार केन्द्रलाई विस्तार गरी अक्सिजन प्लान्टसहितको २ सय ५२ शय्याको बनाउन लागेको छ ।

स्वीट्जरल्यान्ड सरकारको सहयोगमा प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय विराटनगरले निर्माण गरेको उक्त अस्पतालमा ६७ शय्या थप्न लागेको हो ।

तत्कालीन साल्ट ट्रेडिङको गोदाममा १८ वटा भेन्टिलेटरसहितको २४ वटा आईसीयू र ५२ वटा एचडीयूसहित ७६ शय्याको अस्पताल र गोदामकै खाली जमिनमा अक्सिजन प्लान्ट, शवगृह र वेस्ट म्यानेजमेन्ट ब्लक निर्माण गरिरहेको छ । आगामी साताभित्र सबै संरचनाको निर्माण सम्पन्न गरेर सहरी विकास तथा भवन कार्यालयलाई हस्तान्तरण गर्ने गरी काम अघि बढाएको निर्माण कम्पनीले जनाएको छ । सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर विभाश भुडेरले अस्पतालको भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगिसकेकाले अबको एक सातापछि अस्पताल सञ्चालन गर्न सकिने बताए । 

महादेव खिम्ती/स्वामी नारायण/अञ्जना जेभीले कुल ३ करोड रुपैयाँको लागतमा दक्षिण ब्लकको आईसीयू, एचडीयू, वेस्ट म्यानेजेमन्ट र शवगृह निर्माण, एलिसा कन्स्ट्रक्सनले १७ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माण र प्रभु गंगा निर्माणले १७ लाख रुपैयाँमा एचभीएसी जडानको ठेक्का लिई तीव्र गतिमा निर्माण गरिरहेका छन् । संक्रमित बिरामीले फेरेको श्वास र नेगेटिभ प्रेसरलाई निर्मलीकरण गरेर बाहिर फाल्न हिटिङ भेन्टिलेसन तथा एयर कन्डिसन जडानको कार्य धमाधम भइरहेको इन्जिनियर भुडेरले बताए । ‘दैनिक १ सय ५० सिलिन्डर उत्पादन क्षमताको अक्सिजन सेड निर्माण तथा जडानको कार्य र एचभीएसी जडानको कार्य अन्तिम चरणमा छ,’ उनले भने, ‘एचभीएसी जडान भइसकेपछि अस्पतालमा उपचाररत बिरामीबाट हुने जोखिम न्यूनीकरण हुन्छ । बिरामीले फेरेको श्वासले कसैलाई हानिनोक्सानी पुर्‍याउँदैन ।’

कोभिड–१९ उपचार केन्द्रले बिरामीको लुगा धुनका लागि दक्षिणपट्टि लन्ड्री ब्लक, उत्तरपट्टि अर्को १ सय ५० सिलिन्डर क्षमताको अर्को अक्सिजन प्लान्ट निर्माणका लागि सेड, मेडिकल ग्यास सप्लाइका लागि आवश्यक संरचना र अस्पताल परिसरमा कालोपत्र सडक निर्माणका लागि कोरोना जनसुरक्षा कोषबाट थप बजेट माग गरेको छ । उक्त कार्यका लागि थप ५६ लाख रुपैयाँको लागत अनुमान गरिएको कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए । उनले अर्को अक्सिजन प्लान्ट जडानका लागि उपकरण आइसकेको तर सेड निर्माण नभएकाले खुला आकाशमुनि बाहिर राख्न बाध्य भएको गुनासो पोखे । 

कोरोना महामारीकै क्रममा करोडौं लगातमा प्रदेश सरकारले तयार पारेको आईसीयू ७, एचडीयू १२ गरी ८० शय्याको कोभिड–१९ अस्पतालमा पनि बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्थामा राख्न तयारी थालेको छ । उक्त अस्पताल कोरोना महामारीको दोस्रो लहरमा प्रयोगमा ल्याइएन । जसले उपचार अभावमा प्रदेशवासीलाई समस्या भएको जनगुनासो थियो । अहिले कोभिड–१९ अस्पताल प्रशासनले त्यसलाई प्रशासन भवन र गोदामका रूपमा प्रयोग गर्दै आएको छ । 

यसअघि कोभिड–१९ अस्पताल परिसरमा रहेको उत्तरपट्टिको गोदाममा नागरिक समाजले १८ शय्याको भेन्टिलेटरसहित २१ वटा आईसीयू, एचडीयू ४७, अक्सिजनसहितको १५ र सामान्य शय्या १३ गरी ९६ शय्याको अस्पताल अहिले सञ्चालनमा छ । अस्पताल परिसरमा ३ सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट भए पनि कोरोना भेरिएन्ट पुनः आए २ सय ५२ शय्याका लागि १५ सय सिलिन्डर दैनिक आवश्यक पर्ने अस्पताल संयोजक साहले बताए । त्यसका लागि सरकारले तयारी गर्नु उपयुक्त रहेको उनले बताए । 

अस्पतालको अनुगमनमा गएका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अस्पतालका लागि आवश्यक बजेट प्रदेश जनसुरक्षा कोषबाट तत्काल निकासा गर्न लगाउने प्रतिबद्धता जनाए । ‘विपद् कसैलाई भनेर नआउने र कोरोनाको ओमिक्रोन भेरिएन्टले संक्रमितको संख्या बढ्दै गएकाले बिरामी भर्ना गरेर उपचार गर्न अस्पताललाई तयारी अवस्थामा राख्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो,’ उनले भने, ‘प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममार्फत कोरोना महामारीले प्रदेशवासीको जीवन रक्षा गर्ने नीतिगत प्राथमिकता सार्वजनिक गरिसकेकाले यसको लागि प्रतिबद्ध छ ।’ 

मन्त्री कार्कीले कोभिड–१९ अस्पतालको ८० शय्याको अस्पताललाई पूर्णरूपमा बिरामीको उपचार गर्ने अवस्थामा तयारी राख्न निर्देशन दिए । उनले आफैं अस्पतालभित्र पीपीई लगाएर संक्रमितको उपचारका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए । 

कोरोना भाइरसकोरोना खोप

देवनारायण

Link copied successfully