इलाम — अन्तिम समयमा उम्मेदवारबीच समीकरण फेरिएपछि नेपाली कांग्रेस इलामको अधिवेशन थप रोचक बनेको छ । संस्थापन र इतरका २/२ उम्मेदवार चर्चामा रहे पनि अन्तिममा संस्थापनका डम्बर खड्का र इतरबाट भेषराज आचार्य सभापति पदमा लडेका छन् ।
इतर समूहका मानिने आचार्यविरुद्ध ३ वटा समूह एक ठाउँ भएका हुन् । खड्कालाई संस्थापनकै पूर्वसभापति केशव थापा र सभापति हिमालय कर्मचार्यले समर्थन गरेका छन् । पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एक्ल्याउन नयाँ समीकरण बनेको बुझाइ छ । संघीय निर्वाचन क्षेत्रतर्फका दुवै स्थानमा भेषराज पक्षका उम्मेदवारले सभापति जितेका थिए । प्रदेशसभाका ३ क्षेत्रमा सवै आचार्य पक्षका ३ सभापति चुनिएका छन् ।
दिउँसो उद्घाटन भएको अधिवेशनको शुक्रबार नै मतदान भएको छ । पछिल्लो समीकरणले कतिपय क्षेत्रीय सदस्य अन्योलमा देखिएका छन् । दुई उपसभापतिका लागि चार जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट खगेन्द्र देवान र विष्णुकुमारी लिम्बू दाहाल तथा कर्माचार्य–खड्का–थापा प्यानलबाट केदार थापा र होमप्रसाद दुलाल भिडेका छन् । दुई सचिवका लागि पाँच जना प्रतिष्पर्धामा छन् । आचार्य प्यानलबाट पूर्णप्रसाद गौतम र हेमकुमार कार्की (विष्णु) चुनावी मैदानमा छन् ।
कर्माचार्य–थापा–खड्का प्यानलबाट वर्तमान सचिव निरोज खड्की, हुकुमलाल थेबे र स्वतन्त्र उम्मेदवार दीपक त्रिखत्री छन् । दुई सहसचिव पदमासमेत चार जनाबीच प्रतिस्पर्धा हुँदै छ । सहसचिवमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी तथा अर्को प्यानलबाट प्रविना राई र डालाकुमारी कार्की भिडेका छन् । मतगणना शुक्रबार राति नै गर्ने तयारी छ ।
