काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले पार्टीका अधिवेशनहरूमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप भएको भन्दै भर्त्सना गरेका छन् ।
नेता कोइरालाले १४ औँ महाधिवेशनअन्तर्गत रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरीले अमर्यादित क्रियाकलाप गरेको भन्दै पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै भन्दै स्मरण गराएका छन् ।
‘बर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बीच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु,’ कोइरालाले शुक्रबार सामाजिक सञ्जालमार्फत् भनेका छन् । उनले पार्टीको आन्तरिक र सांगठनिक क्रियाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
