काठमाडौँ — हल नपाएपछि कांग्रेस काठमाडौंको जिल्ला अधिवेशन सरेको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार अधिवेशन गर्ने तयारी भए पनि सो हल शनिबारसम्म व्यस्त हुने भएपछि कांग्रेसले आफ्नो अधिवेशन नै स्थगित गरेको हो ।
‘हल उपलब्ध भएन, शनिबारसम्म त्यहाँ अर्को कार्यक्रम रहेछ, त्यही कारण बरु आइतबार गरौँ भनेर अधिवेशन सार्यौँ,’ एक नेताले भने । ती नेताका अनुसार अब आइतबार बिहान उद्घाटन कार्यक्रम हुनेछ ।
जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘सबै तयारी पूरा भएको छ । शनिबार निर्वाचन समितिको कार्यालयमै मनोनयन दर्ता, दाबी/विरोध र उम्मेदवारी फिर्तासम्मको प्रक्रिया पूरा गर्छौँ,’ उनले भने, ‘आइतबार १० बजेपछि मतदान हुन्छ ।’ उनले छोटो समय भएकाले निर्वाचन प्रक्रिया छिटो पूरा गर्नुपर्ने दबाब रहेको बताए ।
काठमाडौंमा १० निर्वाचन क्षेत्र छन् । क्षेत्रीय अधिवेशनको परिणामले पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको गठबन्धन बलियो देखाएको छ । १० क्षेत्रमध्ये ८ क्षेत्रका सभापति सिंह–थापा निकट छन् । यहाँ सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको गठबन्धन छ ।
जिल्ला सभापतिका लागि सिंह–थापाको समर्थनमा वर्तमान जिल्ला सभापति सबुजकृष्ण बानियाँले दोहोरिने तयारी गरिरहेका छन् । देउवा–सिटौला गठबन्धनले बानियाँका विरुद्ध उपेन्द्र कार्कीलाई उभ्याउने तयारी गरेको छ । कार्की क्षेत्र नं. २ का सभापति थिए । काठमाडौंमा जिल्ला अधिवेशनका लागि करिब ३२ सय मतदाता छन् ।
