ताप्लेजुङ — कोरोना संक्रमणका कारण शनिबार र आइतबार गरी ताप्लेजुङमा दुई महिला र पाँचथरमा एक पुरुषको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ की ६९ वर्षीया र सिरिजंगा गाउँपालिका–४ तेल्लोकका ८० वर्षीय महिलाको मृत्यु भएको हो । दुवैको स्थानीय अस्पतालमा उपचार तथा परीक्षण गरिएको थियो ।
फुङलिङ नगरपालिकाकी महिलाको जिल्ला अस्पतालले आइसियु भएको सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लान रिफर गरिएको थियो । शनिबार राति ११ बजे एम्बुलेन्समा लैजाने क्रममा पाथीभरा याङवरक गाउँपालिका–१ सेसम्वू पुर्याउँदा उनको मृत्यु भएको र आइतबार बिहान कावेली नदीमा अन्तेष्टि गरिएको छिमेकी मिना गुरुङले बताइन् ।
सिरिजंगाकी महिलाको प्राथमिक उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए । उनी शनिबार बेलुका उपचारका लागि प्राथमिक उपचार केन्द्रमा भर्ना भएकी थिइन् । उनीहरु दुवैको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो ।
कुम्यायक गाउँपालिका घर भइ पाँचथर सदरमुकाम फिदिम–१ मा होटल व्यवसाय गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । शुक्रबार पाँचथर अस्पताल भर्ना भएका उनको अवस्था जटिल भएपछि शनिबार झापा लैजाने क्रममा इलामको फिक्कल पुग्दा मृत्यु भएको थियो । पाँचथरम कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
