सल्यानमा कोरोनाबाट थप तीनको मृत्यु

जेष्ठ ९, २०७८

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमणबाट जिल्लामा आइतबार तीन जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा दुईको राति र एकको बिहान मृत्यु भएको हो ।

कोरोनाबाट मृत्यु हुनेमा बाग्चौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष,त्रिबेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष र छत्रेस्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष रहेका जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज भीमकान्त जैसीले बताए । उनका अनुसार केही दिनअघि पीसीआर परीक्षण गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको थियो । अवस्था गम्भिर भएपछि तीनैजनालाई आफन्तले उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याएका थिए । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डीसीले कोरोनाबाट अहिलेसम्म जिल्लामा मृत्यु हुनेको संख्या ४० पुगेको बताए । जिल्लाभित्र मात्रै ३५ र बाहिर पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित ७ सय ५२ जना रहेका छन । अहिले जिल्ला अस्पताल सल्यानमा २७ र संस्थागत आइसोलेसनमा २३ गरी ५० जनाले उपचार गराइरहेका छन् । ७ सय २ जना होम आइसोलेसनमा छन् । 

कोरोना खोपकोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully