हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

जेष्ठ ९, २०७८

प्रताप विष्ट

हेटौंडा — मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । हेटौंडाका मेयर हरिबहादुर महतले प्लान्टको उद्घाटन् गरेसंगै अक्सिजन उत्पादन सुरु भएको हो ।

कोरोनाका कारण गम्भीर बिरामी भएर अस्पतालमा उपचार गराइरहेकाहरुका लागि अक्सिजन दिनकै लागि समस्या भएकाले तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले बताए ।

काठमाडौं लैजानका लागि रक्सौल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट ल्याउने व्यावसायीलाई परेको मूल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको मेयर महतले बताए । 

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक  २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ । अक्सिजनको हाहाकार भएको समयमा यसले पनि धेरै राहत प्रदान गर्ने अस्पतालका चिकित्सकहरुले बताएका छन् । 

प्लान्ट जडान गर्न दुई दिन समय लागेको छ । प्लान्ट जडानका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाडौंबाट आएका प्राविधिक २४ सै घन्टा खेटिएका थिए ।

हाल हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । सबै बिरामीको अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए ।

उपमहानगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गरेर कोरोना संक्रमितहरुको ज्यान बचाउने काम गरेको अध्यक्ष प्रसाईंले बताए । यसअघि अक्सिजनको हाहाकार हुँदा विभिन्न क्षेत्रको सहयोगमा अक्सिजन जुटाइएको थियो ।

उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने कार्यका लागि २ वटा गाडी अस्पताललाई जिम्मा लगाएको छ । उपमहानगरपालिकाले  हेटौंडाको गौरीटारमा आइसोलेसन र गोरक्षश्वरमा स्वाब संकलनको काम पनि गर्दै आएको छ ।

कोरोना भाइरस

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully