मोरङका १७ स्थानीय तहमा गरी ५ सय ५२ शय्या सञ्चालनमा
मोरङ — स्थानीय तहहरूले कोभिड अस्पताल र आइसोलेसन सेन्टर बनाउने कामलाई तीव्रता दिएका छन् । जिल्लास्थित १७ वटा स्थानीय तहले हालसम्ममा ५ सय ५२ शय्याको अक्सिजनसहितको कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।
प्रत्येक स्थानीय तहले आइसोलेसनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली खटाएका छन् । संक्रमित ओसार्नका लागि सबै स्थानीय तहले एम्बुलेन्सको निःशुल्क व्यवस्था गरेको छ ।
प्रदेश १ मा आइतबारसम्म १२ हजार ७ सय २१ संक्रीय संक्रमित देखिएकामध्ये ५ हजार आठ सय २२ अर्थात् ४५ दशमलव ७८ प्रतिशत सक्रिय संक्रमित मोरङमा छन् । मोरङमा भएको सक्रिय संक्रमितमध्ये ३ हजार सात सय ७५ अर्थात् ७२ दशमलव ५१ प्रतिशत विराटनगर महानगरमा छ । विराटनगर महानगरले बैजनापुर प्राथमिक स्वास्थ्य केन्द्रमा २० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको छ । ५० शय्याको थप अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए ।
महानगरभित्रका संक्रमितहरूलाई स्वास्थ्य सल्लाह दिनका लागि ३० जना चिकित्सकहरूको नामावलीका साथै मोबाइल नम्बर सार्वजनिक गरिएको बस्नेतले सुनाए ।
सुन्दरहरैंचा नगरपालिकाले दुर्गादेवी दुलाल कभर्डहल सलकपुरमा ३५ र उद्योग वाणिज्य संघ सुन्दरहरैंचामा १५ गरी ५० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । सुन्दरहरैंचाका नगर प्रमुख शिवप्रसाद ढकालले आइसोलेसनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली संक्रमितहरूको उपचार तथा निगरानीका लागि खटाएको बताए ।
उर्लाबारी नगरपालिकाले नगर आधारभूत स्वास्थ्य चौकीमा ११ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । नगरप्रमुख खड्ग फागोले संक्रमित पहिचान भएपछि होम आइसोलेसन मापदण्डअनुसार भए नभएको अनुगमन गरी मापदण्डअनुसारको नभएकाहरूलाई आइसोलेसनमा ल्याएर राख्ने गरेको बताए । उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेले १२ शय्याको कोभिड अस्पताल सञ्चालमा ल्याएको छ । अस्पतालका डा. दिव्यले ५ वटा शय्यामा प्यासेन्ट मोनिटरको व्यवस्था रहेको बताए ।
लेटाङ नगरपालिकाले पनि लेटाङ क्याम्पसमा १५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । बेलबारी नगरपालिकाले सामुदायिक बनको भवनमा १५ शय्याको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पथरी शनिश्चरे नगरपालिकाको नगर अस्पतालमा २५ शय्याको कोभिड अस्पताल तीव्र गतिमा निर्माण भइरहेको नगरप्रमुख दिलीपकुमार राईले बताए ।
यस्तै, सुनवर्षी नगरपालिकाले अमरदह स्वास्थ्य चौकीमा ४० शय्याको आइसोलेसन सेन्टर निर्माण गरेको छ । रंगेली नगरपालिकाले रंगेली अस्पतालमा २० शय्याको कोभिड अस्पताल र तिरुपति बालाजु मन्दिरको धर्मशालामा ८० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाले स्वास्थ्य चौकी मधुमल्लामा १० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । केराबारी गाउँपालिकाले केराबारी अस्पतालमा २० शय्याको कोभिड अस्पताल र सर्पदंश अस्पताल कालाबारीमा २० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ ।
कानेपोखरी गाउँपालिका, ग्रामथान, बुढीगंगा गाउँपालिका, कटहरी र जहदा गाउँपालिकाले पनि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिन्डेन्टेन्ट डा. चुमनलाल दासले स्थानीय तहहरूले आइसोलेसनको संख्या जति धेरै बढाउँछन् त्यति चाँडै संक्रमण र मृत्यु दर घट्ने बताए ।
