संक्रमण बढ्यो, परीक्षण छैन

८० बेडको होल्डिङ सेन्टर प्रयोगविहीन

जेष्ठ ३, २०७८

शाहीमान राई

भोजपुर — कोरोना संक्रमित भोजपुरका एक जना यातायात व्यवसायीको मृत्यु भएको छ । भोजपुर नगरपालिका–८ पानीट्यांकीका बस व्यवसायी साङ्गे शेर्पाको शनिबार काठमाडौंमा मृत्यु भएको हो ।

साताअघि कोरोनाको लक्षणसहित जिल्ला अस्पताल भर्ना भएका शेर्पाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । यसअघि अरुण गाउँपालिका–५ जरायोटारकी एक महिलाको मृत्यु भएको थियो । 

पछिल्लो समय भोजपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्यांकअनुसार भोजपुरमा संक्रमितको संख्या २ सय ६८ पुगेको छ । मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

संक्रमितको संख्या बढेपछि नाकामा कडाइ गर्न थालिएको छ । सदरमुकामलगायत ग्रामीण क्षेत्रमा पनि कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ ।

रामप्रसाद राई गाउँपालिका कार्यालयका १८ जना कर्मचारीसहित ३५ जना, षडानन्द नगरपालिकामा ३६ जना, भोजपुर नगरपालिकामा ७ जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । 

भोजपुरको स्वास्थ्य संस्थामा पर्याप्त उपकरण नभएकाले कोरोना संक्रमणको लक्षण भएका बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । प्रदेश र संघीय सरकारले पर्याप्त मात्रामा पीसीआर र एन्टिजेन किट्स नपठाएकाले परीक्षण गर्न कठिन भएको संकट व्यवस्थापन केन्द्र भोजपुरका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताए ।

कोरोना परीक्षणका लागि सरकारले भोजपुरमा पठाएको ५० थान एटिन्जेन किट्स प्रयोग भइसकेकाले थप परीक्षणका लागि उपकरण अभाव छ । भोजपुरमा कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएकाले बिरामीको स्वाब संकलन गरी विराटनगरस्थित प्रदेश स्वास्थ्य प्रयोगशाला र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको जनस्वास्थ्य कार्यालय प्रमुख फणीन्द्र थापाले बताए ।

होल्डिङ सेन्टर प्रयोगविहीन

भारत तथा तेस्रो मुलुकलगायत देशकै विभिन्न ठाउँबाट आउनेलाई राख्न ३८ लाख ५० हजार रुपैयाँ लगानीमा निर्माण गरिएको ८० बेडको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ ।

गत वर्ष भोजपुरका ९ वटा स्थानीय तहले बाहिरबाट आउने आगन्तुकलाई १४ दिन क्वारेन्टाइनमा राख्न अरुण गाउँपालिका–५ जरायोटारस्थित सिक्रेटारमा खाद्यान्न, खानेपानी, शौचालय, बाथरुमसहितको होल्डिङ सेन्टर निर्माण गरेका थिए ।

पहिलो लकडाउनको अवधिमा भारतलगायत तेस्रो मुलुकबाट आएका १ हजार २ सय जना आगन्तुक होल्डिङ सेन्टरमा बसेका थिए । होल्डिङ सेन्टरमा ४० जना पुरुष र ४० जना महिलाका लागि ८० वटा टहरा, ८० वटा बाथरुमसहितका शौचालय र ८० वटा नै खाट, लत्ताकपडा र सुरक्षाचौकीको समेत व्यवस्था छ । तर यसपालि होल्डिङ सेन्टरमा राख्ने गरी उपयुक्त व्यवस्थापन गरिएको छैन ।

आवश्यकता परेको अवस्थामा उपयोग गर्ने गरी सरसफाइ गरी तयारी अवस्थामा राखिएको सीमा प्रहरी चौकी जरायोटारका प्रहरी नायब निरीक्षक भलबहादुर राईले बताए ।

कोरोना भाइरस

शाहीमान

Link copied successfully