धनकुटामा कोरोनाबाट थप एकको मृत्यु

मंसिर १०, २०७७

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्लामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार धनकुटा नगरपालिका-४ देब्रेबासका ८२ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान करिब ६ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार ती वृद्धलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकै दिन पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका थियो ।

मंगलबार पनि धनकुटा नगरपालिका-४ देब्रेबासकै ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए । मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन् ।

धनकुटामा कोरोना संक्रमण पुष्टि भएका १७३ जनामध्ये १२५ जना निको भइसकेका छन् ।

कोरोना भाइरस

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully