सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियू कक्षसहित विभिन्न वार्डमा उपचाररत ८ जना बिरामीमा कोरोना संक्रमण भएको आइतबार राति पुष्टि भएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीहरुलाई वार्डको बेडमा भर्ना गरेपछि पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएकाले प्रतिष्ठानमा कोरोना फैलने खतरा बढेको हो ।
प्रतिष्ठानको मेडिसिन विभागको युनिट १ मा भर्ना भएकामध्ये ३ जना, सर्जरी विभागको युनिट २ मा एकजना, आईसियूमा भर्ना भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स र हेल्परहरु आत्तिएका छन् ।
प्रतिष्ठानमा अहिलेसम्म ८ जना नर्स संक्रमित भइसकेका छन् भने उनीहरुका परिवार सबै गरेर १५ जना संक्रमित भएका छन् । यस्तो अवस्थामा एकैसाथ कोरोना बाहेकको अन्य बिरामी उपचार गर्ने विभागको वार्डमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न चिकित्सक र नर्स आतंकित भएका छन् ।
यसैगरी प्रतिष्ठानको इमर्जेन्सी कक्षको इ एरिया हुँदै कोरोना शंकास्पद मानेर कोभिड अस्पतालमा भर्ना भएका ३ जनाको पीसीआर रिपोर्ट पनि कोरोना पोजिटिभ आएपछि एकैदिन प्रतिष्ठानभित्रै ८ जनामा संक्रमण पुस्टी भएको पछि आपतकालीन बैठक समेत बसेको छ ।
प्रतिष्ठानका होस्टल वार्डेन समेत रहेका कोरोना फोकल पर्सन डा इन्द्र लिम्बुका अनुसार कोरोना संक्रमित सबै पुरुष हुन् । ‘संक्रमितसँग सम्पर्कमा आएका चिकित्सक, नर्स, कुरुवा आसपासका बेडका बिरामीहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम हुँदैछ । रातभर सुत्न पाइएको छैन । सोमबारसम्ममा कन्ट्याक ट्रेसिङ गर्दा संक्रमित देखिएका बिरामीका कुरुवाहरु मात्र करिब १५ जना पुगेका छन् ।’ चिकित्सक, नर्स र हेल्परहरुको संख्या ४० जना बढी हुने डा इन्द्र लिम्बुले बताए । उनले भने, ‘ती मध्ये संक्रमितलाई आईसियूका बिरामीसहित सबैलाई कोभिड अस्पतालमा सारिएको छ चिकित्सक, नर्स र हेल्परहरुलाई प्रतिष्ठानकै क्वारेन्टाइनमा पठाउने छ ।’
