दबाबका बीच कोसी अस्पतालमा आईसियू र भेन्टिलेटर सेवा सुरु

भाद्र ४, २०७७

मोरङ — कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटरसहितको दोस्रो श्रेणीको सेवा सञ्चालन नगरेको भन्दै चौतर्फी विरोध भइरहेका बेला प्रदेश सरकारले बिहीबारदेखि सेवा सुरु भएको घोषणा गरेको छ । उपचार केन्द्रमा १० वटा आईसियू र ५ वटा भेन्टिलेटर सेवा सञ्चालन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । तर आईसियू र भेन्टिलेटर सेवा सञ्चालनका लागि कोसी अस्पतालले यसअघि माग गरेको उपकरण र जनशक्तीको व्यवस्थापन नै नगरी मन्त्री घिमिरेले उक्त घोषणा गरेका हुन् ।

‘आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति पहिलो दुई साताका लागि कोसी अस्पताल र कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खटाउने निर्णय गरेका छौं,’ मन्त्री घिमिरेले भने, ‘थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आइतबारबाट सञ्चालन गर्ने तयारी छ ।’

आईसियू र भेन्टिलेटरमा अक्सिजन सकिएपछि अटोमेटिक मेसिन अभावमा हातले अर्को सिलिन्डर जोड्नु पर्ने भएकाले बिरामीलाई उपचारमा समस्या रहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासको भनाइ थियो । उनले यसअघि आईसियू र भेन्टिलेटर सेवा सञ्चालनका लागि आवश्यक उपकरण र १ सय ५ जना जनशक्ति उपलब्ध गराइदिन मन्त्रालयसँग माग गरेको थियो । 

अक्सिजनको लागि अटोमेटिक मेसिन एक हप्ताभित्र उपचार केन्द्रमा उपलब्ध गराइसक्ने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले दाबी गरे । 

कोरोनाको लक्षण देखिएकालाई कोभिड–१९ उपचार केन्द्रमा र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । ‘कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाई उपचार केन्द्रमा ल्याइनेछ,’ उनले भने, ‘लक्षण नदेखिएका सामान्य प्रकृतिका संक्रमितलाई सम्बन्धित स्थानीय तहमै आईसोलेसनको व्यवस्थापन गरी राख्ने प्रबन्ध मिलाएका छौं ।’ 

कोभिड उपचार केन्द्रको आईसीयूमा हाल ३ जना संक्रमित उपचाररत रहेको उनले बताए । गत चैत २१ गते उद्घाटन गरिएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि सञ्चालनमा आएको हो । उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएकामध्ये २ सय ७४ जना डिस्चार्ज भएका छन् भने एकजना संक्रमितको मृत्यु भएको छ ।

उक्त संक्रमितको उपचार अभाव र चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ । उक्त रिट उपर सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधिश तीलप्रसाद श्रेष्ठको इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको छ । उक्त रिट निवेदनका कारण मन्त्रालयले आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन बिनानै आईसियू र भेण्टिलेटरसहितको दोस्रो श्रेणिको सेवा सुरु भएको हतारमा घाषणा गरेको हो । 

उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए । 

उपचार केन्द्र सञ्चालनका लागि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामीसहितको विशेषज्ञ टोली खटाइएको सचिव कार्कीले बताए । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगतसहितको टोली खटाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । जसमा १ हजार १ सय ५३ जना निको भएर घर फर्किसकेका छन् भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्ममा ७३ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयलले जनाएको छ ।

कोरोना भाइरस

Link copied successfully