रुपन्देहीमा कोरोनाबाट थप एकको मृत्यु

भाद्र ४, २०७७

सन्जु पौडेल

तलोत्तमा — रुपन्देहीमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । देवदह नगरपालिकाका एक व्यक्तिको बुधबार कोरोना पोजिटिभ नतिजा आएको र बिहीबार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले बताए । 

नगरपालिकाको वडा नम्बर ३ निवासी ७० वर्षीय पुरुष पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेको थियो । गत शनिबार पुन: व्यथाले च्यांपेपछि उनलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । आईसियुमै राखेर उपचार गरिएका उनको मंगलबार स्वाब परीक्षणका लागि पठाइएको र बुधबार रिपोर्ट पोजिटिभ आएको प्रमुख केसीले जनाए । 

मृत्यु भएका व्यक्ति लामो समयदेखि पक्षघात, सुगर, प्रेसरको बिरामी रहेका थिए । पहिले भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याइएका बिरामीलाई पीडा बढी भएपछि देवदह मेडिकल कलेजको आईसियुमा राखिएकोमा उनको मृत्यु भएको नगर प्रमुख केसीले बताए ।

रुपन्देहीमा बिहीबार भएको यस मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोनाबाट ती पुरुषको मृत्यु भएपछि देवदह–३ शिसपुरलाई सिल गरिएको छ भने मेडिकल कलेज र मृतकका परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको स्वाब संकलनको काम जारी रहेको केसीले बताए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully