विराटनगर आँखा अस्पतालमा नियमित रुपमै सेवा

चैत्र १७, २०७६

जितेन्द्र साह

विराटनगर — लकडाउनका समयमा नागरिक आँखासम्बन्धी उपचारबाट वञ्चित नहुन् भन्न सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालले नियमित रुपले बहिरंग सेवा सञ्चालन गरिरहेको छ । अरु बेला छिमेकी भारतसहित दक्षिण एसियाका बिरामीको चाप हुने यो अस्पताल लकडाउन र सीमा बन्दले सुनसान छ ।

हाल दिनहुँ २० जनाको हाराहारीमा बिरामी आइरहेको अस्पतालका कार्यक्रम संयोजक सुधीर ठाकुरले बताए । आँखामा केही परेर, उच्च रक्तचाप एवं मधुमेहले आँखामा समस्या भएर, चोटपटक लागेर, तुरुन्तै शल्यक्रिया गरिनु पर्ने एवं शल्यक्रिया भएकाहरु नियमित जाँचका लागि आइरहेको उनले जानकारी दिए ।


चिकित्सक एवं स्वास्थ्यकर्मीले सावधानी अपनाएर आँखाको परीक्षण एवं शल्यक्रिया गरिहेको ठाकुरले बताए । भेटेरै लिनुपर्ने आवश्यक सेवाबाहेक अन्य सबैखाले सल्लाह एवं सुझावका लागि अस्पतालले आफ्नो फेसबुक पेजमा विज्ञ चिकित्सकहरुको सम्पर्क नम्बरसमेत राखेको छ ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गैरनाफामूलक उक्त अस्पतालमा लकडाउन र सीमा नाका बन्द गरिनुअघि दैनिक औसतमा एक हजार दुई सय बिरामी उपचारका लागि आउँथे ।  यसमध्ये ५० प्रतिशत बिरामी भारतका विभिन्न राज्यका हुने गरेका अस्पतालका प्रबन्धक कुमार पृथु बताउँछन् ।


लकडाउनका कारण आवागमन प्रभावित भएकोले विराटनगर नजिक रहेका मोरङ, सुनसरी र झापाका विभिन्न गाउँ एवं नगरबाट मात्र बिरामी आइरहेको उनले बताए । ‘सीमा नाका बन्द भएकाले भारततिरबाट एक जना पनि बिरामी आएका छैनन्,’ उनले भने । यो अस्पतालमा आँखाका सबैखाले विज्ञसहित दुई सय ५० कर्मचारी कार्यरत छन् ।


बिरामीको चाप कम भएकोले सातै दिन सेवामा खटिने गरी अहिले दैनिक झन्डै ४० जनशक्ति काममा खटिने गरेका उनले बताए । ‘कुन चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कुन दिन ड्युटी छ भन्ने साप्ताहिक तालिका नै बनाएका छौं,’ उनले भने । 


सामान्य दिनमा बिहान साढे सात बजेदेखि साँझ साढे सात बजेसम्म अस्पताल खुला रहन्थ्यो । अहिलेको विषम परिस्थितिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म मात्र खुलिरहेको अस्पतालले जनाएको छ ।


अन्तर्राष्ट्रिय संघसंस्थाबाट उच्च प्रविधिका यन्त्र उपलब्ध हुँदै आएको यो एसियाकै प्रतिष्ठित अस्पतालमा गनिन्छ । यो अस्पतालले अपांग, अशक्त, ज्येष्ठ नागरिक र बालबालिका लागि छुट्टै टिकट काउन्टर राखि सहुलियत शुल्क वा आर्थिक स्थिति हेरेर नि:शुल्क उपचार सेवा समेत उपलब्ध गराउँदै आएको छ । यस अस्पतालमा आकश्मिक सेवा कहिल्यै बन्द हुँदैन । 

जितेन्द्र

Link copied successfully