जंगबहादुर : सर्वाधिक शक्तिशाली शासक

भारतमा सैनिक विद्रोह हुँदा नेपालका प्रधानमन्त्री जंगबहादुर स्वयं नेपाली सैनिक टोलीको नेतृत्व गर्दै दमन गर्न गए । अंग्रेजहरू उनीबाट खुसी हुँदै इनामस्वरूप सुगौली सन्धिमा गुमेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए । नेपालको कानुनलाई संहिताबद्ध बनाएर मुलुकी ऐन जारी हुनुमा उनै जंगबहादुरको योगदान छ भने नेपालले भोटसँगको युद्ध जित्नुको श्रेय पनि उनलाई नै जान्छ ।

वैशाख ४, २०८३

राजकुमार दिक्पाल

Jung Bahadur: The most powerful ruler

इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।

What you should know

जंगबहादुर राणाको चर्चा सुन्दा उनी दन्त्यकथाको तिलस्मी नायकजस्ता लाग्छन् । उनी तिलस्मी रूपमा फुत्त उदाएका भने होइनन्, उनकै विलक्षण प्रतिभाले नै मुख्य काम गरेको पक्कै हो । उनको पारिवारिक र मावली पृष्ठभूमि पनि कमजोर थिएन ।

पहिले उनका पुर्खा रतनजितले जुम्ला राज्यको सेवा गरेका थिए । पछि कास्कीका राजा सिद्धिनारायण शाहको आमन्त्रणपछि रतनजितको छोरा अहिराम कास्की आए । तर उनकी छोरीको विवाहको विधिबारे राजासँग कुरा मिल्न नसक्दा अहिराम कास्की छाडी गोरखातिर लागे । गोरखाली राजा नरभूपाल शाहले कुँवर खोलाको एउटा गाउँ बिर्ता दिएपछि उनीहरू ‘कुँवर’ कहलाएको ‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ (२०५२ः१) मा उल्लेख छ ।

यिनै अहिरामका तीन छोरा भए, रामकृष्ण, जयकृष्ण र अमरसिंह । तीमध्ये अमरसिंहले १८१९ सालमा तिमालको युद्धमा ज्यान गुमाए । पृथ्वीनारायण शाहका भरपर्दा सेनानायक रामकृष्णका पनाति हुन्, जंगबहादुर । जयकृष्णका नाति बलभद्र कुँवरले नालापानीको युद्धमा नाम कमाए । जंगबहादुरकी आमा गणेशकुमारी भीमसेन थापाका भाइ नयनसिंह थापाकी छोरी हुन् । गणेशकुमारीकी आमा रणकुमारी पृथ्वीनारायण शाहकालीन काजी तुलाराम पाँडेका छोरा रणजित पाँडेकी छोरी हुन् ।

पैतृक र मातृक दुवै ऐतिहासिक विरासत बोकेको परिवारमा जन्मेका थिए, जंगबहादुर ।

स्वामी महाराज रणबहादुर शाह काशी जाँदा भीमसेन थापासँग बालनरसिंह कुँवर पनि सँगै थिए । बनारसबाट फर्केपछि १४ वैशाख १८६३ को रात काजी त्रिभुवन प्रधानको घरमा राखेको कचहरीमा सौतेला भाइ शेरबहादुर शाहीको तरबार प्रहारबाट मरणासन्न हुन पुगेका रणबहादुर शाह ‘ए बाले, शेरेले मार्‍यो’ भनी कराए । त्यतिबेलै बालनरसिंहले तिघ्रामा समाई लडाएर शेरबहादुरको प्राण लिए (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२ः६२–६३) ।

सोही दिनदेखि राज्यको सम्पूर्ण शक्ति भीमसेन थापाको हातमा आयो । पुरानो सम्बन्ध र विरासत छँदै थियो, बालनरसिंह एक शक्तिशाली काजीका रूपमा उदाए ।

बालनरसिंह हाकिम भएर धनकुटा जाँदा जंगबहादुर पनि बुबासँगै गए । वैशाख १८८५ मा धनकुटा पुगेका उनले १८८६ मा १३ वर्षको उमेरमा श्रीजंग पल्टनमा सुबेदार पदमा भर्ना भई सैन्य सेवा सुरु गरे । १८९० मा बालनरसिंहको डडेलधुरा सरुवा हुँदा उनी पनि त्यतै गए (गंगा खरेल, ‘सिनास जर्नल’ वर्ष २६ अंक १–सन् १९९९ः१६४) । डडेलधुरामा उनी कप्तान भइसकेका थिए ।

जुवामा टाट पल्टिएका जंगबहादुर जागिरको खोजीमा भारतसम्म भौतारिएका थिए, पछि फर्किएर राजा राजेन्द्रको सिकार दलमा सामेल हुँदै पराक्रम देखाएर मन जितेर कप्तान बने ।  कोतपर्व र लगत्तै भण्डारखाल पर्व मच्चाएपछि जंगबहादुर शक्तिशाली बने ।
भीमसेन थापाको पतनपछि बालनरसिंह र जंगबहादुर दुवैको जागिर खोसियो । बेरोजगार जंगबहादुर जुवाको लतमा फस्दा ऋणमा डुबे । ऋणबाट मुक्तिका लागि तराईमा हात्ती समाउन जान तम्से, सोचजस्तो भएन । केही समय जागिरको खोजीमा भारततिर भौतारिए । अन्ततः गोता खाई काठमाडौं फर्के । बालनरसिंह पनि जीवनको उत्तरार्द्धमा ठूलो आर्थिक सङ्कटमा परे । त्यसबेला उनी केही रुपैयाँ सापट माग्न आफ्नै बन्धु वीरभद्र (बलभद्र कुँवरका दाजु) कहाँ पुगेका थिए । तर वीरभद्रले ‘आठ जना छोरा मात्र भएको र एक कौडी सम्पत्ति नभएको मानिसलाई बिनाधितो कसरी ऋण दिऊँ ?’ भनी प्याच्च मुख छाडेपछि बालनरसिंहले पनि रिसको झोंकमा ‘मेरा आठ भाइ छोरा एक दिन उच्च पदमा पुग्नेछन्’ भनेको जंगबहादुरका छोरा पद्मजंग राणाले ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४ः१६) मा उल्लेख गरेका छन् । नभन्दै जंगबहादुरको उदयपछि बालनरसिंहकै सन्ततिले १ सय ४ वर्षसम्म नेपालमा एकलौटी रजगज गरे ।

हात्ती समात्दा पुनर्बहाली

राजाको आँखा पर्ने दाउ खोजिरहेका थिए, जंगबहादुर । १८९७ को हिउँदमा राजा राजेन्द्र सिकार खेल्न तराईतिर लाग्दा जंगबहादुर पनि त्यही टोलीमा घुसे । एउटा अजंगको दारे हात्ती घेरामा पर्‍यो । तर कसैले पक्रने आँट गर्न नसकिरहेका बेला जंगबहादुर एउटा बलियो डोरी लिएर आफ्नो ज्यानको पर्वाह नगरी रिसले चुर भएको त्यस हात्तीको पछाडिको खुट्टा बाँध्न सफल भए । त्यसैबाट खुसी भएका राजा राजेन्द्रबाट उनले पुरस्कारस्वरूप कप्तान पद पाए (राणा, २०७४ः१९) । वास्तवमा यो उनको जागिरको पुनर्बहाली थियो ।

भीमसेन थापाको पतनपछि सरकार प्रमुखको फेरबदल चलिरहको थियो । लाहुर भासिएका माथवरसिंह थापालाई रानी राज्यलक्ष्मीको जोडबलमा झिकाएर राजा राजेन्द्रले प्रधानमन्त्रीमा नियुक्त गरे । पहिले भाउ खोजेर गोरखपुरमा अडिएर बसेका माथवरसिंहलाई स–सम्मान बोलाएर ल्याउन उनकै भान्जा जंगबहादुरलाई पठाइएको थियो ।

माथवरसिंहकै समयमा जंगबहादुरलाई युवराज सुरेन्द्रको अंगरक्षक बनाइयो । त्यो बेला उनले अनेकौं हन्डर व्यहोरे । सन्काहा सुरेन्द्र आफ्नी रानीहरूलाई बागमतीमा लगेर डुबाउँदै खेलाउने, भारदारहरूमध्ये कसैलाई छुरीले काट्ने त कसैलाई इनारमा खसालिदिनेसम्मको काम गर्थे ।

एक दिन जंगबहादुरलाई लगनटोलको इनारमा खसालिदिँदा पनि केहीबेरपछि इनारबाट निस्केर आए । उनले त्रिशूलीको साँघुबाट चार पटक फाल हान्नुपरेको थियो । साँघुबाट घोडा लैजान र आधाआधी पुर्‍याएपछि त्यहीँबाट फर्काउन अह्राए । हल्लने फलेक भएको र बीचबीचमा फलेक नभएको सानो साँघुबाट घोडा फर्काएर ल्याउन जंगबहादुर सफल भएपछि सुरेन्द्रले उनलाई काजी पद दिए (‘प्राचीन नेपाल’ संख्या २५–कात्तिक २०३०ः८) ।

इतिहासकार पुरुषोत्तमशमशेर जबराले ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ भाग १ (२०६५ः१८–१९) मा माथवरसिंहले जालझेल गरी भान्जा जंगबहादुरलाई सताउन सुरेन्द्रबाट लिखित आदेश गराई उनको अंगरक्षक बनाएको उल्लेख गरेका छन् । फेरि अर्को घटना घट्यो । अनाहकमा लप्टन पदबाट खोसुवामा परेका देवीबहादुर कुँवरले ‘रानी राज्यलक्ष्मी र गगनसिंहबीच अनैतिक सम्बन्ध रहेको’ हल्ला मच्चाइदिएपछि रानीले उनलाई काट्न आदेश दिइन् । देवीबहादुर जंगबहादुरका काका बलरामका छोरा हुन् । आफ्नै मामा प्रधानमन्त्री भएका बेला बिन्ति बिसाई बन्धुलाई बचाउने प्रयास गर्दा उल्टै माथवरसिंहले ‘माथिको आदेश भए तिमीले मलाई र मैले तिमीलाई पनि मार्नुपर्ने हुन्छ’ भन्दै भान्जाको सातो टिपे । त्यसपछि मामा–भान्जाबीच सम्बन्ध चिसियो ।

राजा राजेन्द्र पनि माथवरसिंहको व्यवहारबाट चिढिँदै गएका थिए । रानी राज्यलक्ष्मीले माथवरसिंहबाट आफ्ना छोरा रणेन्द्रलाई युवराज घोषणा गराउने जुन उद्देश्य राखेकी थिइन्, त्यो पूरा हुन सकिरहेको थिएन । अन्ततः मामा–भान्जाबीच चिसिएको सम्बन्धबारे जानकार राजा, रानी र रानीका प्रिय पात्र गगनसिंहले जंगबहादुरकै हातबाट तत्कालीन प्रधानमन्त्री माथवरसिंहलाई मराए । तर यो हत्यामा राजा राजेन्द्रको हात रहेको हल्ला फैलाइयो । आफ्नो बुबाको हत्या भएपछि विह्वल भएका माथवरसिंहका छोरा कर्णेल रणोज्ज्वल जंगबहादुरसँग सल्लाह गर्न पुगेछन् । जंगबहादुरले आफू पनि मामाको हत्याले दुःखी भएको नाटक रची आँसु खसाल्दै उनलाई भारततिर शरण लिन सुझाव मात्र दिएनन्, उनको सुरक्षाको लागि आफ्ना विश्वसनीय भाइहरू बमबहादुर र रणोद्दीपलाई थानकोटसम्म पुर्‍याउन पठाएका थिए (राणा, २०७४ः५४–५५) ।

यो घटनापछि चौतरिया फत्तेजंग शाहलाई प्रधानमन्त्री बनाइयो । मन्त्रिमण्डलमा जनरलहरू अभिमानसिंह राना, दलभञ्जन पाँडे र गगनसिंह सम्मिलित गराइए । मन्त्रिमण्डलमा समावेश नगरिए तापनि जनरल पदसहित जंगबहादुरलाई तीन पल्टनको तैनाथी दिएर उनको मानभाउ राखियो (नेपाल, २०५२ः१८९) । जनरल गगनसिंहलाई सात पल्टनको जिम्मा दिएर सबैभन्दा शक्तिशाली बनाइएको थियो ।

त्यो कोतपर्व !

नेपालको राजनीति नै उलटपुलट गर्ने दुर्दान्त रात हो, ३१ भदौ १९०३ को रात । ढोकाटोलस्थित आफ्नै घरमा साँझको पूजा गरिरहेका बेला गगनसिंहको अचानक हत्या हुन्छ । गगनसिंहका छोरा वजिरसिंहबाट यो खबर पाएपछि ‘यो लास उठाउन हुँदैन, मुन्डको मुन्ड नजोरी मान्दिनँ । बिनाकसुर मेरा वजिरलाई भारदारको खेलले मारे ! अब श्री ५ महाराज बक्साई निसाव गर्छौँ’ भन्दै क्रोधले जलेकी रानी राज्यलक्ष्मी नाङ्गो तरबार लिएर निस्किन्छिन् । (प्राचीन नेपाल, २०३०ः१६) । कचहरीका लागि बिगुल बज्छ ।

हत्यारा पत्ता लगाउन कचहरी सुरु हुनुअघि नै आफ्ना भाइहरूसहित जंगबहादुर हतियारले सुसज्जित आफ्नो तैनाथका पल्टनसहित कोतमा देखा पर्छन् । यो दृश्यले आश्चर्यमा परेकी रानीलाई जंगबहादुर स्पष्टीकरण दिन्छन्, ‘गगनसिंहको हत्याराको हातमा महारानीको ज्यान पनि खतरामा परेकाले महारानीकै सुरक्षाका लागि मैले पल्टन लिएर आएको हुँ । हुकुम हुँदो हो त गगनसिंहको हत्यारा म पत्ता लगाउँछु ।’ जनरल अभिमानसिंह राना आइपुग्छन् । प्रधानमन्त्री फत्तेजंग शाहलाई पनि बोलाइन्छ । हत्याराको आशङ्कामा रानीले वीरकेशर पाँडेलाई काट्न अभिमानसिंहलाई आदेश दिन्छिन् । तर राजाको आदेशबिना काट्न हिच्किचाउँदा स्वयम् अभिमानसिंह मारिन्छन् । आफू मृत्युको मुखमा पुगेका अभिमानसिंहले भित्तामा रगतले लेख्छन्, ‘गगनसिंहको हत्यारा जंगे नै हो’ (राणा, २०७४ः६६–६९) । कोतमा नरसंहार मच्चिँदा राजा राजेन्द्र मूकदर्शक बन्छन् ।

त्यसबेला लाल झा नामका व्यक्तिलाई गगनसिंहको हत्याराका रूपमा प्रचार गरियो । तर त्यो हत्यामा जंगबहादुरकै हात रहेको राणा परिवारकै इतिहासकारहरूको मत रहेको छ । जबरा (२०६५ः३५) ले उल्लेख गरेअनुसार जंगबहादुरले उनका साहिँला भाइ बद्रीनरसिंह कुँवरलाई गगनसिंहको हत्या गर्न ढोकाटोलतिर पठाई आफू भने आफ्नो मातहतका सेनालाई हातहतियारले सुसज्जित गराई राजदरबारनजिक पुगिसकेका थिए । रानी राज्यलक्ष्मी गगनसिंहको घरबाट फर्कंदा बाटैमा सेनाका साथ जंगबहादुरलाई भेटेकी थिइन् । अर्का इतिहासकार प्रमोदशमशेर राणाले ‘राणाशासनको वृत्तान्त’ (२०७०ः३६) मा गगनसिंहको हत्या गर्ने जंगबहादुर नै हुन् भनी धीरशमशेरले आफ्ना जेठा छोरा वीरशमशेरलाई भनेका थिए भन्ने आफूले भरपर्दो स्रोतबाट सुनेको उल्लेख गरेका छन् ।

रानीको प्रिय पात्र गगनसिंहलाई प्रत्यक्ष वा परोक्ष रूपमा सिध्याउने काम जंगबहादुरले नै गरेको चाहिँ स्पष्टै अनुमान गर्न सकिन्छ । त्यही रात रानी राज्यलक्ष्मीको तजबिजमा जंगबहादुरले देश हाँक्ने जिम्मेवारी पाए । यद्यपि आफ्ना छोरा रणेन्द्रलाई युवराज घोषणा गर्न जंगबहादुरले सुरसार नदेखाउँदा रानीले काजी वीरध्वज बस्नेत र गगनसिंहका छोरा वजिरसिंहलाई भण्डारखालमा बोलाई जंगबहादुरलाई सिध्याउने योजना बनाइन् । यसबारेमा दरबारका पूजाकोठे विजयराज पाण्डेले समयमै यो सूचना जंगबहादुरसमक्ष पुर्‍याएपछि उनले कोतपर्वमा सिध्याउन बाँकी रहेका आफ्ना विरोधीहरूलाई सिध्याउने उपयुक्त अवसर पाए । १७ कात्तिक १९०३ मा घटेको भण्डारखाल पर्वपछि उनको शक्ति थपियो । रानी राज्यलक्ष्मीलाई काशी पठाउँदा राजा राजेन्द्र पनि रानीकै पछि लागे ।

काशीमा रहेका गुरुप्रसाद शाहलगायतको सल्लाहमा राजा राजेन्द्रले सैन्य संगठन बनाई जंगबहादुरविरुद्ध लड्ने तयारी थालेका थिए । तर अलौ पर्वमा जंगबहादुरले ती विद्रोहीहरूलाई पनि सजिलै दबाएर राजा राजेन्द्रलाई पक्रेर ल्याई भक्तपुर दरबारमा आजीवन बन्दी बनाए । अनि युवराज सुरेन्द्रलाई नयाँ राजा घोषणा गरे । अब देशको सर्वेसर्वा जंगबहादुर भए भने राजाचाहिँ खोपाको देवता ! पछि राजा सुरेन्द्रकी छोरीहरू आफ्ना छोरा जगतजंग र जितजंगसँग र आफ्नी छोरीको सुरेन्द्रका छोरा युवराज त्रैलोक्यसँग विवाह गराएर राजालाई सम्धी मात्र बनाएनन्, सम्धी राजाको मन जितेर उनी श्री ३ महाराजको उपाधि लिन पनि सफल भए ।

प्रधानमन्त्री जंगबहादुरको तलब

Jung Bahadur: The most powerful ruler१९०३ मंसिर वदी ५ आइतबार जंगबहादुरलाई प्रधानमन्त्री र प्रधानसेनापतिको हैसियतले उनले पाउने तलब सुविधाबारे राजा राजेन्द्रले जारी गरेको रुक्कामा ‘जनरल भीमसेन थापाले षाइपाइ आया वमोजिम् तोसाषाना कोटभडार जगाजगावाट षान्यापिन्या सराजाम कपडा लत्ता दसै फागुका मामुली दैदस्तुर गैह्र सवै वेलावेलामा ली भोग्य गर’ भन्ने परेको छ । पहिले भीमसेन थापाको मुख्तियारी खान्गी रु. ६,४०१ थियो । वि.सं. १८७१ मा चार हजार थपेर १०,४०१ कायम गरिएको थियो (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ७७–असोज २०४७ः२३) ।

सर्वेसर्वा जंगबहादुरले आफ्ना भाइ, छोरा, भतिजाहरूलाई पनि ठूल्ठूला पदहरूमा नियुक्त मात्रै गरेनन्, जहानियाँ शासन लागू गरेर रोलक्रम नै निर्धारण गरिदिए । राज्यको ढुकुटीमा उनकै हालीमुहाली थियो । इतिहासकार महेशचन्द्र रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ८ अंक १ (डिसेम्बर १९७६ः१६) मा जंगबहादुर, उनका भाइ तथा छोराहरूले १९१० तिर बुझ्ने गरेको तलबमान प्रकाशमा ल्याएका छन् । त्यो बेला उनले रु. ८३,६२० तलब बुझ्थे । उनका भाइ कमान्डर इन चिफ बमबहादुरको तलब ३२ हजार ६ सय १३ रुपैयाँ थियो । उनका नाबालक छोराहरूमध्ये सात वर्षका कर्णेल भीमजंगले ८ हजार ५ सय ६७, छ वर्षका कर्णेल जगतजंगले १६ हजार ७ सय १२, चार वर्षका कर्णेल जितजंगले ९ हजार र दुई वर्षका कप्तान बबरजंगले ५ हजार १ रुपैयाँ तलब बुझ्थे । जंगबहादुरका रानीहरूलाई ‘मिनिस्टर्नी’ भनिन्थ्यो । नाबालक छोराहरूको नाममा आएको तलब उनै मिनिस्टर्नीहरूको छाप लागेर निजी ढुकुटीमा जम्मा हुन्थ्यो (चित्तरञ्जन नेपाली, ‘जंगबहादुरको कथा’–२०७०ः२५५–५६) ।

जासुसीको जालो

यदि राजदरबारभित्र पूजाकोठे विजयराज पाण्डे र सुसारे पुतली मैयाले जासुसी गरेर साथ नदिएको भए जंगबहादुर राज्यको उपल्लो स्थानमा पुग्ने थिएनन् नै, बीचैमा मारिन पनि सक्थे । भण्डारखालमा बोलाएर उनलाई मार्ने षड्यन्त्र भइरहेको सूचना पुतली मैयाबाट विजयराज हुँदै जंगबहादुरको कानमा पुगेपछि सबै कुराको भण्डाफोर भयो (राणा, २०७०ः४३) । पछि उनले विजयराजलाई राजगुरु बनाए । उनी र उनका दाजु तीर्थराजका सन्ततिले नेपालमा राजतन्त्र रहुन्जेल राजगुरु चलाए । पुतली मैयालाई जंगबहादुरले रानी नै बनाए । बेलायत भ्रमणबाट फर्केपछि आफ्नै साहिँला भाइ बद्रीनरसिंहले उनीमाथि दगा गर्ने योजना बनाएको सूचना माहिला भाइ बमबहादुरले बेलैमा चुहाएपछि जंगबहादुरको ज्यान जोगिएको थियो (जबरा, २०६५ः८४) राणा................. (२०७४ः८५) अनुसार रानी राज्यलक्ष्मी देश निकालामा पर्दा उनलाई पछ्याउँदै काशीतिर हिँडेका राजा राजेन्द्रको सुरक्षाको नाममा जंगबहादुरले आफ्ना विश्वसनीय कर्मचारीहरू करवीर खत्री, हेमदल, खड्गबहादुर राना र सिद्धिमानसिंहलाई त्यसतर्फ पठाएका थिए । उनीहरूले राजा राजेन्द्रको प्रत्येक गतिविधिको सूचना जंगबहादुरलाई पठाउँथे । उनले आफूविरुद्ध भएका कुनै पनि विद्रोह सफल हुन दिएनन् ।

सम्झनै पर्ने कामहरू

Jung Bahadur: The most powerful rulerभारतमा सैनिक विद्रोह हुँदा नेपालको प्रधानमन्त्री भए तापनि जंगबहादुर नेपाली सैनिक टोलीको नेतृत्व गर्दै त्यहाँको विद्रोह दमन गर्न गए । अंग्रेजहरू उनीबाट खुसी भए । इनामस्वरूप सुगौली सन्धिमा गुमेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले फिर्ता पायो । नेपालको कानुनलाई संहिताबद्ध बनाएर मुलुकी ऐन जारी हुनुमा उनै जंगबहादुरको योगदान छ । नेपालले भोटसँगको युद्ध जित्नुको श्रेय पनि जंगबहादुरलाई नै जान्छ । मोहनप्रसाद खनालद्वारा लिखित ‘नेपालमा भोट–युद्धको तयारी’ (२०३६) पढ्दा त्यस युद्धका लागि जंगबहादुरले कति मिहिन ढङ्गले काम गरेका थिए भन्ने थाहा हुन्छ ।

कोतपर्वमा ज्यान गुमाउने प्रधानमन्त्री फत्तेजंग शाहकी बहिनी हिरण्यगर्भकुमारीलाई विवाह गरेर एक पटकको शत्रु सधैंका लागि शत्रु हुँदैन भन्ने उदाहरण जंगबहादुरले देखाए । आफूलाई बारम्बार मार्ने षड्यन्त्र गर्ने जेठान गुरुप्रसाद शाहको जफत भएको सबै सम्पत्ति फिर्ता गरेर कर्णेल पद पनि दिएका थिए । कोतपर्वमा मारिनेमध्ये काजी बख्तावरसिंह भण्डारी पनि थिए । मृतक भण्डारीकी श्रीमती, छोरा, छोरी तथा बुहारीलाई कौसितोषाखानाबाट प्रतिव्यक्ति ३८ रुपैयाँका दरले १९१० असार वदी १ बुधबार खान्गी राहत दिएको पत्र यो लेखकले प्राप्त गरेको छ । बिर्सनयोग्य उनका कैयौं कर्तुत भए पनि यी कामले जंगबहादुरलाई सम्झिरहन मन लाग्छ ।

राजकुमार

Link copied successfully