भीमसेनको मुख्तियारीमा नेपालको भारत र तिब्बतसँगको व्यापारमा प्रशस्त वृद्धि भएको थियो । सैनिक सुधारमा पनि उनले धेरै काम गरे । उनले फ्रान्सेली सैनिक विशेषज्ञ झिकाएर आधुनिक तालिम सुरु गरे । नेपाली सेनाको बर्दी पनि फ्रान्सेली शैलीको बनाए । उनले प्रशासनिक व्यवस्थालाई पनि भरपर्दो र चुस्त बनाउने प्रयास गरे ।
इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।
What you should know
योभन्दा दुःखान्त अन्त्य अरू हुन सक्दैन । भीमसेन थापाले जसरी मृत्यु आत्मसात् गरे, त्यो असाध्यै वियोगान्त छ । २९ जुलाई १८३९ मा उनको वीभत्स स्थितिमा मृत्यु भएको थियो ।
राजा राजेन्द्र र महारानी साम्राज्यलक्ष्मी देवीको आदेशमा उनको रगतले लतपतिएको अर्धचेत शरीर विष्णुमती नदीको बगरमा फ्याँकिएको थियो । त्यही स्थितिमा उनी नौ दिन थप बाँचे । पानी परिरहेको थियो, तर प्राण त्याग्न सकिरहेका थिएनन् । अन्ततः उनको मृत्यु त भयो, लासको सम्मानपूर्वक दाहसंस्कार पनि गर्न दिइएन । उनको लास स्याल, कुकुर र गिद्धले खाए । अझ के पनि भनिन्छ भने उनको लास टुक्रा–टुक्रा पारेर काठमाडौंका विभिन्न ठाउँमा फ्याँकिएको पनि थियो । भीमसेन थापाले जहाँ मृत्युवरण गरे, त्यहाँ अहिले भीममुक्तेश्वर शिवालय रहेको छ । अहिलेको त्रिपुरेश्वरमा पर्छ यो । बाबुराम आचार्यले आफ्नो पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ मा के लेखेका छन् भने, ‘त्यस शिवालय रहेसम्म अझैसम्म पनि यिनको हृदयविदारक, आत्मघात र अमानुषिक यातनाको सम्झना गराउँदै रहेको पाइन्छ ।’
नेपाली इतिहासमा यति ठूलो व्यक्तिको यस्तो मृत्यु न कहिल्यै भएको छ, न पछि हुनेछ । त्यस अगाडि महारानी साम्राज्यलक्ष्मीका नाबालाक छोरा देवेन्द्रविक्रमलाई विष खुवाएको आरोपमा भीमसेन थापा नजरबन्दमा परे । त्यसैक्रममा उनले सुने, आफ्नी कान्छी श्रीमतीलाई हुर्मत लिइँदै छ । यस्तो हल्ला पूरा काठमाडौंमा फैलिएको थियो । इतिहासकार चित्तरञ्जन नेपालीले लेखेअनुसार भनिएको रहेछ, ‘उनकी स्त्री भक्तकुमारीलाई वस्त्रहीन तुल्याई सहर डुलाउने भएको छ र उनले यो दृश्य गुहुमा गाडिएर हेर्नुपर्नेछ ।’
यस्तोमा भीमसेन थापाले आत्महत्याको निर्णय गरे । निगरानीबीचमै उनी आफैं खुकुरीले सेरिए । केहीले काँचले सेरिए पनि भनेका छन् । भीमसेन थापाप्रति पर्याप्त सहानुभूति राख्ने चित्तरञ्जन नेपालीका अनुसार उनको फ्याँकिएको शरीरबाट खप्पर र हात पनि गायब भए । यो सबै अविश्वसनीय घटना त्यतिबेला सुरु भएको थियो, जतिबेला राजमाता ललितत्रिपुरासुन्दरीको मृत्यु भयो । त्यही बेलादेखि भीमसेन थापाको पनि पतन सुरु भएको थियो ।
इतिहासकार त्रिरत्न मानन्धरका अनुसार भीमसेन थापाको जीवनीको पहिलो भाग खालि षड्यन्त्रकै मात्र कथा थियो । भीमसेन थापाले आफू शक्तिशाली हुन एकपछि अर्को षड्यन्त्र मात्र गरे । षड्यन्त्रकै कारण उनी माथिसम्म पुग्न सफल रहे । भीमसेन थापाले आफू शक्तिमा हुँदा धेरैको ज्यान लिएका छन्, तिनका परिवारसम्मलाई निर्दयी मृत्यु दिए । स्वामी महाराज रणबहादुर शाहकै सल्लाहमा उनलाई मुख्तियारी पद दिइएको थियो, उनले ३१ वर्ष देश चलाए ।
मुख्तियारी पाएको केही समयपछि एउटा कचहरी बोलाइएको थियो । त्यो ठाऊँ अहिलेको आधुनिक रणमुत्तेश्वरमा पर्छ । त्यही कचहरीमा शेरबहादुर शाहीले रणबहादुर शाहलाई तरबार प्रहार गरे । केहीबेरमै उनको निधन भयो । लगत्तै बालनरसिंहको प्रहारमा शेरबहादुर शाहीको पनि मृत्यु भयो । घटना हुँदा त्यसकै छेउछाउमा भीमसेन थापा थिए । उनी घटनास्थल पुगे । तत्काल शेरबहादुरका दुई अंगरक्षक काटिए । त्यसपछि हत्याको शृंखला नै सुरु भयो ।
त्यसपछि दुई सातासम्म लगातार हत्याको शृंखला चलिरह्यो । त्यसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए । राति सुतिरहेको बच्चालाई समेत मारिएको थियो । त्यसलाई तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रले कोतपर्वभन्दा पनि घटिया रहेको भनेका छन् । हुन पनि कोतपर्वको जति चर्चा हुन्छ र यसक्रममा जंगबहादुर र अरू केहीलाई जसरी खलनायकका रूपमा चित्रण गरिन्छ, त्यत्तिको भीमसेन थापाले चलाएको हत्या शृंखलाका लागि भने गरिन्न ।
नेपाली इतिहास लेखनमा भीमसेन थापाबारे दुई परस्परविरोधी धारणा पाइन्छ । एकथरीले उनको गुणगान मात्रै गाएका छन् । अर्कोथरीले उनको खराबी मात्र । उनले जति समय सत्तामा बिताए, असाध्यै शक्तिशाली रहे, एक प्रकारले अधिनायकवादी तरिकाले नै देश चलाए । वैद्य र मिश्रले लेखेका छन्, त्यो हत्याकाण्डपछि नेपालको राजनीति फेरियो । राजपरिवारबाट शक्ति र सत्ता भारदारमा पुग्यो । राजपरिवारको भूमिका कमजोर बन्यो । नरसंहार गरेर सत्तामा आउने परिपाटी बस्यो । पछि यही बाटो जंगबहादुरले पनि रोजे । त्यसैले भीमसेन थापा जंगबहादुरलाई सत्तामा पुग्न बाटो देखाउने पनि हुन् । खासमा नेपाली इतिहास लेखनमा भीमसेन थापाबारे दुई परस्परविरोधी धारणा पाइन्छ । एकथरीले उनको गुणगान मात्रै गाएका छन् । अर्कोथरीले उनको खराबी मात्र । उनले जति समय सत्तामा बिताए, असाध्यै शक्तिशाली रहे, एक प्रकारले अधिनायकवादी तरिकाले नै देश चलाए । उनको जन्म सन् १७७५ मा बोर्लाङमा भएको थियो । फ्रान्समा राज्यक्रान्ति हुँदा उनी किशोर उमेरका थिए । नेपालमा आधुनिकताको प्रवेश गराउने श्रेय उनलाई जान्छ । आफ्नो शासनकालमा उनले दासप्रथा निर्मूल पार्न केही प्रारम्भिक काम गरेका थिए ।
उनले केही अमर्यादित किसिमबाट हुने विवादमा प्रतिबन्ध लगाए । उनको मुख्तियारीमा नेपालको भारत र तिब्बतसँगको व्यापारमा प्रशस्त वृद्धि भएको थियो । सैनिक सुधारमा पनि उनले धेरै काम गरे । उनले फ्रान्सेली सैनिक विशेषज्ञ झिकाएर आधुनिक तालिम सुरु गरे । नेपाली सेनाको बर्दी पनि फ्रान्सेली शैलीको बनाए । यस्तै उनले प्रशासनिक व्यवस्थालाई पनि भरपर्दो र चुस्त बनाउने प्रयास गरे । भीमसेन थापा अंग्रेजविरोधी थिए ।
अंग्रेजलाई धपाउन उनले एसियाली देशको एउटा संघ निर्माण गर्नेसमेत प्रयास गरे । उनकै पालामा नेपाल–अंग्रेज युद्ध पनि भएको थियो, सन् १८१४ देखि १८१६ बीच । युद्धमा नेपाल कमजोर हुँदै गएपछि नेपाल सुगौली सन्धि गर्न पनि बाध्य रह्यो । नेपालको दृष्टिकोणबाट यो असाध्यै अपमानजनक सन्धि थियो । यही सन्धिपछि त हो, नेपालले आफ्नो भूभागको एक तिहाइ गुमाउनुपरेको । त्यसपछि त नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप नै सुरु भयो ।
त्यतिबेला बलियो अंग्रेजसँग युद्ध गर्ने भीमसेन थापाको निर्णय गलत थियो भन्ने आधार पनि उत्तिकै छन् । कतिसम्म भनिन्छ भने आफ्नो सत्ता लम्ब्याउन भीमसेन थापाले युद्ध रोजेको पनि भनिन्छ । उनकै समयमा पनि अंग्रेजसँग लड्नु हुन्न भन्ने धेरै थिए, तर भीमसेन थापाले त्यसलाई बेवास्ता गरे । यो साँचो हो भने यसै कारण नेपालको क्षेत्रफल अहिलेको खुम्चिएको स्थितिमा पुगेको हो । त्यतिबेला नेपालले कम्तीमा ४० हजार वर्गमाइल गुमाउनुपरेको थियो । त्यसको अपजस जति सबै भीमसेन थापालाई नै जानुपर्छ पनि भनिन्छ ।
युद्धका क्रममा प्रस्ट के देखिएको थियो भने नेपालसँग सैनिक प्रविधि अंग्रेजको तुलनामा थिएन नै भन्दा हुन्छ । शक्तिको असमानता पनि उत्तिकै थियो । तर पनि अंग्रेज नेपालीको युद्ध कौशलता र बहादुरीबाट प्रभावित पनि रहे । त्यसै कारण बेलायती सेनामा भीमसेन थापाकै पालामा नेपालीले भर्ना हुन पाउने क्रम सुरु भयो । उनकै समयका अंग्रेज राजदूत ब्रेन हडसनले भीमसेन थापा धेरै गुणले युक्त भएको व्यक्ति भएको भनेर पनि लेखेका छन् ।
उनीबाट सबैभन्दा बढी प्रभावित त राजा रणबहादुर शाह नै थिए । उनी भन्थे, ‘म मरी मुलुक डुब्न्या छैन, भीमसेन मर्यो भन्या मुलुक डुब्न्या छ ।’ तर केही इतिहासकारले अपुष्ट रूपमा केसम्म दाबी गरेका छन् भने रणबहादुर शाहको हत्यामा भीमसेन थापाको पनि हात हुन सक्छ । एउटा तथ्य के निश्चित छ भने उनी जसरी सत्तामा पुगेर बलियो भए, उनको पतन पनि त्यसरी नै भयो । उनले जस्तो गरे, आफूले पनि त्यस्तै व्यहोरे । उनी अरूको लासमाथि टिकेर सर्वशक्तिमान बने, तर पछि उनकै लासमाथि अरूले टेके ।
