चन्द्रशमशेर : आधुनिकीकरणका प्रयत्न-पात्र

कसैका निम्ति चन्द्रशमशेर देशभक्त महापुरुष थिए भने कसैका निम्ति धूर्त, अति क्रूर शासक । एउटा तथ्यमा भने सबै अतीत–विद्वान् सहमत छन् : नेपालको आधुनिकीकरणमा उनको उल्लेख्य भूमिका छ ।

वैशाख ४, २०८३

दीपक सापकोटा

Chandrashamsher: A worthy candidate for modernization efforts

इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।

What you should know

‘जसको तरबार, उसको दरबार’ को खुनी दर्शनमा जंगबहादुर राणाले राणाशासनको जग हाले, जसको एक–एक इँटा रगतले सिञ्चित थिए । त्यही रक्तरञ्जित विरासतका एक जना प्रधानमन्त्री थिए– चन्द्रशमशेर । उनी र उनका अवदानबारे इतिहासकारका मत विभाजित छन् । कसैका निम्ति उनी देशभक्त महापुरुष थिए भने कसैका निम्ति धूर्त, अति क्रूर शासक । एउटा तथ्यमा भने सबै अतीत–विद्वान् सहमत छन्– नेपालको आधुनिकीकरणमा उनको उल्लेख्य भूमिका छ ।

राणाशासनको रङ पूर्ण अँध्यारो र धमिलो थियो । समयको त्यो अनौठो कालखण्डको छायामा थिए केवल चीत्कार, आँसु र रगतको नदी– कोतपर्व, भण्डारखाल पर्व र पर्वहरू । तर, चन्द्रशमशेर एक थिए जसले ‘पर्व’ हरू मनाएनन्, रगतको होली खेलेनन् । बरु, समाज सुधारका अनेकन विशिष्ट कर्म गरे । र, राणाशासकहरूको लामो लस्करमा भिन्न उभिए । पेपरवेटले थिचिएको चन्द्रशमशेरको कथामा रगतका छिटा भेटिँदैनन्– कोमलता र लालीमा भेटिन्छ ।

लेखक मदनमणि दीक्षितको किताब छ– ‘देशभक्त महापुरुष : श्री ३ चन्द्रशमशेर’ । किताबमा दीक्षितले चन्द्रशमशेरलाई ‘नेपालका प्रधानमन्त्रीमध्ये प्रथम क्रान्तिकारी देशभक्त र सामाजिक सुधारवादी’ उपमा सिउरिएका छन् । चन्द्रशमशेरका सुधार र विकासको प्रशंसामा मदनमणि मग्न त छँदै छन्, गलत कदममाथि समीक्षा नगरिकनै प्रशंसाका सयपत्री र मखमली माला पहिर्‍याइदिएका छन् । जस्तो– सुब्बा कृष्णलाल अधिकारी जेल पर्नु र मारिनुमा मदनमणि चन्द्रशमशेरको दोष देख्दैनन्, सबै गल्ती भाइभारदारको थियो भन्छन् । मदनमणिले लेखेका छन्, ‘चन्द्रशमशेरका तत्कालीन भारदार पक्षका केही उच्च अधिकृतले देशका प्रधानमन्त्री संलग्न देखिने गरी उचालेका हुन् ।’

केही इतिहासकारले चन्द्रशमशेरलाई ‘रुढिवादी’ र ‘निरंकुश’ शासक पनि मानेका छन्, तर केही सत्कर्म छन् देशनिम्ति, जसले उनलाई ‘अमर’ बनाएको छ । मदनमणिजस्ता लेखक मान्छन्– नेपालको आधुनिकीकरणमा चन्द्रशमशेरले उल्लेखनीय योगदान गरेका छन् । तर, ती सुधार र सत्कर्म प्रायः चन्द्रशमशेरको परिवार र शासन मजबुत बनाउने उद्देश्यले गरिएका थिए भन्ने इतिहासकार पनि छँदै छन् । मदनमणि लेख्छन्, ‘भौतिक प्रगतिका कार्य गर्ने चन्द्रशमशेरलाई नेपालका सम्मानित लेखकहरूले ‘धूर्त, अति निर्दयी, क्रूर र अमर्यादित क्रियाकलापको’ भन्ने तिनका अहम्भाव र अमानवीय दृष्टिकोण मात्र ठहरिन्छ ।’

मदनमणिले लेख्दैमा त्यो अँध्यारो र कालाम्मे समयमा २९ वर्ष शासन गरेका चन्द्रशमशेरलाई उसै ‘महापुरुष’ भनिदिनु हुँदैन । उनको व्यक्तित्व–कृतित्व जति हो, त्यति मात्रै मूल्यांकन हुनुपर्छ, शिरमा इतिहासकारले पहिर्‍याएका ताज नक्कली हो भने त्यो खोसिनुपर्छ । त्यो ताज खोसेर उनको व्यक्तित्वमा जति आकाश बाँकी रहन्छ, त्यही नै असली चन्द्रशमशेर हुन् । चन्द्रशमशेरको कृतित्वको उज्यालो–आलोकले निर्माण गरेको त्यो परिवेश कस्तो छ ? त्यसको सही मूल्यांकनले मात्रै उनलाई ‘महापुरुष’ ठहर्‍याउनेछ । नेपालको आधुनिकीकरणमा उनको भूमिकामाथि विमर्श गरिहेरौं ।

०००

किंवदन्ती वा दन्त्यकथाजस्तै बनिसकेका छन्– श्री ३ चन्द्रशमशेर (वि.सं. १९२०–१९८६) । राणाशासनका पाँचौं श्री ३ महाराज र नेपालका १३ औं प्रधानमन्त्री चन्द्रशमशेरको शासन–समय अनि जीवनतिर फर्किहेर्दा उनी किन कुनैबेला ‘देशभक्त महापुरुष’ लाग्छन्, कुनैबेला ‘क्रूर शासक’ ? त्यो थाहा पाउन उनको स्वचित्र अर्थात् ‘सेल्फ पोट्रेट’ नियाल्नुपर्ने हुन्छ ।

चन्द्रशमशेरले महिला ज्युँदै दनदनी जल्नुपर्ने कुप्रथा ‘सती’ समाप्त पारे १९७७ सालमा । पतिको शवसँगै चितामा जल्ने हजारौं स्त्रीमाथि चन्द्रशमशेरले न्याय दिलाए– कानुनी डन्डामार्फत । हिन्दु समाज भन्थ्यो– सती जानु स्त्रीहरूको पातिव्रत्यको प्रमुख द्योतक हो । ‘सती’ किताबका लेखक सुजित मैनालीको विचार छ, ‘कलकत्तामा विलियम बेन्टिक र नेपालमा चन्द्रशमशेरले उन्मूलन नगरेका भए हिन्दु समुदायमा छिटपुट रूपमा सती प्रथा अहिले पनि रहिरहन सक्थ्यो ।’

तर सती उन्मूलनकै साल सुब्बा कृष्णलाल अधिकारीलाई ‘मकैको खेती’ किताब लेखेर ‘गाथगादी ताकेको’ आरोपमा जेल सजाय सुनाए र उनको जेलमै मृत्यु भयो । किताबका शक्तिशाली शब्दावलीहरू ‘बेलायती कुकुर’ र ‘मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा’ ले चन्द्रशमशेर भयानक त्रसित थिए ।

उनै चन्द्रशमशेर हुन्, जसले १९८० सालमा नेपालबाट कमाराकमारी व्यवस्था खारेज गरे । व्यवस्था अन्त्य गर्दा उनले ती दासका मालिकलाई ६० लाख रुपैयाँ तिर्नुपरेको थियो । आफ्नी दोस्री रानी बालकुमारीका जेठा छोरा विष्णुशमशेरले कलकत्ताको फिरपो रेस्टुरेन्टमा गाईको मासु खाएको रिपोर्ट परेपछि चन्द्रशमशेरले छोरालाई ‘रोलक्रम’ बाट निष्कासन मात्रै गरेनन्, देशैनिकाला गरे । र, भविष्यमा नेपाल प्रवेशमा पनि प्रतिबन्ध लगाए । स्पेनमै तिनको अवसान भएपछि पनि शव नेपाल ल्याउन दिएनन्, वाराणसीमै दाहसंस्कार गराए ।

Chandrashamsher: A worthy candidate for modernization efforts

नेपाली युवालाई लाहुर पठाउन चन्द्रशमशेरले उर्दी नै जारी गरेका थिए । चन्द्रशमशेर सत्तामै छँदा पहिलो विश्वयुद्ध चलेको थियो । र, विश्वयुद्धमा लड्न उनले जबर्जस्ती नेपाली नौजवान पठाए । रिक्रुटका लागि योग्य युवाको मापदण्ड थियो– निरोगी, बलिया हात खुट्टा, आँखा, कान सद्दे भएको । विश्वयुद्धमा पठाएर उनले धेरै युवाको सपना र जिन्दगीमाथि खेलवाड गरेका थिए ।

Chandrashamsher: A worthy candidate for modernization effortsविश्वयुद्धमा भारतीय अंग्रेज सेनामा भर्ना भएका पाँच लाख एक हजार सैनिकमध्ये ५५ हजार नेपाली थिए । चन्द्रशमशेरले नेपालैभर किपटिया, तालुकदार, मुखिया आदिका नाममा सनद नै जारी गरे । भर्ती लाग्न चाहने नौजवानको योग्यताबारे सनदमा लेखिएको छ, उमेर– १८ देखि २५ वर्ष, उचाइ– पाँच फिट दुई इन्च र छाती– ३२ इन्च । त्यसमा जातिगत योग्यताबारे पनि लेखिएको छ– ठकुरी, क्षेत्री, गुरुङ, घले, मगर, लिम्बू किराती राई, सुनुवार, रानाभाट, नगरकोटी, मतवाली खस, तामाङ र शेर्पा सेनाका लागि योग्य जाति ठहरिने । पल्टने फकाउनेलाई विशेष बक्सिस व्यवस्था छ– एकदेखि १० जना भर्ना गर्नेलाई तीन रुपैयाँ तीन मोहर, १० देखि २४ जना भर्ती गर्नेलाई चार रुपैयाँ दुई मोहर र बढी पठाउनेलाई पाँच रुपैयाँ !

सनदमा लेखिएको छ, ‘बृटिस सर्कार र नेपाल सर्कारको अघिदेखि दोस्तना रहि आयाको तिमीहरू सबैलाई थाहै छ ...पल्टनमा आफूखुसी भर्ना गर्न आउने रिक्रुट थोर थोरै मात्र भई येक बखत पूरा गर्न नपुगेको हुनाले नेपाल सरकारलाई बन्दोबस्तमा पूरा रिक्रुट चाडो भर्ना हुदो हो भन्या दोस्तिका हिसावले बृटिस सर्कारका तर्फबाट लेखि आयाको...।’ (यस सनदको छायाप्रति इतिहास अध्येता राजकुमार दिक्पालले उपलब्ध गराएका हुन् ।)

चन्द्रशमशेरको प्रधानमन्त्रीत्वकालमा भएको ‘करिया मोचन र दासत्व उन्मूलन’ लाई नेपालको एक विशिष्ट घटना मानिन्छ । ‘ऊबेला कमाराकमारीले मालिकको घरमा गर्नुपर्ने कामको सीमा नै हुँदैनथ्यो । दिनभरि मरुञ्जेल खेतबारीमा काम गरेपछि राति घरका सबै मालिक–मालिक्नीको खुट्टामा तेल घस्ने, जुठोचुलो गर्ने, ढिकीजाँतो, घाँस–पात, भकारा सोहर्नेदेखि लिएर सबैको विवाहमा डोली बोक्ने, कलसिनी र लोकन्ती बन्नेसम्मका काम गर्नुपर्थ्यो । धनीका छोरीको विवाहमा कमाराकमारी दाइजो दिइन्थ्यो– हाटबजारमा राम्रा तरुनी कमारीको भाउ तीन सय नब्बे रुपैयाँसम्म पुग्थ्यो । प्रचलित भाउमा हिसाब गर्ने हो भने त्यो आठ–नौ हजार रुपैयाँ । तिनीहरू गाई–भैंसीसरह मोलिन्थे ।’ (त्यसबखतको नेपाल, भाग १, भीमबहादुर पाँडे) ।

टुँडिखेलको खरीको रुखमुनिबाट राष्ट्रका नाममा दिइएको करिया मोचन भाषणअघि चन्द्रशमशेरले राजा हरीश्चन्द्र र विश्वामित्रको कथा हाली कविता पनि पढेका थिए । सन्ताउन्न पत्रे करिया अमलेखसम्बन्धी त्यो भाषण अंग्र्रेजी र नेपालीमा बेग्लाबेग्लै लेखिएको थियो ।

चन्द्रशमशेरले आफ्नो भाषणमा भनेका थिए– १९८१, माघ १४ मा नेपालमा जम्मा ५५ लाख ७३ हजार ७ सय ८८ जनसंख्या थियो । १५ हजार ७ सय १९ करियाका मालिक थिए र ५१ हजार ४ सय १९ करिया छन् । उनको आह्वान थियो– सकभर सबै करियाका मालिकले आफ्ना–आफ्ना करियालाई राजीखुसी गराएर निःशुल्क आफैं मोचन गरून् । सरकारको अपिल नमानी सित्तैमा करिया मोचन नगर्ने खालका मालिकहरूलाई क्षतिपूर्ति दिन चौध लाख रुपैयाँ तत्कालीन सरकारद्वारा पर सारिएको थियो । (त्यसबखतको नेपाल, भाग १, भीमबहादुर पाँडे) ।

चन्द्रशमशेरले परम्परागत मान्यता छोडेर आधुनिकतालाई अभ्यासका रूपमा ग्रहण गरिरहेका थिए त्यो समय । लेखनाथ पौडेल र लक्ष्मण श्रेष्ठको ‘आधुनिक चन्द्रशमशेरको सन् १९२३ को सन्धिसम्मको यात्रा’ शीर्षक शोधपत्रले भन्छ, ‘सती प्रथाको उन्मूलनजस्तो दासप्रथा उन्मूलन सहज थिएन । सती प्रथाको सामाजिक आधार भत्किसकेको भए पनि कमाराकमारी राख्ने प्रथा बाँकी रहेकाले सामाजिक रूपमा यो जटिल काम थियो । गुरु पुरोहित, पण्डित, भारदार, पहाड र मधेशका जमिनदार दास प्रथा उन्मूलनको विपक्षमा थिए, तर उनले सरकारी ढुकुटीबाट मुआब्जा उपलब्ध गराई दासप्रथा उन्मूलन गरे । मुक्त भएका दासहरूलाई अमलेखगन्ज सहर बसाइयो ।’

चन्द्रशमशेरले नेपालमा सती प्रथा अभ्यासमा रोक लगाउँदा कसैले पनि प्रतिरोध गरेन । तर, त्यसको पाँच वर्षपछि करिया प्रथा अमलेख गरिँदा दुनियाँदारले प्रतिरोध गर्लान् कि भनेर राज्यले होसियारी अपनाउनुपरेको लेखेका छन् आफ्नो किताब ‘सती’ मा इतिहासकार सुजित मैनालीले, ‘करिया गुमाउने मालिकहरूका लागि क्षतिपूर्तिको प्रबन्धसहित धर्मशास्त्रमा वर्णित करिया प्रथाविरोधी प्रावधानहरूको सहारा लिनुपरेको थियो । त्यसअघि भारतमा इस्ट इन्डिया कम्पनीले सती प्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भएको थियो ।’

०००

इतिहासकारहरूले लेखेका छन्, चन्द्रशमशेर राष्ट्रभक्त थिए । व्यक्तिगत रूपमा आफ्नो फाइदा लिँदा बेलायत मातहत परिन्छ भन्ने डर उनमा थियो । त्यसैले मरणासन्न हुँदा पनि औषधि उपचार गर्न विदेशी चिकित्सक बोलाएनन् । र, विदेशबाट औषधि आयात गरेनन्, देशकै जडिबुटी उपयोग गरे ।

इतिहासकारका आँखामा चन्द्रशमशेर ‘स्वप्नदर्शी’ पनि थिए, जो राजकाजका कामकारबाही र निर्णय ‘खोपी’ बैठकको साँझ वा राति गर्थे । र, राष्ट्र निर्माणको सपनामा उनको महत्त्व स्थापित छ नै । त्यसैले उनको छायाले सती जानु नपरेकैले महिलाको र दास रहनु नपरेकैले तमाम जनहरूको हृदयमा विशाल परिधि निर्माण गरिरहेको छ ।

त्यो समय नेपालको राष्ट्रिय धुन थिएन । नेपालमा बेलायतकै धुन बजाइन्थ्यो– गड सेभ द किङ । चन्द्रशमशेरले चक्रपाणी चालिसेलाई राष्ट्रिय धुन बनाउन लगाए ।

एक भेटमा मदनमणिले चन्द्रशमशेरसँग जोडिएको आफ्नै परिवारको कहानी सुनाएका थिए, ‘तिब्बतबाट दलाई लामा सरकारले नेपाल सरकारलाई ठूलो र महँगो तथा हेर्दा राम्रो देखिने सुनचाँदीका गहनाहरू ‘तोफा’ का रूपमा प्रत्येक ५ वर्षमा एक पटक पठाउने गर्थ्यो । त्यो पटक चन्द्रशमशेरले पाएको भव्य तोफामा एउटा अति सुन्दर सेतो घोडा पनि नेपाल ल्याइयो । त्यस्तो घोडालाई ‘चिनियाँ च्यान्टा’ भन्ने गरिन्थ्यो । घोडालाई सिंहदरबारमा राखिएको थियो । चन्द्रशमशेरले एक दिन नराम्रो सपना देखे । घोडा दान दिए स्वप्नको दोष निवारण हुनेछ भनेर मेरा पितामहको निजी तबेलामा त्यो घोडा आइपुग्यो । पितामह तबेलामा बाँधेको त्यो घोडा चढेर गैह्रीधाराको घरदेखि टुँडिखेलसम्म वेगसाथ दौडिनुहुन्थ्यो । पछि–पछि दौडिने सइसलाई हातको कोराले हान्दै टुँडिखेल पुर्‍याउनुहुन्थ्यो । एक दिन चिनियाँ च्यान्टाको जीउको सेतो रौं मेरा पितामह काशीनाथ आचार्य दीक्षितको कालो कोटमा लाग्न पुगेछ । उहाँ टुँडिखेलको खरीबोट पुग्नुभयो । चन्द्रशमशेरले कालो कोटमा सेतो रङ देखेर भाइ भारदारहरूतिर हेर्दै भनेछन्, ‘हेर त ! कालो आकाशमा सेता ताराहरू कति राम्रा देखिएका ?’ त्यो उक्तिलाई पितामहले अपमान ठान्नु भएछ । अनि घोडाबाट नओर्लिकन भन्नुभएछ, ‘अबदेखि म तिम्रो राज्यमा बस्दिनँ ।’ त्यसपछि थानकोट नागार्जुन पहाड, चित्लाङ हुँदै मार्फा पुग्नै लाग्दा चन्द्रशमशेरले पछिपछि पठाएका लेफ्टिनेन्ट जनरलले पितामहलाई सम्झाइबुझाइ फिर्ता काठमाडौं ल्याएछन् ।’

Chandrashamsher: A worthy candidate for modernization efforts

मदनमणिले लेखेका छन्, ‘नराम्रो सपना देखे भने चन्द्रशमशेर सुवर्ण तुला अर्थात् मान्छेको तौलबराबरको सुन दान गर्थे । त्यस्तो दान पाउनेमा हाम्रो परिवारसहित उपत्यकाका झन्डै ५२ ब्राह्मण परिवार थिए ।’

इतिहासमा लेखिएको छ– युवा छँदा असाध्यै मदिरा पिउँथे चन्द्रशमशेर । प्रधानमन्त्री हुनुअघि भारत बिहारको गंगा किनार मुकामाघाटमा पानीजहाज चढ्न खोज्दा उनी काठको पेटीमा झन्डै लडेका थिए । तिनको त्यस्तो अवस्था देखेर एक अंग्रेजले भनेका थिए, ‘तिमी भोलि नेपालका प्रधानमन्त्री हुँदै छौ । तिमीले यसरी रक्सी खान हुँदैन ।’ भनिन्छ– त्यो दिनदेखि चन्द्रशमशेरले एक थोपा पनि रक्सी पिएनन् ।

चन्द्रशमशेर अरू राणा प्रधानमन्त्रीझैं साह्रै स्त्रीप्रिय थिएनन् । विवाहिता जेठी पत्नी लोकभक्तदेवीको अवसानपछि कान्छी पत्नीका रूपमा बालकुमारीसित विवाह गरेका थिए । तीबाहेक कुनै सुसारे पत्नी थिएनन् । तर, भनिन्छ– बालकुमारीले गायिका मेलवादेवीसँग चन्द्रशमशेरको प्रेमसम्बन्ध छ भनी शंका गरिन् । र, खानेपानमा सिन्दूर मिसाएर गायिकाको स्वर बिगार्ने यत्न गरिन् । चन्द्रशमशेरले बेलायतबाट चिकित्सक झिकाइ मेलवाको घाँटीको उपचार गराएका थिए ।

शास्त्रीय गायनमा रुचि थियो चन्द्रशमशेरको । उनी आफू त गाउँदैनथे । तर, बर्सेनि सिकारमा जाँदा लखनउ र बनारसका विख्यात गायक–गायिकालाई सम्मिलित हुन आमन्त्रण गरिन्थ्यो । ती गाउँथे मेलवादेवीका गीत– झन् पर जान्छु लै लै, झन् धेरै माया लाग्छ बरी लै, रोइदिने कोही छैन, सवारी मेरो रेलैमा । मेलवादेवीको स्वर र सुन्दरतामा मग्न थिए चन्द्रशमशेर ।

Chandrashamsher: A worthy candidate for modernization effortsचन्द्रशमशेर किंवदन्तीका यस्ता पात्र भए, जसबारे मदनमणि दीक्षित आफ्नो किताबमा विस्तृतमा लेखेका छन् । मदनमणिका अनुसार, चन्द्रशमशेर कलकत्ता गएका बेला ब्रिटिस सरकारले उनलाई आवतजावत निम्ति मोटरकार उपलब्ध गराएको थियो । चन्द्रशमशेरले मोटर चढ्दा चालकसित त्यसको बनोटबारे बुझे । चालकले बताएअनुसार, मोटरकार चलाउने मुख्य इन्जिन त्यसबेला पछाडि बस्ने व्यक्तिको सिटमुन्तिर जोडिएको हुन्थ्यो । त्यो सुनेपछि चन्द्रशमशेरले भने, ‘मोटरकारको इन्जिनलाई सिटमुन्तिर होइन, अगाडिपट्टि राख्ने गरी बनाउनु ।’ त्यसपछि बेलायतका सबै मोटरकारका इन्जिन अगाडिपट्टि राखियो ।

बेलायतबाट चन्द्रशमशेरले ‘फाउन्टेन पेन’ नेपाल भित्र्याएका थिए । बाँस वा निगालोले लेख्नुपर्ने त्यो समय लेखापढी गर्नेहरूलाई बरदान सावित भएको थियो त्यो पेन ।

मदनमणिद्वारा लिखित किताब ‘देशभक्त महापुरुष : श्री ३ चन्द्रशमशेर’ का अनुसार देशनिम्ति चन्द्रशमशेरका उज्याला केही ‘सत्कर्म’ यस्ता छन्–

– नेपालबाट सती प्रथा अन्त्य (संवत् १९७७)

– नेपालबाट कमाराकमारी व्यवस्था खारेजी, जसलाई करियामोचनका नामले पुकारिन्छ (संवत् १९८०) । कमाराकमारीको मुक्ति अर्थात् अमलेख मात्रै होइन, तिनको थातथलोका निम्ति अमलेखगन्ज र चन्द्रनिगाहपुरमा चन्द्रशमशेरले बस्ती पनि बसाए ।

– कृषकको लाभहेतु सप्तरी, सिरहा, सर्लाही र रौतहटमा कृषि विकासका लागि खेतमा पानी पठाउन चन्द्रशमशेरले ‘चन्द्रनहर’ निर्माण गराएका थिए ।

– नेपालमा पहिलो पटक विद्युत् सेवा प्रारम्भ चन्द्रशमशेरले गरेका थिए फर्पिङमा (सन् १९१०) ।

– अमलेखगन्जदेखि भैंसे हुँदै भीमफेदीसम्म मोटर बाटो निर्माण गराएका थिए चन्द्रशमशेरले । त्यस बेला नेपालको पहिलो सुरुङ चुरे पर्वतमा निर्माण गरिएको थियो ।

– चन्द्रशमशेरले भीमफेदी नजिकै धुर्सिङ पर्वतदेखि काठमाडौं मातातीर्थसम्म ‘रोपवे’ निर्माण पनि गराएका थिए । त्यो रोपवेले भारत र बेलायतबाट नेपालमा आयात गरिने उपभोग्य वस्तुको मूल्य घटाउन सहयोग गरेको थियो । उनले अमलेखगन्जदेखि रक्सौलसम्म रेलवे लाइन निर्माण गरी रेलवे यातायात प्रारम्भ गराएका थिए । त्यसलाई नाम दिइएको थियो– नेपाल गभर्मेन्ट रेलवे ।

– चन्द्रशमशेरले नेपाललाई सार्वभौम सत्तासम्पन्न स्वतन्त्र राज्य भनी नेपाल–बेलायतबीच विधिवत् सन्धि–सम्झौता गराएका थिए (संवत् १९२४) ।

– चन्द्रशमशेरले त्रिचन्द्र कलेज स्थापना गरे (सन् १९१९) । त्यसबेला टिप्पणी भएको थियो– शिक्षाको ढोका खोलेर राणाहरूले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरे । के पनि भनिन्छ भने उनले उबेलै बनारस हिन्दु विश्वविद्यालयलाई ४ देखि ५ लाख रुपैयाँसम्म चन्दा दिएका थिए (संवत् १९७७) ।

– बेलायतबाट झिकाइएका भवन निर्माण विशेषज्ञको रेखदेखमा सिंहदरबार निर्माण गराएका थिए चन्द्रशमशेरले । हालको राष्ट्रपति भवन शीतलनिवास पनि उनैले निर्माण गराएका थिए ।

– नदीहरूमा इस्पातको पुल निर्माण पनि चन्द्रशमशेरले गराएका थिए– थापाथली, खोकना, आर्यघाट, गौरीघाट, तादी, आरुघाट, बेत्रावती, बेनीघाट, दोलालघाट, चोभारदेखि रक्सौलसम्मै २५ स्थानमा ।

– चन्द्रशमशेर आफैं क्षयरोगग्रस्त थिए, जसले जीवनैभर आयुर्वेदिक औषधि सेवन गरे । उनले भक्तपुरको उपचार केन्द्र र बुढानीलकण्ठमाथि टोखामा क्षयरोग अस्पताल र रोगी बस्ने घरहरू निर्माण गराएका थिए । ‘सिंहदरबार वैद्यखाना’ पनि चन्द्रशमशेरले नै निर्माण गराएका थिए ।

– ऐन संशोधनपछि अपराध गर्नेलाई बढीमा २० वर्षसम्मको जेल सजाय गराएका थिए चन्द्रशमशेरले । उनले आफ्नो राज्यकालमा कसैलाई पनि मृत्युदण्ड दिएनन् ।

– धर्मका नाममा जनताबाट उठाइने सरकारी रकम माफी गरेका थिए । कोटीहोम, अग्निहोत्री, सतल निर्माण तथा मठमन्दिरको जीर्णोद्वार निम्ति उनी सक्रिय रहे ।

– चन्द्रशमशेरकै समयमा बेलायतबाट नेपालमा पहिलो पटक मोटरकार झिकाइएको थियो ।

– ‘गोरखा भाषा प्रकाशिनी समिति’ स्थापना गराएका थिए चन्द्रशमशेरले संवत् १९७८ मा । पछि त्यही संस्था वि.सं. २०१७ मा ‘साझा प्रकाशन’ मा बदलियो ।

मदनमणिले भनेझैँ चन्द्रशमशेर नेपाली इतिहासका महापुरुष होइनन्, तर नेपालको आधुनिकीकरणका प्रयत्न पात्र हुन् ।

०००

अनेकन कथा–किस्सामा जीवित छन्– राणाशासकहरू । जस्तो भनिन्छ– एक थिए मोहनशमशेर, जो सुनको टुटी भएको करुवाबाट तीन जना सुसारेको सहयोगमा दैनिक १० पटक हात धुन्थे । र, हात धुन २० नयाँ रुमाल प्रयोग गर्थे । मोहनशमशेर दिसा बस्दा निक्कै लामो समय लिन्थे । चाकडीमा आउने मान्छेले दिसा बसेकै बेला पीरव्यथा सुनाउँथे । मोहनशमशेर त्यतिबेलै फैसला सुनाउँथे ।

अर्को कथा छ– जुद्धशमशेरको । नेपालका पहिलो डाक्टर सिद्धिमणि आचार्य दीक्षितले जुद्धशमशेरका सुसारेको यौनाङ्ग परीक्षण गरेर ‘ठीक छ’ भनेपछि मात्रै जुद्ध ती सुसारेलाई भोग्थे ।

जिउ नै सिरिङ्गै पार्ने अर्को कथा यस्तो छ– मृत्युदण्ड पाएका व्यक्तिलाई ठूलो कराहीमा भकभकी उम्लिरहेको तोरीको तेलमा मरणोन्मुख व्यक्तिको खप्परबाट तप–तप चुहिने मस्तिष्कको रसलाई राणा प्रधानमन्त्री वीरशमशेरको पालासम्म नेपालमा प्राणदायी औषधिका रूपमा प्रयोग गरिन्थ्यो । (देशभक्त महापुरुष, मदनमणि दीक्षित) 

इतिहासका पृष्ठ र कथामा जीवित राणाका दरबारहरू पनि आफ्नो समयका कथावाचक हुन्– तिनका खण्डहरले तत्कालीन समाजको सामाजिक, सांस्कृतिक रूपरेखा बयान गर्छन् । जसरी सिंहदरबारले चन्द्रशमशेरको शासनशैली र सान सम्झाउँछ ।

इतिहासका पृष्ठहरूमा लुकिबसेका चन्द्रशमशेर याद दिलाउने सत्ताशक्तिको एक पुरानो र अभेद्य किल्ला थियो– सिंहदरबार, जुन जेन–जी आन्दोलनको आगोको लप्कामा खरानी भयो । सिंहदरबारसँगै जले– चन्द्रशमशेर सम्झाउने राणाकालीन वैभवका निसानी ।

Chandrashamsher: A worthy candidate for modernization effortsसिंहदरबार भव्य भवन र प्रशासनिक संरचना मात्रै थिएन, नेपाली इतिहास र राजनीतिको जीवन्त वृत्तान्त पनि थियो । चन्द्रशमशेर निर्मित त्यसको भव्य ‘आर्किटेक्चर’ आफैंमा एक उद्घोष थियो— रैतीमाथि शासन गर्ने शक्तिको । चन्द्रशमशेरले ३५० रोपनी जमिनमा वि.सं. १९६० मा व्यक्तिगत २५ लाख रुपैयाँ खर्चेर निर्माण गराएको यो सानदार दरबारमा १७ सय कोठा तथा विभिन्न चोक थिए । यो दरबारले सम्झाउँथ्यो– नेपाली राणाहरूको सम्भ्रान्त समय–रेखा ।

चन्द्रशमशेरमाथि कमलमणि दीक्षितको एक असरदार किताब छ– चन्द्रज्योति, सिंहदरबारबारे दीक्षितले लेखेका छन्, ‘सिंहदरबार चन्द्रशमशेरले आफ्ना लागि, आफ्नै परिवारका लागि बनाएका थिए– त्यसको कुन कुन भाग ककसलाई दिने भन्ने पनि ठेगान लागिसकेको थियो । तर, पछि चन्द्रशमशेरलाई लागेछ– यत्रो घर दरबार छेराहरूले सम्हाल्न सक्दैनन् भन्ने । त्यसैले सिंहदरबार उनले सरकारी बनाइदिए– प्राइममिनिस्टरको निवास ।’

सिंहदरबारमा चन्द्रशमशेर लम्पसार परेर आरामी मेचमा लेटेका हुन्थे, उनको अगाडि किसिम–किसिमका मीठा मसलाले भरिएको ठूलो बुट्टै–बुट्टा काटिएको चाँदिको पानबट्टा, चाँदिको कलापूर्ण हुक्का, टुटीमा सुनले बाँधेको रबरको नली र एकाध मेच हुन्थे । तालुकवालहरू मेचमा र अरू दुनियाँदार हाकिम कार्पेटमा पलेंटी मारेर बस्नुपर्थ्यो । प्रधानमन्त्रीले फाँकका फाँक मसला र तमाखु तान्दै ट्यार ट्यार कुरा सुन्दथे घन्टनतक (त्यस बखतको नेपाल) ।

जेन–जी आन्दोलनको त्यो सिंहदरबार अग्निकाण्डपछि पनि सायद चन्द्रशमशेर जिउँदै थिए भने त्यस पुतली बगैंचामा बसेर उनी प्रश्नरत हुने थिए– आफ्नै घरलाई खण्डहर बनाएर खरानीको थुप्रोसँग के खोज्ने हो ?

(यस आलेखमा उल्लेख भएका चन्द्रशमशेरमाथिका तथ्य/तथ्यांक मदनमणिद्वारा लिखित किताब ‘देशभक्त महापुरुष : श्री ३ चन्द्रशमशेर’बाट लिइएको हो ।)

नेपालका प्रधानमन्त्री

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully