वीरेन्द्रनगर — वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोलाबीचको सडक अवरुद्ध भएको हो ।
दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दहीखोला र कालिखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा ५ ठाउँमा सडक अवरुद्ध भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सुनील न्यौपानेले बताए ।
उनका अनुसार अहिले सुरक्षाकर्मी र जेसीबीले सडक खुलाउने कार्य जारी रहेको छ । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।
