उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा व्यस्त
जुम्ला — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । प्रदेशसभा सदस्यका लागि जुम्ला १ (२) मा त्रिपक्षीय प्रतिस्पर्धा रोचक हुने देखिएको छ । जहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पदम रोकाया, एमालेका टेकराज पछाई र कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर बस्नेत चुनावी मैदानमा छन् ।
रोकाया अहिले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीसमेत हुन् । रोकायाले पहिलो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्ने अवसर दिनुपर्ने भन्दै मतदाता भेटघाट गरिहेका छन् । २०७४ सालको निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकाया संसद्को विधायन समिति र सार्वजनिक लेखासमितिको सभापतिसमेत भइसकेका छन् । उनले कांग्रेस र माओवादीको मतबाट आफू विजयी हुने दाबी गरे ।
तर राजनीतिक विश्लेषकहरू भने यो पटकको निर्वाचन मन्त्री रोकायाले सोचेजस्तो नहुने बताउँछन् । उनलाई एकीकृत समाजवादीभित्रकै असन्तुष्ट पक्षले हराउनका लागि कसरत गर्ने अवस्था रहेको स्थानीय अगुवा कमल न्यौपानेले बताए । उनीमाथि प्रदेश सांसद हुँदा कार्यकर्ताको माग सम्बोधन गर्नर् नसकेको, जनताको हितभन्दा पनि नेतृत्वको वरिपरि घुमेको, जनताको विकासभन्दा पनि आफ्नो व्यक्तिगत विकासमा लागेको र पहुँचका आधारमा विकास बजेट विनियोजन गरेको आरोप छ ।
एमालेका उम्मेदवार पछाई पनि कमजोर उम्मेदवार होइनन् । लामो समय काठमाडौंमा रहेर विद्यार्थी राजनीति गरेका उनी योग्यता, क्षमता, र इमानदारितामा जिल्लामै कहलिएका नेता हुन् । निर्वाचन क्षेत्रको समृद्धिका लागि आफूलाई जिताउनुपर्ने उनको अपिल छ । एमालेका शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध भएका उनले मतदाताले जिताएको खण्डमा कुनै पनि मत खेर नजानदिने बताइरहेका छन् । ‘एमाले विभाजन भएको केही समयसम्म हामीमा सानोतिनो पीडा थियो, अहिले हामीसँग आन्तरिक विवाद केही छैनन्,’ उनले भने, ‘हाम्रा भोट त सुरक्षित छन् नै गठबन्धनका असन्तुष्ट मतदाताको मत पनि तान्ने कसरतमा हामी छौं ।’
यता ४८ वर्षदेखि कांग्रेसी राजनीतिमा होमिएर कुनै पनि अवसर प्राप्त नगरेका धनबहादुर बस्नेत कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका छन् । उनी पनि कमजोर देखिँदैनन् । गठबन्धनको उम्मेदवार रोकाया भए पनि कांग्रेसको उम्मेदवार नहुँदा कांग्रेस समर्थकको मत आफूलाई आउने उनको दाबी छ । उनी आफू कांग्रेस पार्टी विरोधी नभएको भन्दै केही व्यक्तिका कारण पछि परेकोले उम्मेदवारी दिएको जनाए । ‘कांग्रेसीजनले मात्र इमानदारसाथ मत हाले पनि म जित्न सक्छु,’ उनले भने, ‘कांग्रेस पाटीको नेतृत्व गरिरहेकाहरूको अहमता र व्यक्तिगत स्वार्थविरुद्धको मेरो उम्मेदवारी हो, मैले जित्नु नै जुम्लाका सबै कांग्रेसीले जित्नु हो ।’
जुम्ला–१ (२) मा ३१ हजार ८ सय ५५ मतदाता छन् । जसमध्ये १५ हजार ३३ महिला र १६ हजार ८ सय २२ पुरुष मतादाता छन् । तिहारलगत्तै यहाँका अधिकांश पुरुष व्यापार तथा कामको सिलसिलामा तराई तथा भारत जाने क्रम सुरु भएकाले महिला मतादाता नै निर्णायक बन्ने अनुमान गरिएको छ । यो क्षेत्रमा हिमा, सिंजा, कनकासुन्दरी र तिला गाउँपालिका पर्छन् । स्थानीय तहको निर्वाचनमा दुई पालिका माओवादी केन्द्र र दुई स्थानीय तह कांग्रेसले जितेको छ ।
