तेस्रो पटक भिड्दै ज्वाला र शाह

कार्तिक १६, २०७९

विप्लव महर्जन

सल्यान — शिक्षकबाट राजीनामा दिएर राजेन्द्रबहादुर शाह २०४३ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठसँग राष्ट्रिय पञ्चायत सदस्यका लागि उम्मेदवार बने । तर उनले चुनाव जितेनन् ।  दोस्रो पटक २०४८ सालको निर्वाचनमा क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका उनी पहिलोपल्ट निर्वाचित भए ।

२०५१ सालमा तत्कालीन एमालेका उम्मेदवार प्रकाश ज्वालालाई हराउँदै दोस्रो पटक सांसद बने । २०५४ सालमा उनी शिक्षा राज्यमन्त्रीसमेत भए । त्यसपछि लामो समय संसदीय निर्वाचनमा भाग नलिएका शाहले २०७४ मा प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट पाए र माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतसँग पराजित भए । यसपल्ट उनको पार्टी कांग्रेसले टिकट नपाएपछि उनी स्वतन्त्रबाट चुनाव लडेका छन् । २८ वर्षपछि फेरि ज्वालासँग प्रतिस्पर्धा हुँदै छ ।

ज्वाला अहिले एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव छन् । उनलाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको छ । २०३७ देखि माले हुँदै राजनीतिमा सक्रिय भएका ज्वाला २०५१ मा पहिलो पटक एमालेबाट संसदीय निर्वाचनको क्षेत्र नं १ बाट कांग्रेसका शाहसँग चुनाव लडे । उनी शाहसँग पराजित भए ।

२०५६ मा फेरि ज्वाला र शाहबीच क्षेत्र नं १ बाट प्रतिस्पर्धा भयो । त्यो बेला शाहलाई पराजित गर्दै ३१ वर्षको उमेरमा ज्वाला सांसद भए । २०६४ मा संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतसँग चुनाव लडेका ज्वाला पराजित भए । २०७० सालमा क्षेत्र नं १ छाडेर क्षेत्र नं २ बाट लडेका उनले माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मालाई पराजित गर्दै दोस्र्रो पटक चुनाव जिते ।

२०७४ सालमा पनि चुनाव जितेका उनी कर्णाली प्रदेशको अर्थिक मामिला तथा योजनामन्त्रीसमेत भए । एमाले विभाजित भएपछि समाजवादीका उपमहासचिव रहेका उनी अहिले गठबन्धनका तर्फबाट प्रतिनिधिसभा चुनावमा होमिएका छन् । प्रतिनिधि तथा प्रदेश निर्वाचनमा ६/६ पटक सम्म भाग लिने क्रममा कहिले जितेका र कहिले हारेका जिल्लाका चर्चित नेता शाह र ज्वाला अहिले तेस्रो पटक चुनावमा भिड्दै छन् । एमालेमा लामो समय राजनीति गरेका ज्वाला एमाले विभाजित भएपछि समाजवादीमा लागे भने शाहले लामो समय राजनीति गरेको कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए । 

गठबन्धनका कारण ज्वाला बलियो देखिए पनि पुराना कांग्रेसी भएकाले शाह पनि कम छैनन् । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा प्रतिनिधिसभाका लागि एक्लै ३३ हजार मत ल्याएका उनले गठबन्धनका ज्वालालाई एक्लै चुनौती दिएका छन् । हालसम्म ६ पटक निर्वाचनमा सहभागी भएका शाहले दुई पटक चुनाव जितिसकेका छन् । ज्वालाले तीन पटक जितेका छन् । 

विगतदेखि पटकपटक निर्वाचनमा भिड्दै आएका दुवै नेता अहिले प्रचारप्रसारमा जनता रिझाउन व्यस्त छन् । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस दोस्रो शक्ति थियो । गत स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको छ । स्थानीय तह निर्वाचनमा समाजवादीले एक मात्र पालिकामा जीत हासिल गरेको थियो । अहिले दुवै उम्मेदवार कांग्रेसको मत तानेर प्रतिनिधिसभा सदस्य हुने दाउमा छन् ।

 शाहले स्वतन्त्र उम्मेदवारी दिएकाले उनलाई कांग्रेसी मत नआउने स्थानीय अगुवा नीमबहादुर घर्तीले बताए । उनका अनुसार कांग्रेस, माओवादी र समाजवादी गठबन्धन गरेकाले ज्वालालाई चुनाव जित्न सहज छ । ‘शाहलाई केही मत नातेदार र उनीप्रति सहानुभूति राख्नेहरूका मात्र आउन सक्छन्,’ उनले भने, ‘उनले ५/७ हजार मत काटे पनि ज्वालाकै पक्षमा परिणाम आउने देखिन्छ ।’ एमाले फुटेपछि जिल्लामा समाजवादी पनि कमजोर भएको उनको भनाइ छ । उनले कांग्रेस र माओवादीकै भरमा ज्वाला पनि निर्वाचन लडेको उनले बताए ।  

आमनिर्वाचन २०७९

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully