भोट माग्ने बेला मात्रै गाउँ पस्ने तर अघिपछि काठमाडौं नछोड्ने नेतादेखि मतदाता निराश
सुर्खेत — कांग्रेस उपसभापति पूर्णबहादुर खड्का २०४८ देखि ०७४ सम्म ६ पटक सांसद बने । तर ०७४ सालको संसदीय निर्वाचनमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका उनको हरेक चुनावमा एमालेसँगै प्रतिस्पर्धा हुने गरेको छ ।
खड्काले आगामी निर्वाचनमा पनि क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि शाहीसँगै प्रतिस्पर्धा गर्दै छन् । खड्का गत निर्वाचनको हारको बदला लिने दाउमा छन् । शाही विजयी यात्रालाई दोहर्याउन चाहन्छन् ।
यसपटक शाहीलाई भन्दा खड्कालाई चुनाव जित्न सहज हुने देखिएको छ । ०७४ को चुनावमा शाहीको साथमा रहेको माओवादी केन्द्रले अहिले खड्कालाई सघाउँदै छ । खड्कालाई ०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमालेका उम्मेदवार शाहीले करिब ३ हजार मतान्तरले पराजित गरेका थिए । पहिलो पटक संसदीय निर्वाचनमा होमिएका शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।
खड्का २/२ पल्ट गृहमन्त्री र युवा तथा खेलकुदमन्त्री भइसकेका छन् । सञ्चारमन्त्री र उद्योग वाणिज्यमन्त्रीसमेत बने । २०३१ सालदेखि राजनीतिक यात्रा थालेका खड्का ०३४ सालमा सुर्खेत कांग्रेसको सभापति बनेका थिए । यसपटक चुनाव जितेर प्रधानमन्त्री बन्ने आकांक्षा राखेका खड्काले ७ वर्षअघि नै अब मन्त्री नबन्ने घोषणा गरिसकेका छन् । केही दिनअघि मात्रै पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्री नबन्ने कुरा फेरि दोहोर्याए । ‘मैले पहिला पनि भनेकै हुँ म अब मन्त्री त बन्दिन भनेर,’ उनले भने, ‘प्रधानमन्त्री बन्ने त जनता, भाग्य र भगवान् भरोसा छ ।’ खड्काले आफू अहिलेसम्म समन्वयकारी भूमिका निर्वाह गर्दै आएको तर अब भने हस्तक्षेपककारी भूमिका खेल्ने बताए ।
एमालेका शाही तत्कालीन गाविस अध्यक्ष हुँदै एमालेको जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हालेका नेता हुन् । अहिले उनी एमालेको कर्णाली प्रदेश कमिटीमा सचिवालय सदस्य छन् । सुर्खेत क्षेत्र नं. १ मा सिम्ता र चिन्गाड गाउँपालिका, लेकबेसी, भेरीगंगा, गुर्भाकोट नगरपालिकासँगै वीरेन्द्रनगर नगरपालिका–१५ र १६ नं. वडा पर्छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । सोही क्षेत्रमा पर्ने वीरेन्द्रनगरका दुईवटा वडामा एमाले र कांग्रेसले एक/एक वडा जितेका छन् ।
स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको आधारमा हेर्दा पनि सत्तारूढ गठबन्धन अगाडि छ । स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमालेबीच २ हजार हाराहारीको मत अन्तर देखिन्छ । तर सत्ता गठबन्धन दलको मत जोड्दा ४० हजार बढी मत हुन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले ३५ हजार ८५६ मत पाउँदा एमालेले ३३ हजार ९०५ मत पाएको छ । माओवादीका उम्मेदवारहरूले ५ हजार ५ मत पाएका छन् ।
कांग्रेस उम्मेदवार खड्कालाई चुनाव जित्न गठबन्धनको मत जोगाउनुपर्नेछ । तर शाहीले भने एमालेको मात्र नभई अन्य मतदाताको पनि मत जित्नुपर्ने हुन्छ । कांग्रेस सुर्खेतका सभापति खड्ग पोखरेलले अघिल्लो चुनाव पार्टीभित्रकै समस्याका कारण हार्नुपरेको टिप्पणी गरे । ‘अहिले गठबन्धन पनि छ,’ उनले भने, ‘पार्टीभित्रको समस्या पनि सुल्झिएकाले पनि उपसभापतिज्यूले जित्ने सम्भावना बलियो छ ।’
एमाले उम्मेदवार शाहीले आफ्नो अघिल्लो पाँचवर्षे कार्यकालमा जनताले चाहेको भौतिक पूर्वाधारको काम गरेको दाबी गर्छन् । ‘जनताले खोजेको विकासको सुरुवात मेरो कार्यकालमा भएको छ,’ उनले भने, ‘मैले गरेका ती महत्त्वपूर्ण कामलाई आधार मानेर जनताले मलाई जिताउनेछन् ।’ उनले मतदाताले युवा खोजेका कारण पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।
‘खड्काजीलाई जनताले धेरै पटक जिताएर उहाँ मन्त्री पनि बन्नुभयो,’ उनले भने, ‘तर जनताका समस्या समाधान भएनन्, भोट माग्ने बेला मात्रै गाउँ पस्ने तर अघिपछि काठमाडौं नछोड्ने नेतादेखि मतदाता निराश भइसकेका छन् ।’
