विद्यालयमा मतदान केन्द्र बनाइँदा पठनपाठनको वातावरण कम्तीमा एक साता बिग्रिने शिक्षकको गुनासो
सुर्खेत — एक दशक अघिसम्म स्थानीयस्तरमा कुनै पनि तहका निर्वाचन सम्पन्न गराउन सहज थिएन । यातायातका साधन, सडकको पहुँच, सुरक्षा व्यवस्था, खटिएका कर्मचारीको खाने–बस्ने व्यवस्थालगायत मतदानस्थलको व्यवस्थापन गर्न हम्मे पर्थ्यो । जसका कारण अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयमा राखिन्थे ।
तर एक दशकयता मतदाता बाहेक निर्वाचनमा खटिने कर्मचारीले सास्ती भोग्नु परेको छैन । तर पनि अहिले खोजीखोजी विद्यालयमा मतदान केन्द्र कायम गर्न थालिएको छ ।
विद्यालयमा मतदान केन्द्र कायम गरिँदा झन्डै एक साता विद्यार्थीको पठनपाठन अवरुद्ध हुने गरेको छ । सिम्ता–४ का कविराम केसीले विद्यालयमा मतदानस्थल कायम गर्दा २/३ दिन बिदा हुने भए पनि अरू व्यवस्थापनका कामले कम्तीमा १ साता पठनपाठन अवरुद्ध हुने गरेको बताए । ‘पहिला पो विद्यालयबाहेक अरू सार्वजनिक ठाउँ खासै थिएनन्,’ उनले भने, ‘अब त स्थानीय सरकार र वडा कार्यालयका भवनहरू पनि मतदानस्थलको रूपमा प्रयोग गर्न सकिन्छ ।’ विद्यालयमा मतदान केन्द्र बनाइँदा त्यहाँको पठनपाठनको वातावरण कम्तीमा एक साता बिग्रिने गरेको आधारभूत विद्यालय बरेलीका शिक्षक सन्तोष केसीले बताए ।
अहिले पनि विद्यालय नै सुरक्षित हुने गरेकाले मतदानस्थलमा विद्यालयलाई नै प्राथमिकता दिने गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ‘एक दशकअघिसम्म मतदानस्थलमा कर्मचारीलाई खान बस्न र अन्य व्यवस्थापन गर्न कठिन हुन्थ्यो, विद्यालयहरूमा मतदान केन्द्र राख्दा विद्यालयका बेन्चमै पनि सुत्न सकिन्थ्यो,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘अबका दिनमा कर्मचारीले खटनपटनमा पनि भनसुन गर्नुपर्दैन, तर अन्य ठाउँमा सुरक्षाका लागि मतदानस्थलको घेराबार, अस्थायी शौचालय निर्माण, सुरक्षाकर्मीहरूको व्यवस्थापन, महिला कर्मचारीको व्यवस्थापनलगायत काम गर्नुपर्ने भएकाले विद्यालयमा नै मतदान स्थल कायम गरेका छौं ।’
प्रदेश निर्वाचन कार्यालयले सुर्खेतका २ निर्वाचन क्षेत्रका १ सय ३९ मतदानस्थलमध्ये १/१ वडा कार्यालय, स्वास्थ्यचौकी, क्याम्पसमा मतदान केन्द्र कायम गरेको छ । बाँकी १ सय ३६ वटा विद्यालयमा मतदानस्थल बनाइएको छ । मतदान केन्द्र नजिकै रहेका स्थानीय सरकारका नवनिर्मित भवनहरूले पनि निर्वाचनमा खटिएका कर्मचारी आवासमा सहज बनाएको प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए ।
जिल्ला सुरक्षा समितिले सुर्खेतका १ सय ३९ मतदान स्थलमध्ये २० वटा अति संवेदनशील, ८६ वटा संवेदनशील र ३३ वटा सामान्य मतदानस्थलको रूपमा वर्गीकरण गरेको छ । निर्वाचन गराउन नेपाली सेनालाई पश्चिम सुर्खेतको गुटु र बाबियाचौरमा अस्थायी क्याम्प खडा गरिनेछ । पूर्वमा छिन्चुस्थित सेनाको गणले सुरक्षा दिनेछ ।
निर्वाचनमा सुरक्षाका लागि १ हजार ४ सय १७ म्यादी प्रहरी, ३ सय ७४ सशस्त्र प्रहरी र ८ सय ८३ नेपाल प्रहरी खटाउने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वताए । उनका अनुसार मतदानस्थलको तत्काल सुरक्षा दिने गरी आधा घण्टामै हरेक मतदानस्थलमा नेपाली सेनाको टोली पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
