चन्दननाथमा नेकपा एस, राप्रपा र स्वतन्त्र उम्मेदवारबीच तालमेल

वैशाख १६, २०७९

डीबी बुढा

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिकामा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारबीच तालमेल भएकाे छ । जुम्लामा पत्रकार सम्मेलन गर्दै तीन पक्षबीच तालमेल भएकाे जानकारी गराइएकाे थियाे ।

स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतलाई नगरप्रमुखमा सघाउने गरी तालमेल भएकाे राप्रपा कर्णाली प्रदेश काेषाध्यक्ष श्रीकृष्ण बुढाले जानकारी दिए । उनका अनुसार उपप्रमुखमा एकीकृत समाजवादीका भिम थापालाई सघाउने सहमति भएकाे हाे ।

एकीकृत समाजवादीका २८ वर्षीया मेयरका उम्मेदवार जयालक्ष्मी चाैलागाईं उम्मेदवारी फिर्ता गरेकी छन् । राप्रपाका मेयरका उम्मेदवार पूर्णसिंह कठायत र उपमेयरका उम्मेदवार गीता शाहीले उम्मेदवारी फिर्ता लिएका हुन् । उपमेयरका उम्मेदवार भिम थापाका अनुसार चन्दननाथ १ मा एकीकृत समाजवादीका दयादत्त हमाल,२ मा स्वतन्त्रका रत्न भण्डारी, ३ मा समाजवादीका माधवप्रसाद तिमलसेना,४ मा राप्रपाका श्रीकृष्ण बुढा, ५ मा स्वतन्त्रका पूर्णप्रसाद श्रेष्ठ, ६ मा समाजवादीका कृष्णबहादुर थापा, ७ मा गणेश महत, ८ मा हरिश्चन्द्र थापा, ९ मा सुन सार्की छन् ।

वडा नं १० मा समाजवादीका बसन्तजंग शाह र स्वतन्त्रबाट चन्द्रबहादुर विष्ट छन् । उनीहरू बीचमा सहमति कायम गर्न छलफल भएकाे जनाएकाे छ । सुन्दर र हराभरा नगर, भ्रष्टाचार मुक्त नगर, विकासमा अब्बल नगर बनाउने गरी तालमेल भएकाे स्वतन्त्र उम्मेदवार कठायतले जानकारी दिए । कठायतले कांग्रेसले उम्मेदवार नबनाएकाे भन्दै स्वतन्त्रमा उम्मेदवारी दिएका थिए ।उनी कांग्रेसकाे महाधिवेशन प्रतिनिधि, कर्णाली प्रदेशसभा सदस्यका प्रत्यासी र दुईदुई पटक मेयरकाे उम्मेदवारकाे लागि एक नम्बर सिफारिस भएका व्यक्ति हुन् ।

नगरपालिकामा मात्र तालमेल भएकाे एकीकृत समाजवादीले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully