पहिरोले गमगढी–छाइल सडक अवरुद्ध

असार १, २०७८

राजबहादुर शाही

मुगु — जिल्लामा दुई दिनदेखिको निरन्तर वर्षासँगै १२ ठाउँमा पहिरो जाँदा गमगढी छाइल सडक अवरुद्ध बनेको छ । पहिरोले सडकअवरुद्ध हुँदा सवारी साधनसहित स्थानीयलाई गमगढी आउजाउ गर्न मुस्किल भएको छ ।

वर्षातले गमगढी छाइल सडकखण्डको भट्टडाँडी, सालिम खोला, नाकेभीर, सुनाथ, कम्फा खोला, छाइलबारी लगायतका १२ स्थानमा पहिरो खसेको छ ।

सडक अवरुद्ध भएपछि मुगुमकार्मारोङ गाउँपालिकाबाट जिल्ला अस्पतालसम्म कोरोना संक्रमितका बिरामीलाई ल्याउन र लैजान एम्बुलेन्स सेवा ठप्प भएको छ । 

गमगढीदेखि छाइल बजारसम्मको १८ किलोमिटर सडकसम्म सवारीसाधन सुरु हुँदा दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न एम्बुलेन्स सेवा सुरु गर्न सहज भइरहेको अवस्थामा पहिरोले कठिन अवस्था उत्पन्न भएको छ । 

पहिरोले सडक अवरुद्ध हुँदा मुगुम गाउँपालिकामा कार्यरत कर्मचारीहरु गाउँपालिकाको केन्द्र रहेको पुलुसम्म आउजाउ गर्न मुस्किल भएको छ । सडक अवरुद्ध हुँदा कर्मचारीलाई गमगढीदेखि गाउँपालिकामा सम्म आउजाउ गर्न गाह्रो अवस्था उत्पन्न भएको मुगुमकार्मारोङ गाउँपालिकाका इन्जिनियर प्रेम बुढाले बताए ।

गमगढी छाइल सडकखण्डको १२ स्थानमा आएको पहिरो पन्छाएर सडक खुलाउन अलिक समय लाग्ने मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । 

बाढी-पहिरो

राजबहादुर

Link copied successfully