एक साताका लागि जिल्ला प्रशासन कार्यालय सल्यान बन्द

कार्तिक १३, २०७७

विप्लव महर्जन

सल्यान — कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि जिल्ला प्रशासन कार्यालय सल्यान बन्द गरिएको छ ।

कार्यालयले सूचना प्रकाशन गरी बिहीबारदेखि कात्तिक २० गतेसम्मका लागि सबै सेवा बन्द गरेको हो ।

अरु कर्मचारी र सेवाग्राहीमा कोरोना संक्रमणको जोखिम देखिएपछि सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए ।

उनका अनुसार एक सातासम्म शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत अति आवश्यक काम मात्र हुनेछन् । सल्यानमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण देखिएकोमा ४ सय १ जना उपचारपछि घर फर्किएका छन् ।

९९ जनाको विभिन्‍न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए ।

कोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully