पहिरोले ७ घर पुरिए, घाइतेहरुको हेलिकप्टरबाट उद्दार हुँदै
दैलेख — जिल्लाका २ पालिकामा पहिरोका कारण २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलबार राति खसेको पहिरोले ७ वटा घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गैरागाउँको पहिरोमा १२ वर्षीय जनक कठायतको मृत्यु भएको हो भने ११ वर्षीय लोकेश कठायत बेपत्ता छन् । पहिरोमा परि मृतकका बाबु ४२ वर्षीय टिका कठायत, ४० वर्षीया आमा धनसरा कठायत, १७ वर्षीया दिदी बेल कठायत र १५ वर्षका दाइ शम्शेर कठायत घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिएको छ ।
पहिरोले गाउँका सबै घर जोखिममा परेपछि १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । ‘लगातार वर्षा भइरहेकाले उद्दारमा समस्या भएको छ,’ उनले भने, ‘प्रहरी र स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेका छन् ।’
त्यस्तै, भगवतीमाई गाउँपालिका–५, कट्टीमा मंगलबार राति गएको पहिरोले घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ ।
यसैगरी नौमूले गाउँपालिका–५ स्थित भित्रीखोलामा बाढीले बगाएर एक पुरुषको शव फेला परेको डीएसपी ओलीले बताए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
