वीरेन्द्रनगर — कर्णालीमा पछिल्लो समय हरेक एक सय जनाको स्वाब (आरटी–पीसीआर) परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिने गरेको छ । जेठ ५ गते पहिलो केस देखिएयताको परीक्षण रिपोर्टको तथ्यांक हेर्दा यस्तो देखिएको हो ।
सुर्खेतको कर्णाली प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा जेठ ५ देखि बिहीबारसम्म ७ हजार ४ सय ७८ जनाको स्वाब परीक्षण भएको छ । तीमध्ये बिहीबारसम्म ३ सय ८९ (५ दसमबल २० प्रतिशत) जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता भण्डारी परीक्षणको दायरा बढाउँदै लग्दा नयाँ केसहरु पनि देखिने क्रम बढेको बताउँछिन् ।
‘प्रदेश सरकारका साथै स्थानीय तहहरुले पनि भीटीएम खरिद गरेर स्वाब संकलन गरी पठाइरहेका छन्, भारतबाट आएका अधिकांश व्यक्तिहरु जोखिममा भएकाले परीक्षण रिपोर्ट पोजिटिभ आएको हुनसक्छ,’ उनले भनिन्, ‘चैत र वैशाख महिनामा भारतलगायत देशबाट आएका सबैको स्वाब परीक्षण गरिए पनि संक्रमण देखिएको थिएन ।’ पछिल्लो समय विशेष गरी बनाबासा नाका भएर आउने व्यक्तिमा संक्रमण देखिएको उनले बताइन् ।
भारतमा रेल तथा बस सेवा सुरु भएपछि जेठ ३ गतेदेखि भारतका विभिन्न स्थानमा रहेका कर्णालीबासी फर्किन सुरु गरेका थिए । उक्त दिन संकलन गरिएको स्वाबको परीक्षण रिपोर्ट ५ गतेदेखि आउन थालेको थियो । दैलेखको आठबीस नगरपालिकास्थित एक विद्यालयको क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कर्णालीमा कोरोना जोखिम बढेको थियो ।
कर्णालीमा पहिलो संक्रमण पुष्टि भएको दुई दिनसम्म नयाँ केस देखिएनन् । जेठ ६ र ७ गते सुर्खेत तथा जुम्लाको प्रयोगशालामा १ हजार १ सय ५६ जनाको स्वाब परीक्षण गरिएको थियो । जेठ ८ गते भने ३ जना नयाँ संक्रमित थपिए । ९ गते ५ जना र १० गते २ जना थपिएपछि कर्णाली ढुक्क रहन सकेन । प्रयोशाला परीक्षण रिपोर्ट हेर्दा त्यसपछि संक्रमितको संख्या दोब्बरले बढ्दै गएको देखिन्छ । ११ गते १२ जना र १३ गते २३ जनामा संक्रमण पुष्टि भयो ।
जेठ दोस्रो सातासम्म जुम्लास्थित प्रयोगशालाले माथिल्लो कर्णाली क्षेत्रमा पर्ने हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका मात्र स्वाब परीक्षण गरिरहेको थियो । त्यतिबेलासम्म पछिल्लो समय भारतबाट आएका व्यक्तिहरु ती जिल्ला पुगिसकेका थिएनन् । जुम्लाले पनि भारतबाट आएका व्यक्तिका साथै सुर्खेत–दैलेखमा संकलित स्वाब परीक्षण गर्न थालेपछि भने जेठ १६ गतेदेखि संक्रमितको संख्या ह्वात्तै देखिन थाल्यो । उक्त दिन सुर्खेत र जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा ९१ जना नयाँ संक्रमित थपिएका थिए । १७ गते १ सय १२ जनामा र १८ गते १ सय ७ जनामा कोरोना पुष्टि भयो ।
‘विशेष गरी भारतबाट आउने व्यक्तिको स्वाब परीक्षण थालिएपछि संक्रमण दर बढेको देखिन्छ,’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, ‘पहिले गरिएको परीक्षणमा यस्तो रिपोर्ट शून्य थियो ।’ भारतबाट आउनेहरु सामूहिक रुपमा बस्ने, खाने र सुत्ने गरेका तथा क्वारेन्टाइनमा पनि बसाइँ व्यवस्थित नभएकोले संक्रमण बढेको उनले बताए ।
जेठ १९ गते १ हजार ५८ जनाको स्वाब परीक्षण भए पनि सबै रिपोर्ट नेगेटिभ आउँदा राहत मिलेको कर्णालीमा लगत्तै संक्रमितको संख्या बढ्न थाल्यो । २० गते १६ र २१ गते २१ वटा पोजिटिभ केस देखा परे । २२ गते (बिहीबार) भने एकैपटक १ सय १४ केस थपिए । योसँगै संक्रमितको संख्या ३ सय ८९ पुग्यो ।
भारतबाट आएका अधिक
जुम्लाका दुई जना प्रहरी र सुर्खेतका एक विद्यार्थीमा संक्रमण देखिएसँगै कर्णालीमा पनि कोरोना संक्रमण समुदायमा प्रवेश गरिसकेको छ । यद्यपि भारतबाट आएका व्यक्ति नै संक्रमणका प्रमुख स्रोत हुन् । अहिले पनि मान्छेहरु आउने क्रम नरोकिएको र क्वारेन्टाइनको बसाइँ अस्तव्यस्त भएकोले संक्रमितको संख्या बढ्ने सरकारको आकलन छ ।
मुख्यमन्त्री कार्यालयले बिहीबार अपडेट गरेको विवरणअनुसार लकडाउन सुरु भएयता कर्णालीमा ३३ हजार १ सय ४० जना व्यक्ति भारतबाट आएका छन् । तीमध्ये ५ हजार ७ सय ७६ जना चैतदेखि वैशाख मसान्तसम्म भित्रिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको तथ्यांकमा उल्लेख छ । अहिले पनि कर्णालीका विभिन्न जिल्लामा ३२ हजार ९ सय ५२ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
