रूकुम पश्चिममा परीक्षण किट सकिँदै 

वैशाख १०, २०७७

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा किट अभावमा कोरोना परीक्षण प्रभावित हुने देखिएको छ । बुधबार ७० जनाजतिको परीक्षण गरेपछि किट सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार किट उपलब्ध गराइदिन आग्रह गर्दा प्रदेश सरकारले समेत अभाव रहेको भन्दै दिन सकिरहेको छैन । कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईले किट अभावमा अबको परीक्षण अघि बढ्न नसक्ने बताए । ‘किट माग गरिएको र ल्याउनका लागि मान्छेसमेत सुर्खेत पठाइएको छ,’ उनले भने, ‘किट नआए बिहीबारदेखि नै परीक्षण रोक्नुपर्ने अवस्था छ ।’

हालसम्म जिल्लामा ४ सय ५० आरडीटी किट आएका छन् । तर परीक्षण ७ सय ५७ जनाको भइसकेको छ । दुई जना शंकास्पद देखिएपछि परीक्षणका लागि सुर्खेतबाट आएको टोलीले अतिरिक्त किट ल्याएकाले बढीको परीक्षण गर्न सकिएको कार्यालयले जनाएको छ ।

अहिलेसम्म आरडीटीमार्फत ६ सय ५१ र पिसिआरमार्फत १ सय ६ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला भित्रिएकाहरूसहित तत्काललाई २ हजार ५ सयभन्दा बढीको परीक्षण गर्ने कार्यालयको तयारी छ । भारत तथा तेस्रो मुलुकबाट आएकाहरू, उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेका, अरू जिल्लाबाट आएकाहरू, कार्यस्थलमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिसमेतलाई परीक्षण गरिने कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

जिल्लामा ५ सय ५३ जना भारत तथा अन्य तेस्रो मुलुकबाट आएकाहरू छन् । तथ्यांकमा नसमेटिएका अरू पनि व्यक्ति गाउँ पुगेका हुन सक्छन् । परीक्षणका लागि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिरहेको छ ।

हरि

Link copied successfully