मार्सी धानको बीउ राख्दै जुम्ली किसान

चैत्र २०, २०७६

एलपी देवकोटा

जुम्ला — सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशलाई नै लकडाउन गरेको छ । लकडाउनको प्रभाव जुम्लाको सदरमुकाम खलंगामा भए पनि गाउँतिर भने खासै छैन । 

जुम्ली किसानहरु आज आफ्नो कृषि क्यालेन्डर अनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेका छन् । जुम्ली कालिमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको स्थानीय जानकार रमानन्द आचार्यले बताए । 


‘चैत १२ गते घर नपुग्या जुम्ली मर्यो ठान्नु’ अर्थात् विभिन्न कामको सिलसिला र रोजगारीको लागि जिल्ला बाहिर गएका व्यक्तिहरु अनिवार्य रुपमा मार्सी धानको बीउ भिजाउने बेला घर पुग्नै पर्ने चलन थियो । आचार्यले भने, ‘पहिले पहिले चैत १२ गते घर नपुग्नेहरुको किरिया गर्ने चलन नै थियो । चैतपछि गर्मीले औलो लागेर जुम्लीहरु मर्थे तर अहिले परिस्थिति फेरिएको छ ।’ बीउ राख्नकै लागि भनेर कामको सिलसिलामा भारत गएकाहरु पनि चैतको ५/६ गते नै जुम्ला फर्किने लर्को लागेको उनले बताए । 


बीउ राख्नकै लागि भनेर समयमै घर फर्किएको सिञ्जाका स्थानीय शिव न्यौपानेले बताए । ‘म त अलि अगाडि घर फर्किएर बीउ भिजाउने समय पाएँ,’ उनले भने, ‘तर पछि आउने साथीहरु कोही अहिले क्वारेन्टाइनमा बसिरहेका छन् त कोही सिधै घरमा आएर आज बीउ बेर्नामा छर्किंदै छन् ।’ 


 जुम्लाका आठ वटै स्थानीय तहमा धान खेती हुन्छ । कोरोना भाइरस संक्रमणको त्रास भए पनि अधिकांश किसान त्यसको बेवास्ता गर्दै खेतमा जम्मा हुन थालेका छन् । बिहानै बीउ छर्केर विसुवा पर्व मनाइरहेका छन् । विसुवामा जुम्लाका किसानले धानको बीउ बेर्नाका लागि राखेका छन् । 


विसुवा पर्वमा जुम्लीहरुले कालिमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार पूर्णसिंह कठायतले बताए । ‘विक्रम संवत् ११९८ सालदेखि चन्दननाथ बाबा र लछालकृति पैकलाले कालिमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ,’ उनले भने, ‘परम्परादेखि नै बाजा बजाएर कालिमार्सी धानको बीउ छर्ने चलन छ ।’ यसलाई स्थानीय पर्वको रुपमा लिइन्छ । 


धान खेतीको चक्र चैत महिनाको १२ गतेबाट सुरु हुने र चैतमा बेर्नाका लागि बीउ राखी जेठ असारमा रोपिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘जिल्लाभरि एकै दिन छर्किने गरिन्छ,’ उनले भने, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ । वैज्ञानिक हिसाबले पनि आजको दिन बीउ बेर्नामा राख्नै पर्छ ।’ 


जिल्लामा यो वर्ष २ हजार ८ सय हेक्टरमा धान खेती हुने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लामा ५ हजार ६ सय मेट्रिक टन धान उत्पादन हुन्छ । घरपरिवारले टीकाटाला गरेर बेर्ना बीउ छर्न जाने गरेको स्थानीय गोविन्द आचार्यले बताए । ‘आजको दिनलाई सामाजिक पर्वको रुपमा लिइन्छ,’ उनले भने, ‘पहिले पहिले महिलाहरुलाई अघि पछि निकै काममा खटिनु पर्ने भएकोले विसुवालाई माइत बिसाउनी समेत भनिथ्यो ।’ 


चैत महिनादेखि कामको सिजन हुने भएकोले यहाँका छोरी चेलीले माइत जान पाउँदैनन् । छोरी चेलीहरुले खोलाको छेउमा र ज्युलाको कुनामा गएर देउडा लगाउने परम्परागत मान्यता छ । एकआपसमा रमाइलो गरी सुखदुःख साट्ने गर्दछन् । तर लकडाउनको समय भएकाले अहिले बीउ मात्र राख्न थालेका छन् । 

लकडाउनकोरोना भाइरस

एलपी

Link copied successfully