काठमाडौँ — दक्षिण एसियाली मुलुकहरुले कोभिड–१९को महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौं बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफले बताएको छ ।
युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले पारेको प्रभावबारे अध्ययन गरेको छ ।
बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै युनिसेफले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवाहरूलाई प्रगतिको अवस्थामा फर्काउन नसकेमा कोभिड–१९ महामारीको विनाशकारी प्रभावहरू दशकौंसम्म रहिरहने बताएको छ ।
मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदूषण जस्ता जलवायुसम्बन्धी जोखिमहरूले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ । ‘हाम्रो क्षेत्रले हालैका दशकहरूमा बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धीहरू अहिले जोखिममा छन्,’ दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया एडजेईले भनिन् ।
उनका अनुसार तत्काल ठोस कदम चाल्न असफल भए कोभिड–१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकहरूमा महसुस हुनेछ । ‘तर तत्काल कार्य गर्यौं भने हामीले अवसरहरूको पुन: प्राप्ति मात्र नभई दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौँ,’ उनले भनिन् ।
युनिसेफका अनुसार बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीको लागि पनि तयारी अवस्थामा रहनु पर्छ ।
प्रतिवेदनले बालबालिकाको प्रगतिलाई पहिलेकै अवस्थामा पुर्याउन र दक्षिण एसियाका प्रत्येक बालबालिकाको राम्रो भविष्य निर्माण गर्न आवश्यक पर्ने मुख्य कार्यहरूकहरुमा बाल–संवेदनशील सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा, विशेष गरी सबैभन्दा जोखिममा रहेका बालबालिका र तिनीहरूका परिवारहरूका लागि लगानी विस्तार गर्नुपर्ने बताउँछ ।
साथै बालबालिकाको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालयहरूमा व्यक्तिगत रूपमा सिकाइलाई पुन: सुरु गर्ने, बालबालिकालाई घातक तर उपचार गर्न सकिने रोगहरूबाट जोगाउन र दक्षिण एसियाको बाल पोषण संकटलाई उल्टाउन एकीकृत राष्ट्रिय स्वास्थ्य र पोषण प्रणालीलाई बलियो बनाउने कार्य गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
