८०% कोरोना संक्रमित विशेष उपचारबिनै निको

गम्भीर अवस्थामा कोभिड–१९ को संक्रमण ३ देखि ६ सातासम्म रहन सक्छ 
अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रसले अधानोम ग्रेहबेयससले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई औंल्याउँदै ‘आफूहरूले खतराको घन्टीलाई चर्को रूपले बजाएको’ बताएका छन् । कोरोना भाइरस परिवारबाट फैलिएको पहिलो महामारी, कोभिड–१९ अब कुनै पनि दिशातर्फ अघि बढ्न सक्ने उनले बताए । 

डा. टेड्रोसले बुधबार जेनेभामा भर्चुअल पत्रकार सम्मेलनमा बताएअनुसार पछिल्लो दुई सातामा चीनबाहिर यो संक्रमण १३ गुणा बढेको छ भने प्रभावित मुलुकको संख्यामा समेत व्यापक वृद्धि भएको छ । उनले अगामी दिनमा संक्रमित र मृतक संख्यासहित प्रभावित मुलुकको संख्या अझै बढ्ने चेतावनी पनि दिए ।


कोभिड–१९ को यो भयावह अवस्था एक्कासि आएको भने हैन । विश्वभर अंग्रेजी नयाँ वर्ष २०२० मनाउने तयारी चलिरहँदा डिसेम्बर २९ मा चिनियाँ अधिकारीले वुहान सहरको एउटा समूहमा ‘निमोनिया’ जस्तै समस्या देखे । यो समस्या नयाँ कोरोना भाइरसका कारणले हुने पत्ता लाग्यो । पछि यसलाई कोभिड–१९ नाम दिइयो । चीनबाहिर थाइल्यान्ड र जापान हुँदै फैलिइएको कोभिड–१९ विश्वका १ सय ४० भन्दा बढी राष्ट्रमा पुगिसकेको छ । रोकथामका कडा उपाय अपनाएपछि चीनमा लगभग नियन्त्रण हुन लागे पनि विश्वको अन्य भागमा भने तीव्र गतिमा फैलिइरहेको छ ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ लाई गत बुधबार विश्वव्यापी महामारी घोषणा गरेपछि नेपालले समेत थप सतर्कता, तयारी र आम नागरिकबीच सजगता अपनाउन आवश्यक देखिएको छ । हालसम्म चीनबाट फर्केका एक विद्यार्थीलाई यो संक्रमण देखिए पनि उनी पूर्ण स्वस्थ भइसकेका छन् । उनीबाहेक नेपालमा हालसम्म थप संक्रमण देखिएको छैन ।


इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुर हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण नदेखिए पनि भोलिका दिनमा यसले व्यापक रूप लिन सक्ने जोखिम रहेको बताउँछन् । उनका अनुसार मुलुकको अस्तव्यस्त स्वास्थ्य सेवा र भेन्टिलेटरसहितको आईसीयू अभावकै बीच संक्रमण देखिए स्थिति कस्तो होला, सहजै अनुमान गर्न सकिँदैन । छिमेकी भारतमा संक्रमित संख्यामा वृद्धि भइरहेको र एक जनाको मृत्युसमेत भइसकेकोले नेपाल पनि संक्रमणबाट मुक्त रहन सक्ने सतप्रतिशत स्थिति नरहेको उनी बताउँछन् । यसैले सरकार र आम नागरिकले समेत यो रोग मुलुकमा फैलिन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको डा. ठाकुर औंल्याउँछन् ।


कोभिड–१९ लाई रोक्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संक्रमणको कडी तोड्ने (ब्रेक द चेन अफ ट्रान्समिसन) रणनीति अपनाइरहेको छ । डा. टेड्रसका अनुसार यो रणनीतिअन्तर्गत यथाशीघ्र संक्रमण पत्ता लगाएर बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छ । यसै रणनीतिले चीनमा संक्रमण दर घट्दो छ ।


‘कोभिड–१९’ संक्रमणविरुद्घ हालसम्म कुनै खोप र विशिष्ट उपचार पत्ता लागेको छैन । संक्रमितमा देखिने लक्षणका आधारमै उपचार गरिँदै आएको छ । डा. टेड्रसका अनुसार विश्वभर करिब २० वटा खोप र केही औषधि विकासको क्रममा छन् । केही महिनाभित्रै कोरोनाको खोप आउन सक्ने भए पनि हाललाई भने यसबाट बच्नु नै महत्त्वपूर्ण हुने उनी बताउँछन् ।


कोभिड–१९ को सामान्य लक्षण ज्वरो आउनु र सुक्खा खोकी लाग्नु हो । हालसम्मको अध्ययनअनुसार कोभिड–१९ संक्रमण लाग्ने संक्रमितलाई सायदै रुघा लाग्ने हुन्छ । आधा लाखभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनअनुसार यसको संक्रमण प्रभावित करिब ९० प्रतिशत मामिलामा ज्वरो देखिएको छ भने दुई तिहाइ व्यक्तिलाई सुक्खा खोकी (ड्राई कफ) समेत देखिएको छ । थकान महसुस हुनु पनि यसको सामान्य लक्षण हो । करिब ४० प्रतिशत संक्रमितमा थकान देखिएको छ ।


कोभिड–१९ संक्रमित हरेक तेस्रो व्यक्तिले खोक्दा खकार आउने गरेको अनुभव गरेका छन् । करिब ५ जना प्रभावितमध्ये एक जना अर्थात् १८ प्रतिशतले सास फेर्न असजिलो हुने अनुभव गरेका छन् । कोभिड–१९ को भाइरस शरीरमा प्रवेश गरेको ५–६ दिनमा यसको लक्षणको विकास हुने गरेको छ । यसको औसत लक्षण ५ देखि ६ दिनमा देखिने भए पनि १४ दिनपछि पनि लक्षण देखिन सक्ने डब्लूएचओले जनाएको छ ।


डब्लूएचओका अनुसार औसत रूपमा यो रोग दुई सातासम्म रहन्छ । तर गम्भीर मामिलामा यो समय तीनदेखि छ सातासम्म हुन सक्छ । संक्रमणले मृत्यु हुनेबारे अध्ययन गर्दा लक्षण देखिएदेखि मृत्युसम्मको समय दुईदेखि आठ सातासम्मको थियो । कोभिड–१९ मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) फैलिने प्रक्रियाजस्तै संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा श्वासप्रश्वासको माध्यमले फैलिन्छ । यो मुख, नाकबाट निस्किने पानीका ससाना कण (ड्रप्लेट) बाट एक व्यक्तिबाट अर्को निकट सम्पर्कमा रहेको व्यक्तिमा फैलने गरेको छ । प्रत्यक्ष रूपमा नाक, मुखबाट निस्किने पानीका स–साना थोपालाई श्वासप्रश्वासका माध्यमले शरीरमा तान्दा यो संक्रमण हुन्छ ।


यसबाहेक नाक, मुखबाट निस्किने यस्ता पानीका थोपा कुनै वस्तु वा सतहमा पर्दा त्यसलाई छुने स्वस्थ व्यक्तिको हातसमेत जीवाणुले संक्रमित हुन्छ । यस्तो हातले पुनः आँखा, नाक, मुख छुँदा जीवाणु शरीरमा प्रवेश गर्छ । खोक्दा, हाच्छिउँ गर्दा निस्किने पानीको स–साना थोपामा यस्तो भाइरस हुन्छ । त्यसैले रुघाखोकी लागेका बिरामीसँग न्यूनतम एक मिटरको दूरी कायम राख्दा र नियमितरूपमा साबुनपानीले हात धुने गर्दा श्वासप्रश्वासको माध्यमले हुने संक्रमणको जोखिम कम हुन्छ ।


डब्लूएचओका अनुसार धेरैजसो व्यक्ति अर्थात् करिब ८० प्रतिशतमा विशेष उपचार नभएरै कोभिड–१९ रोग निको हुन्छ । संक्रमण भएका ६ जनामध्ये एकजना गम्भीर रूपमा बिरामी पर्छन् र उनीहरूमा सास फेर्न समस्या देखिन्छ । बूढापाका र उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह आदि भएकाहरू गम्भीर रूपमा बिरामी हुन सक्छन् ।


डा. टेड्रसका अनुसार हालसम्मको विभिन्न तथ्यांकअनुसार ६० वर्षमाथिका मुटु र रक्तनलीका रोग भएका, मधुमेह, श्वासप्रश्वास, क्यान्सर, दीर्घरोगीमा संक्रमण कडा रूपमा देखिएको छ । हालसम्म संक्रमितको तथ्यांकलाई विश्लेषणअनुसार बालबालिका कोभिड–१९ बाट धेरै कम प्रभावित देखिएका छन् । ९ वर्ष सम्मका बालबालिकामा यो संक्रमणले मृत्यु भएको देखिएको छैन भने १० देखि १९ वर्ष उमेरका व्यक्तिमा ०.२ प्रतिशत मात्र मृत्युदर देखिएको छ ।


डा. टेड्रोसले सबै मुलुकलाई आपतकालीन प्रतिक्रिया प्रणाली अपनाउन आग्रह गरेका छन् । बिरामी व्यक्तिसँग दूरी कायम राख्नु, श्वास–प्रश्वास र हातसम्बन्धी स्वच्छताको नियम अपनाउनुलगायत बचाउका उपाय फाइदाजनक हुने डब्लूएचओले जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे हात धुने, श्वासप्रश्वासम्बन्धी स्वच्छताको बानी अँगाल्दा यो संक्रमणबाट धेरै हदसम्म बच्न सकिने बताउँछन् । प्रकाशित : चैत्र १, २०७६ ०८:११

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘कलाकार प्रमाणपत्र चाहियो’

आश गुरुङ

लमजुङ — नेपाली लोकगीतका मूर्धन्य नाम हो बिमाकुमारी दुरा । जीवनमा अनेकन भोगाइबाट अघि बढेकी उनले सिंहदरबार र विमानस्थलमा अनेकन दुःख खेप्नुपरेको गुनासो गरिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले बेंसीसहरमा बिहीबार १९ औं वार्षिकोत्सव मनाइरहँदा दुराले दुःख बिसाइन् । भनिन्, ‘सिंहदरबार र विमानस्थलमा छिर्नै गाह्रो हुन्छ । हामी कलाकार हौं भनेर झगडा गर्ने कुरा पनि भएन । कलाकार भनिहाले पनि प्रमाणपत्र माग्छन् । हामीसँग छैन । नेपाली कलाकारको प्रमाणपत्र केही पनि हुँदैन ।’

‘विदेशी सिस्टममा हेर्ने हो भने उनीहरूलाई सरकारले सम्मान दिएको हुन्छ । नेपाली कलाकारको प्रमाण केही हुँदैन,’ उनले भनिन्, ‘नेपालभित्र मात्रै हामी कलाकार हो भन्ने छ । नेपालभित्र कलाकार भए पनि सिंहदरबारभित्र जाँदा यति दुःख हुन्छ कि, हाम्रो प्रमाणपत्र केही पनि छैन । केले जाने त ? दोहोरी गीत प्रतिष्ठानचाहिँ अलिकति गम्भीर हुनुपर्ने लाग्छ मलाई ।’

सिंहदरबारभित्र पस्दा कैयौंपटक उभिनुपरेको, जान नसकेको उनले सुनाइन् । ‘म दुई वर्षअघि बेलायत गएको थिएँ । त्यहाँ एउटा भवनमा इन्डियादेखिका कलाकारको सबैको मूर्ति खडा छ । नेपालका कोही छैनन् । नारायणगोपाल, तारादेवीलाई सम्झिएँ । गोपाल योञ्जनहरूलाई सम्झिएँ,’ उनले भनिन् ।

कलाकारलाई प्रमाणपत्र चाहिन्छ भन्नेबारे एउटा व्यक्तिले गरेर केही नहुने बरु संसद्भित्र कुरा उठाइनुपर्ने उनले बताइन् । प्रमाणपत्र भएदेखि म पनि बिमाकुमारी दुरा हुँ भन्न पाउने उनको भनाइ थियो । लोक गायनका बादशाह भनेर चिनिने राजु परियारले अनेक संघर्ष गरेर कलाकार देश र नागरिकको सेवामा जुटे पनि राज्यले हेर्ने दृष्टिकोणमा सकारात्मक हुन नसकेको बताए । ‘हामीले गर्ने भनेको देशका लागि हो । गाउने देशका लागि हो, देश चिनाउने हो,’ कुराकानीमा उनले भने, ‘कलाकारको सम्मान हुन सकेको छैन ।

लोकसंस्कृति, लोकगीत र लोकभाकाको सम्मान हुन सकेको छैन ।’ भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) जस्ता ठाडोभाका गाएर जीवन समर्पण गर्ने कलाकारको संरक्षण, ठाडोभाका संरक्षण र सम्वर्द्धन हुन नसकेको उनले बताए ।

पूर्वसांसद जमीन्द्रमान घलेका अनुसार पहिले गाउँघरका रोधींमा गाइने भाका नै पछिल्लो समय लोकगीत हुन आएको हो । ‘हामी रोधींमा लोकगीत गाउँथ्यौं । ती भाकालाई कलाकारले खोजी गरेर कर्णप्रिय बनाएका छन्,’ उनले भने, ‘लोकगीतलाई बचाउन, लोकदोहोरीलाई नेपालीपन बनाइराख्न हामी सबै यसको सदस्य बनेर संरक्षण र सम्वर्द्धनमा अघि बढ्न आवश्यक छ ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीका अनुसार स्थापना दिवसको अवसरमा बिहीबार मानव सेवा आश्रममा १० हजार रुपैयाँबराबरको खाद्यसामग्री प्रदान गरी वृक्षरोपणसमेत गरिएको छ ।

प्रकाशित : चैत्र १, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×