जिल्ला प्रशासन कार्यालय मनाङले शुक्रबारदेखि लागू हुने गरी बेंसीसहर–चामे सडकमार्गमा रातको समयमा सवारी सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको हो।
लमजुङ — लगातारको वर्षा र थप भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि बेंसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मनाङले शुक्रबारदेखि लागू हुने गरी बेंसीसहर–चामे सडकमार्गमा रातको समयमा सवारी सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको हो।
केही दिनका लागि अब यो सडकमार्गमा रातभर अत्यावश्यकबाहेकका कुनैपनि सवारी साधन सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले यात्रुको सुरक्षा सुनिश्चित गर्न रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको बताए।
मनाङबाट तल्लो क्षेत्र लमजुङ सदरमुकाम बेंसीसहरसम्मको लागि मनाङ सिमानाबाट बेलुकी साढे ६ बजेसम्म र लमजुङबाट मनाङतर्फ बेलुकी ७ बजेसम्म सवारी छुटिसक्नुपर्ने गरी जिल्ला सुरक्षा समितिले निर्णय गरेको बताए । प्रशासनका अनुसार माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिका–४, हुम्डेबाट सदरमुकाम चामेसम्मका लागि बेलुकी साढे ६ बजेसम्म अन्तिम सवारी छुट्नेछन् ।
चामे गाउँपालिका–३, कोतोबाट बेंसीसहरतर्फ अपरान्ह साढे ४ बजेसम्म सवारी साधन छुटिसक्नुपर्नेछ । तल्लो मनाङको नासों गाउँपालिका–१, तालडाँडा चौकीबाट बेंसीसहरतर्फ अन्तिम सवारी साँझ साढे ६ बजेसम्म छुट्ने तालिका बनाएको छ । लमजुङबाट मनाङतर्फ मर्स्याङ्दी गाउँपालिका–४, जगत हुँदै तालडाँडा प्रवेश गर्ने अन्तिम समय साँझ ७ बजेसम्म तोकिएको छ ।
