लमजुङको २ वटा क्याम्पसमा मतदान सकियो, मंगलामा नेविसंघ सर्वसम्मत

चैत्र ५, २०८१

आश गुरुङ

Voting is over in 2 campuses of Lamjung, the union is unanimous in Mangala

लमजुङ — लमजुङका २ वटा क्याम्पसमा मतदान सकिएको छ। अहिले २ वटा क्याम्पसमा मतगणना जारी छ। सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र वडा नम्बर ७, सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएको हो।

बिहान ७ बजेदेखि मतदान सुरु भएको दुवै क्याम्पसमा ११ बजेसम्मको लागि मतदान समय तोकिएको थियो। भक्ति आदर्श क्याम्पसमा ९५ मतदाता रहेका थिए । जसमा ८१ मत खसेको छ। मातृभूमि क्याम्पसमा ८३ मतदाता रहेका थिए । जसमा ७५ मत खसेको छ । मतदान सम्पन्न भएको यी २ क्याम्पसमा अब मतगणनाको तयारी भइरहेको छ।

सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पस र सुदरबजारस्थित लमजुङ क्याम्पसमा मतदान भइरहेको छ।

मध्यनेपाल नगरपालिका–३ मा रहेको मंगला क्याम्पसमा नेविसंघको प्यानल सर्वसम्मत भएको छ। वडा नम्बर ४, दुईपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पस र वडा नम्बर ६, भोर्लेटारस्थित ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया अघि बढेको छैन। ती क्याम्पसमा सर्वसम्मतको पहल भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी बुद्वबहादुर गुरुङले लमजुङमा स्ववियु निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिए। उनका अनुसार मतदान सम्पन्न भएका क्याम्पसहरूमा अब मतगणनाको तयारी भइरहेको छ। मंगला क्याम्पसमा सर्वसम्मत भएको र पुष्पलता जनएकता तथा ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया अघि नबढेको उनले बताए।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully