सुस्ता पनि डुबानमा
नवलपरासी — कावासोती नगरपालिकाको अमलटारी र बाघखोर क्षेत्र डुबानमा परेको छ । कावासोती नगरपालिकाका पूर्व उपमेयर तथा स्थानीय बासिन्दा प्रेमशंकर मर्दनियाका अनुसार कावासोती वडा नम्बर १५ को बाघखोर र १७ नम्बर वडाको अमलटारी शनिबार बिहानबाट डुबानमा परेको हो ।
त्यहाँका करिब २ सय घर डुबानमा परेका छन । अमलटारी होमस्टे गाउँँले परिचित छ । गत ३ दिन यताको लगातारको झरीले घरहरु डुबानमा परेको हो ।
सुस्ता पनि डुबानमा
नारायणी नदीमा आएको भेल गाउँँमा पस्दा सुस्ता गाउँ डुबानमा परेको छ । स्थानीय मुन्सीकुमारका अनुसार शनिबार बिहान १० बजे नदीको बाढी पसेको थारुटोलाका घर, गोठ डुबानमा परेका हुन् ।
गत ३ दिनदेखि भइरहेको वर्षादका कारण नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ । नदीदेखि पूर्वमा रहेको थारु टोलमा नदीको पानी पसेको हो । शनिबार बिहान १० बजेसम्म त्यहाँका करिब १ सय १५ घर,गोठ डुबानमा परेको मुन्सीले जानकारी दिए । 'नदीमा पानीको सतह बढदो क्रममा छ,' उनले भने, 'सहमति संस्थाले बनाएको आपतकालीन उद्धार घरमा स्थानीयलाई सार्न प्रहरी खटिएको छ ।'
