मतदानस्थल व्यवस्थापनमा चुनौती

भौगोलिक विकटताका कारण निर्वाचनमा सुरक्षा र जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएको जिल्ला सुरक्षा समितिको ठहर

कार्तिक १६, २०७९

प्रकाश बराल

बागलुङ — जिल्ला सुरक्षा समितिले आसन्न निर्वाचनमा मतदान केन्द्र र स्थल व्यवस्थापनलाई प्रमुख चुनौती ठहर गरेको छ । सबै मतदान केन्द्र र स्थलको अनुगमन सकेर फर्केको सुरक्षा समितिको टोलीले जनशक्ति व्यवस्थापन र केन्द्रमा ४ प्रकारका मतपेटिकाको सुरक्षालाई प्रमुख चुनौती ठहर गरेको समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।

संवेदनशीलताको हिसाबले भने सबै मतदान केन्द्र र स्थललाई समान रूपमा लिएको उनको भनाइ छ । बागलुङमा १ सय ६ वटा मतदान स्थल छन् । जसमध्ये आधाभन्दा बढी स्थल भौगोलिक रूपमा विकट छन् । सदरमुकाममै पनि सुरक्षा संवेदनशीलता हुन सक्ने भएकोले संवेदनशील क्षेत्रको सूची सार्वजनिक नगरिएको उनले बताए । ‘सुरक्षा संवेदनशीलताका क्षेत्र घटबढ भइरहने भएकोले यो क्षेत्र सुरक्षित, यो असुरक्षित छ भन्न मिल्दैन,’ उनले भने, ‘भौगोलिक जटिलताका कारण पनि निर्वाचन सामग्री र मतपेटिका ढुवानीमा बढी चुनौती देखिएको छ ।’

गत स्थानीय निर्वाचनमा १ मात्र मतपेटिका रहेकोमा यो पटक ४ वटा पेटिका रहन्छन् । त्यसकारण पनि जनशक्ति व्यवस्थापनमा सकस थपिएको उनको भनाइ छ । गत निर्वाचनमा भएका घटनाको प्रकृतिको आधारमा पनि मतदानस्थल र केन्द्रलाई सुरक्षित र असुरक्षित मानिएको सुरक्षा समितिका एक सदस्यले बताए । ‘कुनै स्थानमा हुन सक्ने राजनीतिक गतिविधिले सुरक्षा चाहिन्छ भने कतिपय स्थानमा निर्वाचन बहिष्कार गर्ने समूहले पार्ने असर प्रधान हुन्छ,’ ति सदस्यले भने, ‘निर्वाचनमा भाग लिनेभन्दा बहिष्कार गर्ने शक्तीप्रति सुरक्षा बल बढी केन्द्रीत हुन्छ ।’

केही मतदानस्थल साँघुरो भएकोले मतदाता व्यवस्थापनका लागि नजिकको खेतबारीसमेत प्रयोग गर्ने गरी स्थानीयसँग छलफल र सहमति जुटाउने काम गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । ती स्थानको समस्याबारे जानकारी गराएपछि केही आसपासको जग्गा उपयोग गर्ने सर्वदलीय सहमति भएको उनले जनाए । यो पटक क्षेत्र–१ र २ को छुट्टाछुट्टै स्थानमा निर्वाचन अधिकृतको कार्यार्लय रहेकोले अलग–अलग मतदान गर्ने गरी व्यवस्थापन मिलाइएको छ । 

राजनीतिक दल, जनप्रतिनिधिलगायतले आचारसंहिता पालना गरे–नगरेको पनि अनुगमन भइरहेको सुरक्षा समितिका ति सदस्यले जानकारी दिए । कतिपयलाई आचारसंहिता पालनामा सम्झाइबुझाइ गरिएको ती सदस्यले सुनाए । ‘आचारसंहिताविपरीत हुने सामान्य गतिविधि गरेको हकमा मौखिक रूपमा सचेत गराइएको छ,’ उनले भने, ‘कारबाही नै गर्नुपर्ने गरी अहिलेसम्म कतै पनि उल्लंघन भएको छैन ।’ सार्वजनिक आमसभालगायत कार्यक्रम नभएकोले छिटफुट रूपमा ठूलो समूहमा घरदैलोमा हिँडेको विषय मात्रै जानकारीमा आएको उनले बताए । 

‘दल र उम्मेदवारको खर्च घट्यो’

अघिल्ला निर्वाचनहरूको तुलनामा राजनीतिक दल र तिनका उम्मेदवारहरूले चुनावी खर्च कम गरेको पाइएको प्रजिअ ढकालले दाबी गरे । निर्वाचन घोषणा भएदेखि नै धेरै कार्यकर्ताको जमघट गराउने, सवारीसाधनको अधिक प्रयोग गर्ने लगायत गतिविधि यसपल्ट कम देखिएको उनको भनाइ छ ।

‘निर्वाचन आचारसंहिताको हिसाबले यसअघि धेरै सवारी गुडाएको, २५ जनाभन्दा धेरै मानिस जम्मा गरेको गुनासो धेरै आउने गर्थे, अहिले त्यस्तो छैन,’ ढकालले भने, ‘यो पटक दलहरूले सानो समूहमा कार्यक्रम गरेको पाइयो ।’ सानो समूहमा कार्यक्रम गर्दा आर्थिक रूपमा पनि कम खर्चिलो भएको उम्मेदवारहरूले समेत अनुभव सुनाए । ‘घरदैलो गर्ने, मत माग्ने काम भइरहेको छ,’ प्रतिनिधिसभातर्फका एक उम्मेदवारले भने, ‘बरु घरको परिवार भेट नभएमा फोन गर्ने, चिठी लेखेर ढोकामा राखिदिने काम गरेका छौं ।’ 

आमनिर्वाचन २०७९

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully