युवा गाउँमै रोक्नेलाई भोट

वैशाख २८, २०७९

दीपक परियार

स्याङ्जा — भूतपूर्व भारतीय सैनिक पुतलीबजार नगरपालिका–९ पोखरीछापका ८० वर्षीय डम्मरबहादुर गुरुङ बाख्रा चराउँदै मनमनै गम्छन्, ‘गाउँमा बाटो आयो, बिजुली आयो, खानेपानी आयो । सहर पसेका छोराछोरी किन आएनन् ?’

जनप्रतिनिधि आएपछि गाउँमा सुविधा पुग्यो तर सुविधाभोग गर्ने युवा भएनन् । झण्डै ७० घरधुरी भएको कोल्मा पोखरीछाप सेरोफेरामा युवा भेटिँदैनन् । अधिकांश ६० वर्षमाथिका छन् । रोजगारीको खोजीमा विदेश गएका युवा सहर झरेका छन् । बेलायत र भारतीय सैनिकमा भर्ति भएकाले सहरमा बसाइँ सारेका छन् । कोही सहरमा पढ्न बसेर उतै जागीर गर्छन् । कहिलेकसो चाडपर्वमा गाउँ फर्किन्छन् । डम्मरबहादुरको परिवारमा पनि उनी र ७८ वर्षीया श्रीमती मात्रै गाउँमा छन् । जेठो छोरा श्रीमती छोराछोरीसहित बर्दिया झरेका छन् । भारतीय सैनिकमा रहेका माइला छोराले पोखरामा घर बनाएर परिवार उतै लगेका छन् । विदेशमा रहेका कान्छा छोराको परिवार पनि पोखरामै छ । ३ छोरी बिहेपछि आआफ्नो घरमा छन् । 

उनका अनुसार गाउँका धेरै युवा विदेश छन् । पुरुष विदेश जाने र जहान केटाकेटी बजार झार्ने चलन रोकिएको छैन । जनप्रतिनिधि आएको ५ वर्षमा पनि युवालाई गाउँमै रोक्ने उपायको खोजी भएको छैन । ‘गाउँमा युवा छैनन्, एक/दुईजना बीउजस्तै छन्,’ उनी भन्छन्, ‘सरकारले नोकरी दिन सकेन । छेक्न सकेन युवालाई । जिउनको लागि, परिवार धान्न जानैपर्‍यो । विदेश नच्यापी उपाय नै चलेन ।’ आफ्नै सन्तानलाई समेत उनले बजार नझर भन्न सकेनन् । 

उनको विचारमा युवालाई गाउँमै रोक्ने उपाय भनेको कृषि हो । पोखरीछापमा सबैको प्रशस्त उब्जाउ जमिन छ । उनी आफैंले खेतीपाती गर्छन् । भैंसी, बाख्रा पालेका छन् । ‘युवालाई कृषि फार्म खोल्दिए हुन्थ्यो, त्यतातिर जनप्रतिनिधिले ध्यान दिएनन्,’ उनी भन्छन्, ‘यहीं आफ्नो पाखुरा बजारेर खान पुग्ने वातावरण बनाइदिए हुन्थ्यो । एक पेट खाने त हो, सम्पत्ति कसले लिएर जान्छ र !’

उनलाई लाग्छ, व्यावसायिक कृषिमा स्थानीय तहले सहयोग गरे आफूलाई चाहिने जति गाउँमै कमाउन सकिन्छ । भन्छन्, ‘यही बाख्रा पालेर पनि कमाइ हुन्छ ।’ यसपल्टको चुनावमा कृषिमा लगानी गरेर गाउँमै रोजगारी सिर्जना गर्ने योजना ल्याउने जनप्रतिनिधिलाई भोट हाल्ने उनले बताए । भने, ‘अब आउने जनप्रतिनिधिले दुःख चिनेर विदेश जानबाट रोक्दिए हुन्थ्यो । देशमै प्रगति भए बाकसमा आउनुपर्दैनथ्यो होला ।’

पुतलीबजारबाट झण्डै १२ किलोमिटर पूर्वतर्फ उक्लिएपछि ऐतिहासिक कोल्माकोट पुगिन्छ । कोल्माकोटकै काखमा छ, पोखरीछाप गाउँ । पोखरीछापका ६० वर्षीय किसान गुरुङ एक्लै घर कुरेर बसेका छन् । उनले आमा र श्रीमती गुमाइसके । बुबा पोखरामा छोरीको घरमा बस्छन् । दुई छोरीको बिहे भयो । २ छोराछोरी पोखरामा पढ्छन् । ५ वर्षमा गाउँमा पानी, बत्ती, बाटोको सुविस्ता भयो तर बाध्यताले छोराछोरीलाई सहर पठाउनुपर्‍यो । ‘गाउँ विकसित हुँदै छ, गाउँमै बस्ने वातावरण जनप्रतिनिधिले बनाइदिनुपर्‍यो,’ उनले भने ।

तनहुँको दुलेगौंडाबाट पोखरीछाप कोल्मा हुँदै वालिङ निस्कने मिलिनियम ट्रेक ०५४/४४ सालमा खुल्यो । मध्यपहाडको ५ दिनको यो पदयात्रा मार्गका गाउँमा होमस्टे खुले । पोखरीछापका स्थानीयले होमस्टे चलाए । गाउँमा युवा नभएकोले होमस्टेमा पाहुना धेरै आउँदा व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । मिलिनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ स्वयंका छोराछोरी कोही विदेश र कोही पोखरा छन् । ‘केही मात्रामा युवा नभएका होइनन् तर त्यतिले अपुग भयो,’ उनले भने, ‘कृषिलाई नै जोड दिएर स्वरोजगार बनाउन सके युवा गाउँ फर्किन्थे कि !’ उनका अनुसार हाल उब्जनी भए पनि बजारीकरणको समस्या छ ।

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully